सडकमै पठनपाठन

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाले सडक विस्तारको क्रममा वडा–२१ कुर्थामा रहेको राजर्षि माध्यमिक विद्यालयको ६ वटा कक्षाकोठा तथा पर्खाल भत्काएपछि सोको विरोधमा विद्यार्थीले सकडमै डेस्कबेन्च राखेर पठनपाठन थालेका छन् ।

वैशाखको पहिलो साता मध्यरातमा उपमहानगरपालिकाले सडक विस्तारका नाममा डोजर लगाई विद्यालयको पर्खालसहित ६ वटा कक्षाकोठा भत्काएपछि करिब ६ सय विद्यार्थीको पठनपाठन प्रभावित भएको प्रधानाध्यापक वीरेन्द्रप्रसाद यादवले जानकारी दिए । दसैँ बिदापछि पहिलोपटक बिहीबार विद्यालय खोल्नासाथ विद्यालयअगाडि सडकमै डेस्कबेन्च राखेर पठनपाठन गरी विद्यार्थीले उपमहानगरपालिकाको कार्यप्रति विरोध जनाए ।

विद्यार्थी सडकमा उत्रेपछि शिक्षकले समेत सडकमै दुई घण्टी कक्षा लिएका थिए ।
सडककै छेउमा रहेको विद्यालयका विद्यार्थी सवारी साधनका ध्वनि र धुलोबाट प्रभावित भई विभिन्न रोगको सिकार हुन थालेकाले विरोधमा उत्रेको विद्यालय सुधार समितिका अध्यक्ष भोगेन्द्र रायले बताए । उपमहानगरपालिकाले यथाशीघ्र भत्काएको संरचना तयार नगरे आफूहरू सशक्त आन्दोलनमा उत्रन बाध्य हुने उनको चेतावनी थियो ।

वडाध्यक्ष रामेश्वर महासेठले आफ्नो नातामा पर्ने भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठ र उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहको बलमा विद्यालय भवन भत्काउन लगाएको प्रधानाध्यापक यादवको आरोप छ । वडाध्यक्ष महासेठले आफ्ना नातागोताका व्यक्तिको जग्गा जोगाउन जबर्जस्ती विद्यालयको संंरचना भत्काएको यादवले बताए । यता, कुर्थाका स्थानीयले जनप्रतिनिधि भएर विद्यार्थीको भविष्यसँग खेलबाड गर्दैै सार्वजनिक सम्पत्ति मासेको आरोप लगाएका छन् ।

स्थानीय चेतनारायण साहले सडकमै रहेको वडा कार्यालय जोगाउन वडाध्यक्ष महासेठले विद्यालय भवन भत्काएर विद्यार्थीको भविष्यसँग खेलबाड गरेको बताए । वडाध्यक्ष महासेठले आफूले विद्यालय भवन भत्काउन नलगाएको दाबी गरेका छन् । विद्यालयका प्रअ आफैँले डोजर लगाई विद्यालय भवन भत्काएको उनको आरोप छ । तर, वडाध्यक्ष महासेठ आफैँ उभिएर विद्यालय भवन भत्काउन लगाएको तस्बिर आफूहरूसँग रहेको स्थानीयले बताएका छन् ।

प्रतिक्रिया