पुष्प व्यवसायको आर्थिक पक्ष

आजको समयमा हरेक चीज वा वस्तुहरू बिक्री हुन थालेका छन् । मानिसमा केही गरेर देखाउँछु भन्ने अठोट र परिश्रम गर्ने आँट भयो भने ऊ अहिलेको युगमा बेरोजगार भएर भोकै बस्नुपर्ने अवस्था रहँदैन । कुनैवेला भगवान्को मन्दिरमा मात्र चढाउन उपयोग हुने पुष्प (फूल) लाई व्यापारको रूपमा लिइँदैनथ्यो ।

तर, आज लाखौँ मानिसलाई फूलको व्यापारले मनग्य फाइदा दिइरहेको छ । स्वदेशमा मात्र होइन फूलको व्यापारले अन्तर्राष्ट्रिय बजारमा समेत आफ्नो स्थान ओगट्न सफल भएको छ । हिन्दू धर्मावलम्बीहरूको कुरा गर्ने हो भने उनीहरूको हरेक कार्यमा फूलको आवश्यकता पर्दछ ।

यहाँसम्म कि कुन समयमा के कार्य गर्ने र कुन कार्यका लागि कुन रंगको फूल प्रयोग गर्ने भन्नेसमेत हिन्दू शास्त्रहरूमा वर्णन भएको पाइन्छ । जन्मदेखि मृत्युपश्चात् गरिने विभिन्न संस्कारहरूमा नाना प्रकारका पुष्पको उपयोग गरिने हुँदा हिन्दू समाजमा फूलको छुट्टै महिमा रहेको छ ।

विशेष गरेर मृत्युपश्चात् गरिने फूलको प्रयोग तितेपाती, टक्कर  सेता अन्य फूलहरू उत्तम मानिन्छ । पितृ सम्झनामा गरिने श्राद्धमा सकेसम्म टक्करमा पात  फूल अत्यन्तै उपयोगी मानिन्छ ।

वैदिक धार्मिक महत्वका विषयमा सम्बन्धित क्षेत्रका विज्ञले अझै स्पष्ट पार्ने धेरै कुरा होलान् । कृषि व्यवसाय जत्तिकै महत्वको व्यवसाय बनेको पुष्प व्यवसाय पछिल्लो समयमा निकै फस्टाउँदै गएको छ । पुष्प व्यवसाय अहिले निकै आकर्षक मानिन थालेको छ ।

बर्सेनि करोडौँ रकमको कारोबार गर्ने ठूलो व्यवसाय बनेको पुष्प व्यवसायमा बेरोजगार युवा लागेर परिश्रम गर्ने हो भने विदेश जानु पर्दैन । आफ्नै मातृभूमिमा नवीन ढंगले पुष्प व्यवसायलाई व्यवस्थित गरेर अगाडि बढ्ने हो भने अवश्य नै यस व्यवसायमा लाग्नेहरूको भविष्य उज्ज्वल हुने देखिन्छ ।

हरेक व्यवसायका लागि बजारको राम्रो व्यवस्था हुनु जरुरी हुन्छ । पुष्प बजारका लागि धार्मिक स्थल नै मुख्य भए पनि जन्म, मृत्यु, विवाह, उत्सव, सभा, समारोह र र्यालीलगायतका विशेष अवसरमा फूलको बढी माग हुने गर्दछ । चर्चित व्यक्तित्वको निधनको वेलामा त श्रद्धासुमन चढाउनका लागि अत्यधिक फूलको खपत हुने गरेको छ ।

फूल वास्तवमा ज्यादा महत्वको वनस्पतिभित्र पर्दछ । कतिपय फूलहरूमा औषधीय गुणहरू पनि हुन्छन् । प्रकृतिले हामीलाई धेरै कुरा प्रदान गरेको हुँदाहुँदै पनि त्यसको उपयोगिता नजानेर हामीले औषधी ® विष दुवै खालका वनस्पतिलाई एउटै आँखाले हेरिरहेका हुन्छौँ ।

फूलको महिमा धेरै नै छ । फूल सुगन्ध र रंगको मुहान हो । मानिसको जन्मदेखि हरेक धार्मिक, सामाजिक कार्यमा र उत्सव समारोहलगायत मृत्यु संस्कारका लागि समेत नभई नहुने फूल हाम्रो जीवनमा आवश्यकीय वस्तुको सूचीमा परेको छ । तसर्थ, फूललाई हरेक धर्म र सम्प्रदायले सकरात्मक रूपमा मनन् गरेको पाइन्छ ।

फूलको सौन्दर्य हेर्नमा हुन्छ, टिप्नुमा यसको सौन्दर्य हराउँछ । कतिपयको अनावश्यक रूपमा फूल टिपेर फ्याँक्ने पनि बानी हुन्छ । फूलको महत्व बुझिसकेपछि बिना काममा फूल टिपेर फ्याँक्ने मानिसलाई असभ्य मानिन्छ । त्यसैले त भनिन्छ नटिप्नु हेर कोपिला बसेर काल जाग्दछ ।  फूलको व्यवसाय गर्दा यसका बिरुवा पनि बनाएर बजारमा बिक्री गर्न सकिन्छ ।

अहिले हरेक घरको सौन्दर्य बढाउन घरभरि प्रशस्त गमला राखेर गमलामा फूल रोप्ने चलन बढिरहेको छ । साथै, घर र उत्सव आदिको सौन्दर्य मानिने फूलको नर्सरी बनाई बिक्री गर्ने प्रचलन पनि बढ्दै गइरहेको छ । हामी फूलमा पनि आत्मनिर्भर हुन सकेका छैनौँ । हामीलाई आवश्यक परेको फूल बर्सेनि छिमेकी मुलुकहरूबाट आयात हुने गर्दछ ।

बर्सेनि फूलको आयातबाट बिदेसिने फूलको पैसा मात्र रोक्न सक्ने हो भने पनि ग्रामीण क्षेत्रमा विद्यालय नै सञ्चालन गर्ने रकम जोगिन सक्छ । यसबाट लाखौँ बालबालिका लाभान्वित हुन सक्छन् । विद्यालयबाट कहिल्यै नसकिने ज्ञान प्राप्त गर्न सकिन्छ । त्यही ज्ञानबाटै मानव सुन्दर फूलझैँ बन्न सक्छ ।

विद्यार्थीका लागि फूल बन्नु भनेको जान्ने लगनशील बन्नु भनेको हो । हरेक वस्तुको व्यवसाय हुन थालेको यस युगमा दीर्घकालीन योजना बनाई हामीलाई हरेक अवस्थामा चाहिने फूलको व्यवसाय सञ्चालन गर्न सकेमा बढ्दो बेरोजगारी समस्यालाई समेत कम गराउन सकिन्छ ।

यसका लागि बर्सेनि विदेशी भूमिमा रोजगारीका लागि गएका युवाहरूलाई यहाँको मौसमअनुसार पुष्प खेतीमा अकर्षित गर्ने हो भने निश्चय नै यस व्यवसायबाट राष्ट्रिय आयमा वृद्धि भई नागरिकको जीवनस्तर माथि उठ्नसक्छ ।

यसतर्फ सरकारले विशेष चासो देखाई नेपालमा उत्पादित फूललाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउने प्रयास गर्ने हो भने पनि बजारको विस्तार भई विदेशी मुद्रासमेत आर्जन हुन सक्ने देखिन्छ ।

प्रतिक्रिया