एनआरएनएमा उपाध्यक्ष पद थप्ने तयारी

काठमाडौं । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) मा ६ उपाध्यक्ष रहने गरी विधान संशोधन हुने भएको छ ।

शुक्रबार राजधानीमा बसेको पहिलो विधानसभाले विषयगत रूपमा ६ उपाध्यक्ष रहने गरी विधान संशोधन गर्ने निर्णय गरेको महासचिव बद्री केसीले जानकारी दिए ।

वैदेशिक रोजगार, लगानी, नेपालीले सिकेको सीप, प्रशासन र महिला, युवा तथा दोस्रो पुस्ताको प्रतिनिधित्व गर्ने गरी छुट्टाछुट्टै ६ उपाध्यक्ष राख्ने विधानसभामा सहमति जुटेको छ । यसअघि एक महिलासहित तीन उपाध्यक्ष रहने व्यवस्था थियो ।

विधानसभाले गरेको निर्णय विशेष महाधिवेशनमा लगेर पारित गर्नुपर्ने भएकाले अब विधानसभा नरहने उनले जानकारी दिए । परिषद्को कार्यकाल भने साबिकझँै दुई वर्ष नै रहनेछ । महाधिवेशनमा प्रतिनिधि संख्या भने पुरानै विधानअनुसार प्रतिहजार एक सय नै रहने भएको छ ।

हाल तीन उपाध्यक्ष रहेकामा विषयगत उपाध्यक्ष थप्ने, एनआरएनएको दुईवर्षे कार्यकाललाई तीनवर्षे बनाउने, महाधिवेशन प्रतिनिधि संख्यामा पुनर्मूल्यांकन गर्नेलगायत प्रस्ताव विधानसभामा प्रस्तुत भएको प्रवक्ता भूषण घिमिरेले जानकारी दिए । सात समूहमा भएको छलफलले उपाध्यक्ष थप्ने र विधानसभा नरहने निर्णयबाहेक अरु नयाँ प्रस्ताव पारित गर्न सकेन ।

सल्लाहकार डा. हेमराज शर्माको संयोजकत्वमा बनेको विधान समितिले संशोधन प्रस्ताव पेस गरेको थियो । सन् २००३ मा स्थापनापछि पहिलोपटक विधानसभामार्फत संशोधनको विषय प्रवेश भएको थियो ।

यसैबीच, शुक्रबारदेखि गैरआवासीय नेपालीको ‘विश्व विज्ञ सम्मेलन’ सुरु भएको छ । २८ असोजसम्म चल्ने सम्मेलनमा कृषि, जलविद्युत् यातायात, वातावरण प्रदूषण नियन्त्रण, ऊर्जा, पूर्वाधार विकास, व्यावसायिक सीप, स्वास्थ्य र शिक्षा लगायतका विषयमा छलफल भइरहेको छ ।

सम्मेलनमा गैरआवासीय नेपालीले विदेशमा सिकेको ज्ञान र सीप उपयोग र यसमा आइपर्ने चुनौतीबारे छलफल तथा विभिन्न अध्ययन अनुसन्धान र अन्वेषणमा सहभागी विज्ञ, लगानीकर्ता र सरकारी प्रतिनिधिबीच अन्तक्र्रिया गरिनेछ ।

सम्मेलनमा नेपालसँग जोडिएका विदेशी विज्ञ, परराष्ट्रविद्, नीति निर्माता, स्वतन्त्र बुद्धिजीवी र निजीक्षेत्रको समेत सहभागिता रहने जनाइएको छ । सम्मेलनमा कुल १ सय ६० कार्यपत्रमाथि छलफल हुनेछ ।

प्रतिक्रिया