पढ्ने बानी बसाउन पढाइ मेला

सल्यान । ‘हरेक कुराहरू पढेरभन्दा देखेर सिकिन्छ । कक्षाकोठामा सरहरूले चित्रहरू देखाएर सिकाउँदा धेरै बुझिन्छ, पढ्न मन पनि लाग्छ’, यो भनाइ हो सल्यानको दार्मा गाउँपालिका–६ गोठीवनमा रहेको सूर्योदय माध्यमिक विद्यालय कक्षा १० मा अध्ययनरत निरमान खड्काको । उनले हरेक कुराहरू पढेरभन्दा देखेर सिक्न सकिने बताए ।

उनले भने, ‘कक्षाकोठामा सरहरूले किताबका कुराहरू पढाउँदा मन पर्दैन् । धेरै कुराहरू बुझ्न पनि सकिन्न । तर, विभिन्न सामग्री हेरेर पढाउँदा धेरै कुराहरू सिक्न सकिन्छ ।’

दार्मा गाउपालिकाको फारुलाचौरमा रहेको जनज्योति माध्यमिक विद्यालय प्रांगणमा सोमबार आयोजित पढाइ मेला तथा विद्यालयस्तरीय शैक्षिक सामग्री प्रदर्शनी तथा नृत्य प्रतियोगिता कार्यक्रम २०७५ मा विद्यालयले प्रदर्शनमा राखेका सामग्रीहरूको विषयमा जानकारी दिँदै विद्यार्थी खड्काले विद्यार्थी र शिक्षकको सहकार्यमा निर्माण गरिएका विभिन्न सामग्रीले पठनपाठनका लागि महत्वपूर्ण काम गर्ने बताए ।

उनले आफूहरूले आलु, केरा लगायतका विभिन्न फलफूलबाट बिजुली निकाल्न सकिन्छ भन्ने प्रमाणितसमेत गरेको बताए । स्थानीय स्तरमा उपलब्ध सामग्रीको अधिकतम रूपमा प्रयोग गरेर विभिन्न लाइट पाइप, न्युुटन रिङ लगायतका विभिन्न सामग्रीहरू बनाइएको बताए ।

सूर्योदय माध्यमिक विद्यालयका शिक्षक धीरेन्द्र केसीले विद्यार्थीले किताबका कुरा मात्रै पढेरभन्दा पनि अतिरिक्त कुराहरू सिकाउँदा धेरै कुराहरू सिक्ने बताए । ‘हामीले विद्यालयमा शैक्षिक सामग्रीहरूको अधिकतम प्रयोग गरेर पढाउने गरेका छन्, यसरी पढाउँदा विद्यार्थीहरूको रुचि धेरै हुन्छ’, उनले भने । उनले प्रदर्शनीस्थलमा राखिएका सबै सामग्रीहरूको प्रयोग गरेर विद्यालयमा विद्यार्थीहरूलाई पढाउने गरेको बताए ।

एकदिने पढाइ मेलामा कार्यक्रममा शैक्षिक सुधारका लागि आवश्यक पर्ने विभिन्न सामग्रीहरू राखिएको छ । पढाइ मेलामा दर्जन बढी शैक्षिक सामग्रीहरू प्रदर्शनका लागि राखिएको थियो । यो पढाइ मेलाले विद्यार्थीको पठनपाठनमा सुधार ल्याउन र पढ्ने बानीको बिकास गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने सेभ द चिल्ड्रेनका शिक्षा संयोजक पुरुषोत्तम गिरीले बताए ।

पछिल्लो समय विद्यार्थीमा पढ्ने बानी कम हुँदै भएको भन्ने चौतर्फी रूपमा आलोचना भइरहेको वेला पढ्नुपर्छ भन्ने सन्देश दिन यो मेला कोसेढुंगा साबित हुने उनले बताए । ‘यस पढाइ मेलामा विद्यार्थीलाई पढ्नयोग्य, आवश्यक पर्ने, महत्वपूर्ण सामग्रीहरू राखिएको छ, यसले यहाँको शिक्षा सुधारका लागि महत्वपूर्ण काम गर्दछ, सोहीअनुसार विद्यालयहरूमा पनि शिक्षकहरूले यसरी नै पढाउनु हुन्छ’, उनले भने ।

दलित विकास समाज सल्यानसँगको सहकार्यमा सेभ द चिल्डे«नको सहयोग र दार्मा गाउपालिकाको शिक्षा समितिको आयोजनामा सो कार्यक्रम सम्पन्न भएको हो । गाउँपालिका अध्यक्ष नीमबहादुर केसीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै शिक्षा विकास तथा समन्वय समिति इकाइ प्रमुख लीलाधर बबालले शैक्षिक सुधारका लागि पढाइ मेला महत्वपूर्ण हुने बताए । उनले विद्यालयमा पढाउँदा पनि शैक्षिक सामग्रीहरूको अधिकतम प्रयोग गरेर मात्रै पठनपाठन गर्न सुझाव दिए ।

यस्तै गाउँपालिका अध्यक्ष केसीले दार्मा गाउँपालिकाले शिक्षा क्षेत्रलाई पहिलो प्राथामिकता दिएर काम गर्ने बताए । उनले शिक्षा क्षेत्रमा देखिएका विकृति र विसंगतिको अन्त्य गर्दै प्रयोगात्मक, व्यावहारिक पढाइ सञ्चालन गरिने बताए । यस्तै दलित विकास समाज सल्यानका अध्यक्ष नीमबहादुर नेपालीले सेभ द चिल्ड्रेनसँगको सहकार्यमा बागचौर नगरपालिका, दार्मा गाउँपालिका र कुमाख गाउँपालिकामा शैक्षिक सुधारका लागि काम गर्दै आएको बताए ।

प्रतिक्रिया