राष्ट्रपति भण्डारी स्वदेश फिर्ता

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी कतारको चार दिने औपचारिक भ्रमण पूरा गरी स्वदेश फर्केकी छन् । उनी बिहीबार राति स्वदेश फर्किएकी हुन् ।  कतारका राष्ट्रपति अमिर शेख हमाद बिन खालिदा अल थानीको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति भण्डारी सोमबार त्यसतर्फ गएकी थिइन् ।

कतारमा रहँदा राष्ट्रपति भण्डारीले कतारका अमिर पत्नीलगायत कतारका उच्च सरकारी अधिकारीसँग आपसीहितका विषयमा छलफल गरेकी थिइन् । परराष्ट्र मन्त्रालयले राष्ट्रपतिको कतार भ्रमणले सम्बन्ध थप उचाइमा पुगेको दाबी गरेको छ ।

राष्ट्रपति फर्केलगत्तै उनीसँगै भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसमक्ष भ्रमण सफल भएको बताए । राष्ट्रपतिले औपचारिक भेटघाटका साथै कतारमा रहेका नेपाली समुदायलाई सम्बोधन गरेकी थिइन् । भ्रमणका क्रममा उनले त्यहाँ रहेका नेपालीका समस्यासमेत सुनेकी थिइन् । उनले कतारमा सिकेको सीप र लगानी लगेर नेपाल बनाउने कार्यमा इँटा थप्नुपर्ने बताइन् ।

‘विकास र समृद्धि’को यात्रामा हातेमालो गर्न उनले आग्रह गरिन् । कतारका अमिरसँगको वार्तामा द्विपक्षीय हित र आपसी सहकार्यका क्षेत्रमा लामो छलफल भएको जानकारी दिँदै राष्ट्रपति भण्डारीले नेपाली श्रमिकको समस्या समाधान हुने विश्वास व्यक्त गरेकी छन् ।

प्रतिक्रिया