पदक विजेता कराँते खेलाडी सम्मानित

काठमाडौं । ब्रिटिस ओपन इन्टरनेसनल कराते (विकेएस) प्रतियोगितामा पदक विजेता कराते खेलाडी सोमबार सम्मानित भएका छन् । युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा), सचिव मोहनकृष्ण सापकोटाले पदक विजेता खेलाडी विनोद शाक्य गुभाजु, विप्लवलाल श्रेष्ठ र सोनाम लामा तथा रेफ्री सिर्जना अधिकारीलाई सम्मान गरेका थिए ।

ब्रिटिस कराते फेडेरेसनको आयोजनामा युकेको लेचेस्टरमा गत ६ र ७ आश्विनमा सञ्चालन भएको प्रतियोगिताको कुमुते टिम स्पर्धामा नेपालबाट विनोद शाक्य गुभाजु, विप्लवलाल श्रेष्ठ र सोनाम लामा फाइनलमा पराजित भएपछि रजत पदकमा सीमित भएका थिए ।

सोनमले नै कुमुतेको व्यक्तिगत स्पर्धाअन्तर्गत पुरुष कुमुतेको ६० केजीमुनी नेपाललाई कांस्य दिलाएका थिए । नेपालका तर्फबाट निर्णायकको भूमिका निर्वाह गरेकी एसियन रेफ्री सिर्जना अधिकारीले उत्कृष्ट रेफ्रीको अवार्ड जितेकी थिइन् ।

नेपाली टिममा सहभागी व्यवस्थापक राजेन्द्र दुलाल, कुँवेर एसके र खेलाडी सागर गुरुङलाई पनि सम्मान गरिएको थियो ।

प्रतिक्रिया