विपदका उपकरण खरिद गर्न चीनले साढे दुई अर्ब दिने

काठमाडौं । चीनले नेपाललाई पाचवर्षमा मानवीय तथा विपद व्यवस्थापन उपकरण खरिदका लागि १५० मिलियन चिनियाँ युआन (करिब दुई अर्ब ५३ करोड रूपैयाँ) सहायता उपलब्ध गराउने भएको छ ।

चीनको भ्रमणमा रहेका उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले सो सम्बन्धी सम्झौतामा शनिबार बेइजिङमा हस्ताक्षर गरेका छन् । उपप्रधान पोखरेल र चिनियाँ राज्यपरिषद सदस्य एवं रक्षामन्त्री वै फङहबीच शनिबार भएको भेटवार्तापश्चात विपद् व्यवस्थापन परिचालनका लागि यो सहयोग सम्झौतामा हस्ताक्षर भएको हो ।

नेपालका तर्फबाट पोखरेल र चिनका तर्फबाट फङहले हस्ताक्षर गरेका छन् । नेपालमा आईपर्ने प्राकृतिक तथा मानविय विपद् न्युनिकरण गर्ने सामाग्री खरिद गर्न सो रकम प्रयोग हुने चिनस्थित नेपाली दूतवासले जानकारी गराएको छ ।

नेपालमा सैन्य विश्वविद्यालय खोल्न चीनले सहयोग गर्ने, आपसी परामर्शमा सहयोगको विस्तृत विवरणलाई अन्तिम रूप दिइने सहमति

भेटवार्ताका क्रममा रक्षामन्त्री पोखरेलले नेपालमा सैन्य विश्वविद्यालय स्थापनामा सहयोग गर्न चिनसग आग्रह गरेका छन् । पोखरेलको उक्त अनुरोधमा चिनले सहमति जनाउदै आपसी परामर्शमा सहयोगको विस्तृत विवरणलाई अन्तिम रूप दिइने सहमति भएको दूतावासद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।

भेटवार्तामा सैन्य प्रशिक्षण, मानवीय सहायता, विपद् व्यवस्थापन, चिकित्सा उपकरण, शान्ति सैन्य सञ्चालनलगायत पारस्परिक चासोका विषयमा छलफल भएको थियो । एक चीन नीति तथा तिब्बत मामिलामा नेपालबाट निरन्तर सहयोग प्राप्त भएकामा चिनियाँ रक्षामन्त्रीले नेपालको सराहना समेत गरेका थिए ।

भेटवार्तामा दुवै देशका रक्षामन्त्रीले आपसी भ्रमण आदानप्रदानबाट नेपाल र चीनबीच उच्च राजनीतिक तहमा आशा, विश्वास र भरोसा अभिवृद्धि हुने बताएका थिए । नेपाल–चीन सम्बन्धबारे चर्चा गर्दै नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणबाट दुई देशबीचको सम्बन्ध अझै उचाइमा पुगेको र राजनीतिक विश्वास बढाएको उपप्रधानमन्त्री पोखरेलले बताए ।

उनले भने, ‘सहयोग सम्झौतामा हस्ताक्षर चीनले गर्दै आएको सहयोगको निरन्तरता नै हो । नेपाली सेनाको क्षमता वृद्धि र आत्मनिर्भरताका क्षेत्रमा सहयोग केन्द्रित हुनेछ ।’

प्रत्युत्तरमा चीनका रक्षामन्त्री फङहले एक चीन नीतिमा समर्थन तथा तिब्बत मामिलामा नेपालले अंगीकार गरेको नीतिको प्रशंसा गरे । उनले दुवै देशबीच सैन्य सहकार्य सबल पार्ने तथा नेपाललाई आवश्यक पर्ने सहयोगका लागि चीन तत्पर रहेको बताए । सहकार्य सम्बन्धी विस्तृत धारणा भविष्यमा आपसी समझदारीबाट तय गरिने पनि उनले भेटवार्तामा बताएका थिए ।

मन्त्री पोखरेल बेइजिङमा भएको आठौं स्याङशान मञ्चमा सहभागी हुन चीन पुगेका छन् । मञ्च २६ अक्टोबरमा सम्पन्न भएको छ । मञ्चमा सहभागी विभिन्न मुलुकका प्रतिनिधिहरूले विश्व सुरक्षा प्रशासनको नयाँ विचार र नयाँ उपाय, आतंकवादको सामना, समुद्री सुरक्षाको सहयोग र इच्छा, संयुक्त राष्ट्र संघको शान्ति सुरक्षाका चुनौती र सहयोग लगायतका विषयमा विचारविमर्श गरेका छन ।

प्रतिक्रिया