डा.श्रेष्ठ भ्रष्टाचारी ठहर, एक वर्ष कैद

काठमाडौं । भरतपुरस्थित बिपी कोइराला क्यान्सर अस्पतालका तत्कालीन अध्यक्ष डा. भक्तमान श्रेष्ठलाई भ्रष्टचारी ठहर गर्दै विशेष अदालतले एक वर्ष कैदको सजाय सुनाएको छ ।

विशेषका अध्यक्ष बाबुराम रेग्मी, न्यायाधीशद्वय रत्नबहादुर बागचन्द, प्रमोदकुमार श्रेष्ठ वैद्यको इजलासले श्रेष्ठलाई १ वर्ष कैद र १ करोड १८ लाख ६६ हजार ७ सय ७६ रुपैयाँ जरिवाना गर्ने फैसला सुनाएको हो ।

श्रेष्ठले पदमा रहँदा १ करोड ६७ लाख ५७ हजार १ सय १३ रुपैयाँ अवैध रूपमा आर्जन गरेको अभियोग लगाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २ फागुन ०७२ मा विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

सोही मुद्दामा मंगलबार फैसला गर्दै विशेष अदालतले सो बराबर श्रेष्ठको सम्पत्ति जफत हुने पनि सुनाएको छ । ०५४ सालमा विशेषज्ञ चिकित्सकको रूपमा श्रेष्ठ क्यान्सर अस्पताल प्रवेश गरेका थिए । क्यान्सर रोगका राम्रा विशेषज्ञ मानिने श्रेष्ठ ०६४ देखि ०६७ सम्म क्यान्सर अस्पतालको कार्यकारी निर्देशक भएका थिए ।

क्यान्सर अस्पतालको अध्यक्ष रहँदा श्रेष्ठले पदको दुरुपयोग गर्दै अकुत सम्पत्ति आर्जन गरेको अख्तियारको आरोपपत्रमा दाबी गरिएको थियो । डा. श्रेष्ठले अस्पतालको सेवा प्रवेश गरेदेखि नै सार्वजनिक पदमा बहाल रहँदा आफ्नो पदीय जिम्मेवारी दुरुपयोग गरी गैरकानुनी रूपमा धन आर्जन गरेको अख्तियारको आरोपपत्रमा उल्लेख छ ।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ तथा आयोगको ऐन, २०४८ को दफा २९ बमोजिम जफत गरी राज्यकोषमा दाखिला गर्न आरोपपत्रमा माग गरिएको थियो । अख्तियारले गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति श्रीमती शिलु श्रेष्ठको नाममा समेत राखेको भन्दै उनलाई पनि अख्तियारले प्रतिवादी बनाएको थियो । तर, विशेष अदालतले श्रीमतीलाई भने सफाइ दिएको छ ।

०६३ देखि ०६५ सालसम्म उनले १५ लाख २७ हजार रुपैयाँ आर्जन गरेकोमा कार्यकारी निर्देशक हुँदा ३ वर्षको अवधिमै ५० लाख अवैध ढंगले कमाएको अख्तियारको आरोपपत्रमा उल्लेख थियो । श्रेष्ठको नाममा विभिन्न बैंकमा १३ वटा खाता रहेको अख्तियारको आरोपपत्रमा उल्लेख थियो ।

उनले घर निर्माणमा कुल ४४ लाख ५४ हजार र जग्गामा ६५ लाख ८५ हजार खर्चेको भेटिएको अख्तियारको अख्तियारको आरोप पत्रमा दाबी थियो । ०६९ भदौमा अस्पताल व्यवस्थापन समितिको अध्यक्ष बनेपछि श्रेष्ठले ९४ लाख ३१ हजार गैरकानुनी आर्जन गरेको अख्तियारले जनाएका छ ।

क्यान्सर अस्पतालमै फुड एन्ड न्युट्रिसन अफिसरका रूपमा श्रेष्ठकी पत्नी शिलु कार्यरत रहेकी थिइन् । श्रेष्ठको चितवनकै अन्य निजी स्वास्थ्य संस्थाहरू एनपिआई सामुदायिक अस्पताल, चितवन अस्पताल प्रालि र नेपाल पोलिटेक्निकल इस्टिच्युटमा सेयर रहेको अख्तियारको आरोपपत्रमा उल्लेख थियो ।

प्रतिक्रिया