भन्सारमा चिनी थन्कियो

बाँके । सरकारले भारतबाट चिनी आयातमा प्रतिबन्ध लगाएपछि तीन सातादेखि १ सय ४४ मेट्रिक टन चिनी नेपालगञ्ज भन्सारमा थन्किएको छ । व्यापारीले दसैँ र तिहारलाई लक्षित गरी ल्याएको चिनी भन्सारमै रोकिएको हो ।

मन्त्रिपरिषद् बैठकले गत ३१ भदौमा भारतबाट चिनी आयात नगर्ने निर्णय गरेपछि साविकका मध्य र सुदूरपश्चिमका लागि ल्याइएको चिनी नेपालगञ्ज भन्सार कार्यालयमा रोकिएको हो ।

सरकारले भारतबाट आएको चिनी आयात नगर्ने निर्णय गरेको भोलिपल्ट व्यापारीको चिनी नेपालगञ्ज आइपुगेको नेपालगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत उमेश श्रेष्ठले बताए । उनले मन्त्रिपरिषद्को निर्णयपछि चिनी आएकाले भन्सार गर्न नसकेको बताए ।

‘सरकारले निर्णय गर्नुभन्दा अगाडि नै व्यापारीले भारतमा चिनी खरिद गरेर ट्रान्सपोर्टमा हालेको हुनुपर्छ, तैपनि चिनी आइपुग्नुभन्दा पहिले नै सरकारले आयात नगर्ने निर्णय गरिसकेकाले भन्सार गर्न मिलेन,’ उनले भने । व्यापारीले दसैँ र तिहारका लागि दसैँअघि नै चिनी खरिद गरेका थिए ।

भन्सार अधिकृत श्रेष्ठले ४२ लाख भारतीय रुपैयाँ अर्थात् ६७ लाख नेपाली रुपैयाँको चिनी भन्सार हुन नसकेको बताए । उनले नेपालगञ्ज भन्सारमा मात्र नभई वीरगञ्ज, भैरहवा, धनगढी, विराटनगरलगायत भन्सारमा पनि चिनी थन्किएको बताए । भन्सार महाशाखाले नेपालगञ्ज भन्सारमा रोकिएको चिनीको बारेमा सोधपुछ गरे पनि विकल्पका लागि कुनै निर्देशन आएको छैन ।

भारतबाट चिनी आयातमा सरकारले रोक लगाए पनि नेपालगञ्जमा चिनीको मूल्य नबढेको व्यापारीले दाबी गरेका छन् । व्यापारीले प्रतिकिलो ७० देखि ७५ रुपैयाँमा चिनी बिक्री गर्दै आएको नेपालगञ्ज किराना तथा खाद्य व्यवसायी संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले बताए । ‘क्वालिटीको आधारमा व्यापारीले चिनीको मूल्य तोक्ने गरेका छन् । चिनी हेरेर कसैले धेरै र कसैले कम मूल्यमा बिक्री गरिरहेका छन्,’ नेपालगञ्ज उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्षसमेत रहेका मनसुरीले भने ।

प्रतिक्रिया