मत-विमत

जनताको फैसलामा खोट

सोझो कुरा

विनोद त्रिपाठी २०७५ असोज २४ गते ७:४८ मा प्रकाशित

‘राष्ट्रियता माटो होइन, जनताको सामूहिक भावना हो,’ बिपी कोइराला । प्रजातन्त्रका लागि लडेर विश्वेश्वर प्रसाद कोइरालाले सबै जनताको मन बुझे । मेलमिलापको नीति ल्याए ।

जनभावनालाई बिपीले पहिलो प्राथमिकता दिए । सम्भवतः उनको यो ऐतिहासिक दृष्टिकोणले उनका वाणीहरू अझै जीवित छन् । हो बिपीले भने झैँ राष्ट्रियता भनेको जनताको चाहना हो ।

जनचाहनाबाट हाम्रो माटो सुरक्षित हुन्छ । जनताको चाहना केवल असल शासकले बुझ्छ । बिपीका यस्ता भनाइहरू जो कोहीले पनि सरल ढंगले बुझ्न कठिन छैन । ‘ठुल्ठूला महल र अट्टालीमा बस्नेलाई म जनता भन्दिनँ ।

त्यो त एक प्रतिशत पनि छैन जो मोटरमा हिँड्छ, राम्रो लगाउँछ र राम्रो खान्छ । जनता त गाउँमा बस्छन् ।’, बिपीको यो भनाइमा जनताको स्पष्ट परिभाषा गरिदिएको छ । यसमा शासकलाई कर्तव्य पथमा लैजान प्रेरणा छ र जनता भनेका को हुन्, बुझाइदिएको छ ।

यो भनाइ वर्तमान जनता र शासकलाई अझै उति सान्दर्भिक छ । केही दिन अघि संसद्को दोस्रो अधिवेशनको अन्तिम दिन कम्युनिस्ट नेता माधव नेपालले भनेका थिए, ‘सरकारका मान्छे वादप्रतिवादमा उत्रने होइन, काम गरेको छ भने जनताले देखिहाल्छन् । सरकारले त काम गरेर पो देखाउने हो ।’

यही साता अर्का कम्युनिस्ट नेता प्रधानमन्त्री केपी ओलीले भने, ‘सरकार कुनै जादु होइन, रूमालबाट फुत्त बोत्तल निकाल्ने।’ अब चर्चा गरौँ, जिम्मेवार नेताका अभिव्यक्ति कुन ठीक कुन बेठीक ? साँच्चै हो, नेता माधव नेपालले भने झैँ सरकारले गरेका काम जनताले तुरुन्त देख्छन्, वादप्रतिवादमा उत्रनै पर्दैन ।

तर, के ओलीले भने झैँ जनताले जादु झैँ काम होस् भन्ने चाहेका छन् ? के ओलीको बोलीमा जिम्मेवारी बोध छ ? यहाँ जनताले जादु जसरी रातारात काठमाडौंमा मेट्रो रेल चलोस् भन्ने चाहेका होइनन् । अन्य देशको जस्तै फन्फनी रिङ झैँ घुमेका फ्लाइओभरहरू पनि अहिले खोजेका छैनन् ।

मेचीदेखि काली नदी भेट्नेगरी बुलेट रेल पनि तुरुन्तै देऊ कोही जनताले भनेका होइनन् र छैनन् पनि । जनताले भनेका छन्, ‘सुबिस्ताले सार्वजनिक बसबाट गौशाला पुगेर पशुपतिको दर्शन गर्न पाइयोस् । दाल, चामल, तरकारी किन्दा कसैले नठगोस् । कुनै सामान महँगो तिर्न नपरोस् ।

अपराधीलाई कारबाही गरियोस् । व्यापारी र उपभोक्ताबीचमा बसेर खेल्ने (बिचौलिया) अन्त्य गरियोस् । बसपार्कमा ढुक्कले बस चढ्न पाइयोस् । अस्पतालमा निर्धक्कसँग उपचार गर्न पाइयोस् । आरामले नागढुंगा र नौबिसे सडक पार गर्न पाइयोस् । ढुक्कले बालबालिका स्कुल गएर फर्किऊन् ।

गैरराजनीतिक जनताले यस्तैयस्तै अपेक्षा राखेका हुन् । अब सरकारले उत्तर दिओस् के यी काम गर्न कुनै ठूलो बजेट चाहिन्छ ? के यस्ता समस्या हल गर्न वर्ष दिन लाग्छ ? प्रणाली बसाऊ सरकार, सबै राम्रो हुन्छ, जनताले त यही भनिरहेका छन् । के नियम र पद्धति बसाउन कुनै समस्या छ ? त्यसैले, अहिले सरकारको ईच्छाशक्ति केवल व्यक्तिवादमा मात्र केन्द्रित छ ।

सरकारका मान्छेका भनाइ र गराइमा ठूलो अन्तर छ । ठूला आयोजना ल्याउँदै गर्दा के जनताका जनजीविकाका विषय ओझेलमा पार्न पाइन्छ ? रेलका योजना सुनाएर जनताको पेट भरिन्छ ? जिम्मेवार सरकारले ठूला आयोजना बनाउँदै जान्छ । जनताका नियमित काम पनि चुस्त ढंगले सँगसँगै लान्छ ।

यी सबै बहसहरूमा समस्या जनतातिरै सोझिन्छ । अब जनताको परिभाषा खोज्ने वेला आएको छ । तरकारीमा बिचौलिया बनेर ठग्नेहरू जनता होइनन् । नेताहरूको आडमा कमिसन खानेहरू जनता हुनै सक्दैनन् । देश विकासमा काम नगर्ने नेतालाई भोट दिनेहरू वास्तविक जनता होइनन् ।

 भ्रष्टाचार गर्ने नेताहरूलाई साथ दिने जनता हुँदै होइनन् । आफ्ना पार्टीका नेताहरू जति खराब भए पनि ढाकछोप गर्ने जमातहरू जनताभित्र पर्दैनन् । काला तस्कर, ठग ठेकेदार, भ्रष्ट कर्मचारी, गलत काम गर्न उक्साउने कार्यकर्ताहरू, अपराधी, बलात्कारी, झुठो आश्वासन बाँड्ने नेतालाई भोट दिनेहरू जनताको परिभाषाअन्तर्गत पर्दैनन् ।

यसरी जनताको सही अर्थ खोज्दा अहिले वास्तविक जनताको संख्या निकै कम छ । यो आवाज झिनो पनि छ । तर, यही सच्चा जनताहरूको झिनो आवाज नै सत्य हो । जुन आवाजले जनताको समस्या बोलिरहेको छ । यो आवाजको प्रतिनिधित्व सरकारमा खोई ?

जननिर्वाचित सरकार भएको भए यही जनबोलीमा एकाकार हुन सक्नुपथ्र्यो । असली जनताले अहिले यही चाहिरहेका छन्। तर, विडम्बना यो सरकार असली र वास्तविक जनताको प्रतिनिधिमूलक सरकार बन्न सकेन । किनकि, यसको पुष्टि स्वयं सरकारले गरिसकेको छ ।

यही सरकारका पालामा न्यायका लागि जुलुश निकाल्नु परेको छ । प्रजातन्त्र आएपछि सम्भवतः न्यायमाथि बलात्कार भएको अहिले हो । सरकार गठन भएदेखि महँगी बढेको बढ्यै छ । किन यस्तो दूर्दशा आयो भनेर प्रश्न गर्दा सरकारले जवाफ दिन्छ, के यसअघि रामराज्य थियो र अहिले मात्र नराम्रो भएको ?’

यति गैरजिम्मेवारी छ वर्तमान सरकार । फेरि पनि जनताले प्रश्न गरिरहेका छन्, ‘त्यति धेरै राष्ट्रको ढुकुटी सकेर गरिएको चुनावबाट छानेको सरकार यही हो त ? भोट माग्ने वेलामा सरकारका मन्त्रीहरू र नेताहरूले भनेको सरकार यस्तै सरकार हो त ?’ एउटा सच्चा नेपालीले अहिले सरकारसँग यो प्रश्न गरिरहेका छन् ।

दोष हामीभित्रै छ । अर्थात् यस्ता नेतालाई भोट दिनेहरूकै छ । हिजो यावत् विकृतिविरुद्ध सडकमा नाराबाजी गर्नेहरू, आज महँगी बढाएको देखेर नदेखे झैँ गर्नेहरू दोषी छन् । हिजो कुटपिटमा संलग्नलाई कारबाही गर भनेर नेपालबन्द गर्नेहरू आज कलिला नानीहरूलाई बलात्कार र हत्या गर्ने अपराधीहरूविरुद्ध चुपचाप बस्नेहरू दोषी छन् ।

हिजो मन्त्रीहरूका सम्पत्ति छानविन गर भनेर कुर्लनेहरू आज आफ्ना नेताहरूका रातारात बढेको अर्बौंको सम्पत्ति देखेर मौन हुनेहरू मुख्य दोषी हुन् । अपराधी अपराध गर्ने मात्र हुँदैन ।

अपराध गर्नेलाई देखेर पनि नदेखे झैँ गर्नु झन् ठूलो अपराध हो । अहिले जिम्मेवार नेता, प्रशासक, सुरक्षा प्रमुखलगायतका कमजोरी, गल्ती र खराब आचरण ढाकछोप गर्ने जनता दोषी हुन्।  मुलुकको हितमा काम नगर्ने नेताको पछ्यौटे बन्ने कार्यकर्ता मुख्य दोषीका भागिदार हुन् ।

अब समाधान के ?
सचेत जनता त्यो हो, जसले हरेक नेताहरूको काम मूल्यांकन गरिरहेको हुन्छ । अर्थात्, आफूले भोट हालेको नेताले काम ग¥यो किन गरेन भन्ने हो । सचेत जनताले गलत नेतालाई कहिल्यै माफी दिँदैनन् । धुलो र फोहोरबाट आक्रान्त पार्ने नेताहरूलाई अब काठमाडौंका बासिन्दाले भोट दिने कि नदिने ?

दैनिक महँगी बढाउने मन्त्रीलाई फेरि भोट दिने कि नदिने ? बिचौलियालाई जोगाउने नेतालाई फेरि साथ दिने कि नदिने ? यस्तै विषयमा गम्भीर भएर मूल्यांकन गर्ने हो भने फेरि फेरि यस्तो गल्ती दोहोर्याउने दुस्साहस कुनै नेताबाट हुनेछैन । किनकी अहिलेसम्म जनताको फैसलमै खोट देखिएको छ ।

यो खोट मेट्न जनताले आफ्नो दोष मेट्नैपर्छ । हामी नेपाली जनता हौँ भने नेपालप्रति कति इमानदार छौँ ? यी सबै समस्याका कारक हामी होइनौँ भने हामी कति ओभानो छौँ ? फेरि गम्भीर भई छातीमा हात राखेर सोचौँ । यस्ता नेतालाई भोट दिने हामी दोषीको भागिदार बन्ने कि नबन्ने ?

हरेकपटकका चुनावमा यिनै नेताका झुठ कुरालाई पत्याएर साथ दिने हाम्रो दोष कति ? फेरि पनि यस्तै समस्या नआओस् भनेर सोच्ने कि नसोच्ने ? तपाईं राजनीतिकर्ता हो भने असल नेतालाई साथ दिनुहोस् । खराबलाई होइन ।

एकपटक खराब प्रमाणित भइसकेको नेतालाई चर्को विरोध गर्नुहोस् । ताकि अर्को खराब नेता नजन्मियोस् । त्यसैले, अब हामी सच्चा जनता बन्ने कि, खराब कार्यकर्ता ? मूल्यांकन गर्ने यही अन्तिम मौका हो । फेरि सोचौँ, समस्या हामीले नै सिर्जना गरेका हौँ । समाधान हामीभित्रै छ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय