तिम्रो दसैँ तिमी नै मनाऊ

तिम्रो दसैँलाई सलाम छ साहूबा, भो ऋण काढ्न आउँदिन ।
बाजेको पालामा झैँ तमसुक लेखी, भो खेत बेच्न आउँदिन ।
आँगनमा मकैको बिस्कुन छ, ढिँडो, पिठो, पानीमै रमाउँला
घरघडेरी बन्धक राखी, भो चामलबोरा बोक्न आउँदिन ।
गोठमा दुहुनो गाई नि छ, खसी बोकाले गोठ भरिएको छ
परिश्रमको पसिना पिएको छु, भो मदिरा पिउन आउँदिन ।
मनोरञ्जनको नाउँमा खाल जमाउन घरखेत थापेर
सराब पिई बालबच्चा भोको राखी, भो जुवा खेल्न आउँदिन ।
आफूसँगै समयले मलाई बलियो बनायो, डोर्यायो पनि
त्यसैले रावण नभै ‘श्याम’ बन्छु, भो घमन्ड बोल्न आउँदिन ।

सामाजिक सञ्जालबाट साभार गरिएको माथिको गजल ‘श्याम माकजू’ को हो । दसैँलाई नै केन्द्रमा राखी रचित गजलले ‘आयो दसैँ ढोल बजाई, गयो दसैँ ऋण बोकाई’ भन्ने वास्तविकतासँग निकट उखानलाई सम्झना गराउँछ । यसैले, आर्थिक रूपमा निकै कमजोर वर्गलाई दसैँले गिज्याइरहेको छ ।

दसैँलाई जसले जे नाम दिए पनि, जुन उपमा दिए पनि, जुन विशेषणले सिंगारे पनि, दसैँ पैसाको व्यय हुने समयको पर्याय हो । दसैँमा पाइलैपिच्छे पैसाको आवश्यकता हुन्छ । विना पैसाको दसैँ, दसैँ नै हुँदैन, दशा हुन्छ । पूर्णतः पैसामा निर्भर, पैसाले नै मार्ग निर्देश गर्ने पर्व दसैँ । पैसा नहुनेहरूको दसैँ कस्तो हुन्छ ?

एकपटक सोच्दा पनि कहाली लाग्न सक्छ जसलाई पनि । जहाँ जाऊ, जे गर, जसरी गर, पैसा नै चाहिन्छ । पैसाकै महिमा गाउने उत्सव बनेको छ दसैँ, उमंग बनेर आएको छ दसैँ र यस्तै गरी भोलि पनि पैसाकै पर्व हुनेछ, दसैँ । पैसा नै बढी खर्च हुने, पैसाविना चल्ने नसक्ने पर्व, यस हिसाबले पनि पैसावालहरूकै पर्व हो, दसैँ ।

पैसा कसरी, कहाँ खर्च गर्ने भन्ने योजना नभएका, चिन्ता बढी भएकाहरूका लागि दसैँ पैसा खर्चे सबैभन्दा राम्रो मौका हो, अवसर हो । यसैले त उनीहरू फेरिएको दसैँअनुसार आफ्नो दसैँ योजना पनि बदल्छन् । अझ भन्नुपर्दा, ‘दसैँ यसरी मनाउनुपर्छ, त्यसरी मनाउनुपर्छ’ भनेर तरिका पनि सिकाउँछन् ।

यता आर्थिक रूपमा कमजोर वर्ग, किसान, मजदुर, दैनिक ज्यालादारीमा बाँचेकाहरू, सरकारी जागिर नभएकाहरू, कुनै ठाउँमा जागिरको ओत नपाएकाहरू दसैँको चिसो हावा आउने बित्तिकै थरथर काँप्छन् । उनीहरू भन्छन्, ‘लौ दसैँ आयो, हाम्रो आलो घाउमा नुनचुक छर्ने पर्व आयो ।’ दसैँ ‘असत्यमाथि सत्यको जित’ को खुसीयालीमा मनाइएको चाडको रूपमा चित्रण हुँदै आएको छ ।

यसको ऐतिहासिकता पनि यहीसँग जोडिएको छ, तर के वास्तवमा असत्यमाथि विजय प्राप्त भएकै कारणले दसैँ मनाउन थालिएको हो त ? यदि हो भने किन असत्य रुचाउनेहरूकै दसैँ भइरहेको छ, दिनरात ? अनि किन दसैँलाई वार्षिक रूपमै मनाउनुपर्ने ? यो दसैँको परम्परा बसाल्नेहरूको यसमा के ‘स्वार्थ’ जोडिएको छ ?

दैनिक काम नगरिकन मुखमा माड नलाग्ने, आङमा कपडा लाउन असमर्थहरूलाई कुन भुलभुलैयामा पार्नका लागि दसैँ परम्पराको विकास भएको हो, संस्कृति बनेको हो ? दसैँका प्रत्येक दिनको धार्मिक रूपले निकै महत्व सुनिन्छ, दसैँका ती दिनहरूसँगै हुने खर्च, के सामान्य कमाई भएका वर्गले धान्न सक्छ ?

उसले दसैँलाई दसैँ बनाउन ३ सय ६५ दिनमध्ये कति दिन जोतिनुपर्छ ? यसैले समाजमा कष्ठ तवरले पैसा कमाएकाहरूले दसैँको मौकामा गरिबहरूलाई नै लोेप्पा खुवाइरहेका छन् । यसैले दसैँ यथार्थमा गरिबहरूको चाड बन्न सकेको छैन । दसैँ त गरिबहरूलाई काँडा बनेर च्वास्स, च्वास्स घोच्छ ।

पर्वले उत्साह दिनुपर्नेमा अझ निराश बनाउँछ, मानसिक रूपमा पीडा नै बनिदिन्छ । हुन त दसैँलाई आफ्नो किसिमले मनाउन नसकिने होइन, विज्ञहरू, समाजका अभियान्ताहरू घाँटी फुलाई भन्छन्, ‘घाँटी हेरी हाड निल्नुपर्छ, आफ्नो गच्छेअनुसार पर्व मनाउनुपर्छ, देखासिकी गर्नू हुन्न ।’

उनीहरूले यसरी भनिरहँदा कुरा निकै सजिलो र सहज देखिन्छ, तर उनीहरूले भनेजस्तै भएको अवस्था छैन, किनकि हाम्रो सामाजिक संरचना, परिवेश त्योभन्दा निकै भिन्न छ । दसैँ भन्ने बित्तिकैको मानसिकता अहिले पनि ‘मीठो खाने, राम्रो लाउने, बालबालिकाहरूलाई नयाँ लुगा किनिदिने, खसी बलि दिने’ मै सीमित छ ।

यो परिवेशबाट हुर्केको समाजमा रहेका गरिबहरूले घाँटी हेरी हाड निल्दा, गच्छेअनुसार पर्व मनाउँदा उनीहरूलाई छिमेकी, आफन्तजन, इष्टमित्रले हेर्ने दृष्टिकोण के हुन्छ ? यही डर, यही चिन्ता, यही मानसिकताबीचमा गरिबहरू दसैँ मनाउँछन्, र त गरिबहरूको मन दसैँमा पनि गहुँ्रगो बन्छ, उनीहरूको मन दसैँको पिङजस्तै चच हुइय सरर… गर्दैन, चंगाजस्तै मन चंगा हुँदैन ।

दसैँका थुप्रै राम्रा पक्षहरू नभएको पनि होइन, तर ती राम्रा पक्षहरू पनि मात्र धनी वा भनौँ पैसा हुनेहरूकै लागि मात्र केन्द्रित छन् । एक गरिबको दसैँ कस्तो हुन्छ, कसरी मनाउँछन् गरिबहरू दसैँ ? यो विषयमा वास्तविक रूपमा छलफल, अध्ययन भएको छैन । तर, ‘दसैँ दसैँ’ भन्दै निकै उत्साहित भएर मात्र लागिरहेका छन् ।

प्रतिक्रिया