आफ्नाहरूको ‘झझल्को’

धेरै मान्छेले आफ्नो जीवनकालमा अनेकन यात्रा गर्ने अवसर पाउँछन् । यात्रा गर्ने भन्नासाथ सबैलाई नै रमाइलो लाग्छ, सायद । मानिसहरू जीवनका अनेक यात्राहरू तय गर्छन् र यात्रामा रमाउँछन् पनि । जीवनमा असीम आनन्द र मनोरञ्जन यात्राबाटै लिन सकिन्छ ।

यस्ता यात्राहरूमा बटुलेका तीता÷मीठा अनुभूतिहरू आफूमा मात्रै सीमित नराखी अरूलाई पनि बाँड्न सके मात्रै यात्रा सार्थक बन्न सक्छ । त्यस्तै, सार्थक यात्रा गर्नेहरूकै पंक्तिमा पर्छन् कवि कथाकार तथा नियात्राकार रामविनय ।

लामो समय कविता लेखनमा सक्रिय रामविनयले कथा संग्रह पनि प्रकाशित गरिसकेका छन् । त्यसो त उनले यस अगावै पनि टापुमा तैरँदा यात्रा स्मरण संग्रह प्रकाशित गरिसकेका छन् । नियात्राकार रामविनयले पछिल्लो समय अमेरिका र बेलायत पुगेर बिताएका पलहरूलाई यात्रानुभूतिका रूपमा प्रकाशित गरेका हुन् ।

मञ्जरी प्रकाशनले प्रकाशित गरेको झझल्को नाम दिइएको यात्रा संस्मरणमा १ सय १९ शीर्षकमा रामविनयले दुई देशमा घुम्दाका अनुभूतिका छालहरू पोखेका छन् । पारिवारिक भ्रमणमा बेलायत र अमेरिकामा बिताएका ६ महिनाको अवधिलाई उनले शब्दमा कैद मात्रै गरेनन् त्यहाँ नपुग्ने नेपाली पाठकका लागिसमेत शब्दमै अमेरिका र बेलायत घुमाउने कोसिस गरेका छन् ।

झझल्को यात्रा संस्मरण पढेपछि अमेरिका र बेलायतको इतिहास, त्यहाँको अत्याधुनिक समाज, विकासलगायत अनेकन ज्ञान पाउन सकिन्छ । राजनीतिक, साहित्यिक सांस्कृति पक्षबाट अनुभूतिहरूलाई व्यक्त गरिएकै कारण पाठकले यात्रासँगै झ–झल्को पढेपछि ज्ञानसमेत पाउन सक्छन् ।

नेपालको अन्तर्राष्ट्रिय विमानस्थलबाट यात्रा आरम्भ हुँदादेखिका अनुभूति नियात्राकार रामविनयले नेपाल फर्कंदासम्मका समयलाई शब्दमा पोखेका छन् । हरेक शीर्षकले केही न केही सन्देश र विचार व्यक्त गरेका छन् । नियात्राकार रामविनयलाई मुलुक छोड्दै गर्दा युवा पलायनको अवस्थाले चिन्तित तुल्याएको छ ।

आकाशमा उडिरहँदा पनि नेपाली कल्पनामा डुबेका रामविनय बेलायत पुगेर पनि नेपाल छाम्छन् । संग्रहमा लन्डनमा पुगेर देखेको प्रवासी नेपाली जीवनलाई नियात्राकारले सफल रूपमा व्यक्त गरेका छन् । महाकवि लक्ष्मीप्रसाद देवकोटाले भनेजस्तै सुन्दर शान्त विशाल मुलुकको एक सचेत नागरिकलाई लन्डनको कृत्रिम सुन्दरताले कत्ति पनि तान्न सकेको छैन ।

तर, जहाँ नेपाली त्यहाँ हाम्रो कला संस्कृति पुगेको देख्दा लेखकलाई खुसी भने अवश्य लागेको छ । इतिहासमा विश्व बदल्ने महान विचारक कार्ल माक्र्स समाधिस्थलमा पुगेपछि नियात्राकारले विश्वका कम्युनिस्टहरूको संसारको ठूलो तीर्थस्थल पुगेको अनुभूति गरेका छन् । वैचारिक ढंगबाट सरल रूपमा प्रस्तुत गरिएको नियात्रा इतिहास र विचारका दृष्टिले निकै उत्कृष्ट रूपमा आएको छ ।

यात्रा गर्नेहरूले सतही यात्रालाई रोमान्चक रूपमा प्रस्तुत गरेर नियात्रा प्रकाशन गर्ने परम्परालाई रामविनयले एक प्रकारले तोडेका छन् भन्दा पनि फरक पर्दैन । उनले बेलायत बसाइँको तीन महिनाको अवधिलाई पूरै ब्रिटिस इतिहाससमेत खोतलेर प्रस्तुत गरेबाटै प्रष्ट हुन्छ कि नियात्रा कृति झ–झल्को एउटा महत्वपूर्ण कृति हो ।

बेलायतको इतिहास मात्रै होइन, त्यहाँको आर्थिक विकास, वैज्ञानिक समाज, त्यहाँको जनजीवन र नेपालीहरूको अवस्थालाई समेत यात्राले सरसर्ती केलाउने कोसिस गरेको छ । यात्रामा रामविनयले कतै बेलायतमा पनि नेवारी नेपाली कला संस्कृति र पहिचान पाएका छन् भने कतै बेलायतको दरबारमा घुमेर सदृश्य उनले बकिंघम प्यालेसको शब्द चित्रमा उतारेका छन् ।

बेलायतमा रहेका नेपालीले मदन भण्डारीलाई सम्झेकामा उनको यात्रा अझ फलदायी बनेको र अपनत्व अनुभूति भएको छ । वामपन्थी विचारलाई जीवनभर अपनाएका उनलाई बेलायतजस्तो साम्राज्यवादी मुलुकमा पुगेपछि पनि बेलायती कम्युनिस्ट पार्टीको इतिहास खोज्ने र अध्ययन गर्ने चाह जागेको छ । नियात्राकारले अध्ययन गर्दा थाहा पाएका ऐतिहासिक कुरालाई जीवनको यात्रासँग जोडेर पाठकसम्म पुर्याउने जमर्को पनि गरेका छन् ।

बेलायतपछि रामविनयले अमेरिकातिरको यात्रा तय गरे । अमेरिकमा पुगेर पनि उनले नेपाली संस्कृति देखे । नेपाली जनजीवन देखे । आप्रवासीहरूको मुलुक अमेरिकी विकास रहनसहन त्यहाँको वास्तविकतालाई नियात्राकार रामविनयले शब्दमा टपक्क टिपेर उन्ने राम्रो प्रयास गरेका छन् । अमरिकामा दसैँ तिहार जन्मोत्सवजस्ता पर्व र उत्सवहरूमा सहभागी हुँदाका पलहरू कैद छन् यात्रानुभूतिमा । बेलायत छँदा होस् वा अमेरिका नियात्राकार नेपालबारे ताजा अपडेट लिन आतुर रहेका प्रसंग सामान्य लागे पनि यो नियात्राकारको देश र समाजप्रतिको चासो हो ।

नियात्राकार रामविनय बेलायत घुमे । अमरिका घुमे र शब्दमार्फत नेपाल फर्केपछि पाठकलाई पनि बेलायत र अमेरिका घुमाए झ–झल्को कृतिमार्फत । ६ महिनामा दुई देश घुमेर जब जहाज नेपाली आकाशमा आइपुग्यो, तब नियात्राकारले नेपाललाई झण्डै ६ महिनापछि स्पर्श गर्न पाए । आफ्ना छोराछोरी र नातिनातिनासँग घुमेर घुलमिल भइसकेपछि नेपाल फर्कंदा लेखकलाई घरिघरि उतैको झझल्को आइरहेको छ । त्यसैले, लेखक रामविनयले कलम चलाए र आफ्नाहरूको झ–झल्कोलाई स्मरणीय बनाए । तिनै झ–झल्को नेपाली साहित्यको नियात्रा विधामा पनि एउटा मामुली झ–झल्को बन्न सफल भएको छ ।
कृतिः  झझल्को
लेखकः रामविनय
विधाः नियात्रा
प्रकाशः मञ्जरी प्रकाशन
पृष्ठः ३१६
मूल्यः रू ४००

प्रतिक्रिया