इन्डोनेसियामा अझै ५ हजार बेपत्ता

पालु । इन्डोनेसियाको पालुमा अघिल्लो साता आएको भूकम्प र सुनामीबाट हराइरहेका मानिसको संख्या पाँच हजारसम्म पुग्न सक्ने सरकारी अधिकारीले बताएका छन् ।

इन्डोनेसियाको प्रकोप नियन्त्रण संस्थाका अनुसार भूकम्प र सुनामीका कारण हालसम्म मृत्यु भएका एक हजार ७ सय ६३ जनाको शव भेटिएको छ । गत सेप्टेम्बर २८ मा सुलावेशी टापुलाई लक्षित गरी ७ दशमलब ५ म्याग्नीच्यूडको भूकम्प जानुका साथै पालुमा सुनामीले व्यापक जनधनको क्षति गरेको थियो ।

सुनामीले सबैभन्दा ठूलो क्षति गरेको पालु शहरका पेटोबो र बालारोआ इलाकामा अझै पनि हजारौँ हराइरहेका छन् । यी दुई इलाकाका घर पूर्णरूपमा ध्वस्त भएको प्रकोप नियन्त्रण संस्थाले जनाएको छ ।

‘बालारोआ र पेटोबो इलाकाका प्रमुखको सूचनाअनुसार त्यहाँ अझै पाँच हजार हराइरहेका छन्,’ संस्थाका प्रवक्ता सुतोपो पुर्वो नुग्रोहोले संवाददातालाई बताए । ‘तैपनि अधिकारीले यो तथ्याँक सत्य रहे नरहेको अनुसन्धान गरिरहेका छन् । पहिरो र माटोमा पुरिएका मानिसको यथार्थ संख्या पत्ता लगाउनु त्यति सहज छैन ।’

नुग्रोहोले आगामी अक्टोबर ११ सम्म खोज कार्यलाई निरन्तरता दिइने बताए । त्यसपछि बेपत्ता भएका वा मृत्यु भएका नागरिकको सूचीमा राखिने अधिकारीहरूको तयारी छ ।

दश दिनअघिको यस विनाशकारी विपदपछि हरेक दिन मृत्यु भएका, घाइते भएका र बेपत्ताको संख्या बढ्दै गएको छ । अधिकारीले प्रारम्भमा पालु सहरमा झन्डै एक हजार मानिस पुरिएको अनुमान गरेका थिए ।

पालु शहरको पेटोबो इलाका भूकम्प र सुनामीका कारण लगभग विलुप्त भएको छ । भूकम्पका कारण जमिन लेदो माटोमा रूपान्तरण भएको छ भने घर सुनामीले सबै ढालेको छ । भत्किएका घरमा कति मानिस च्यापिएका छन् भन्ने अझै पत्तो छैन ।

बालारोआमा पनि इन्डोनेसियाली उद्धारकर्ताले मृतकको खोजतलास अझै जारी राखेका छन् । यहाँ जीवित व्यक्ति भेटिने सम्भावना कमै भएपछि सरकारले मानिसको खोजी गर्नुको साटो सिंगै बस्तीलाई ‘चिहान’ का रूपमा घोषणा गर्ने तयारी गरेको छ ।

‘आज दश दिन भयो । अझै कोही जीवित भेटिनु भनेको चमत्कार मात्र हो,’ इन्डोनेसियाका खोज तथा उद्धार संस्थाका प्रमुख मुहम्मद स्याउजीले बताए ।

अधिकारीलाई अहिले बाँचेका व्यक्तिसम्म राहत पु¥याउन नै धौधौ परेको छ । हाल ८२ हजारभन्दा बढी सैनिक तथा प्रहरीका साथै स्वयंसेवीले उद्धार र राहतका कार्य गरिरहेका छन् । इन्डोनेसियाली सैनिक हेलिकप्टरले दुर्गम क्षेत्रसम्म खाद्यान्न र अन्य आपतकालीन सामग्री लैजाँदै छन् ।

‘स्थानीयवासी ठूलो समस्यामा छन् किनभने सडक अबरुद्ध भएको छ र यहाँ हवाई सेवा मात्र उपलब्ध हुन सक्दछ,’ उपसेनानी रेइनाल्डो आप्रीले बताए । अस्ट्रेलिया र संयुक्तराज्य अमेरिकाबाट हर्कुलस हवाईजहाजमार्फत राहत यहाँ आइरहेको छ । सेभ द चिल्ड्रेन र अन्य निकायबाट दक्षिण अफ्रिकी चिकित्सा टोली यहाँ आइपुगेको छ ।

इन्डोनेसियाली रेडक्रसले गोदामघर निर्माण गर्नुका साथै अत्यावश्यक सामग्री वितरण गरिरहेको छ । तर, यहाँ राहतकर्मीले ठूलो समस्या झेल्नु परिरहेको छ किनभने पालु र अन्यत्र ठूलो क्षेत्रमा मानिस छरिएर बसेका छन् ।

‘म टेन्ट चाहिएको कुरा लिएर यहाँ आएको हुँ, किनभने हाम्रो गाउँका ९५ प्रतिशत घर क्षतिग्रस्त भएका छन्,’ लिड्डुबाट आएका सिमसम मुजुले बताए ।

प्रतिक्रिया