‘शक्तिसँग टेर्दिनँ, सत्यसँग लड्दिन’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको विकास र सुशासनको मुख्य लक्ष्य पूरा गरिछाड्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

पत्रकार शुभशंकर कँडेलद्वारा लिखित पुस्तक ‘अवतरण’ को विमोचनपछि प्रधानमन्त्री ओलीले जनताको विश्वास पूरा गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गरेका हुन् । उनले देशका जनताले बहुमतसहित स्थिर सरकार बनाउन जनमत दिएकाले विश्वासघात नगर्ने प्रण गरे ।

‘समाजमा जादु देखाउन खोजेको होइन, विकास गर्न खोजेको हो, परिणाम निकाल्नुपर्छ,’ उनले थपे, ‘लडाइँ र लडाइँको अन्त्य पनि हामीले गरेका हौँ, समाज परिवर्तन पनि गरेकै हो, अब विकास पनि हामी नै गर्छाैं ।’

शान्ति प्रक्रिया सकिएर नयाँ युगमा नेपाल प्रवेश गरिसकेकाले कुनै शंका नगर्न विपक्षी दललाई प्रधानमन्त्रीले आग्रह गरे । उनले लामो अभ्यासपछि आएको गणतन्त्र के होला भनेर नआत्तिन आग्रह गरे । पछिल्ला सात महिनामा सरकारले महत्वपूर्ण काम गरेको जिकिर गर्दै प्रधानमन्त्री ओलीले नयाँ अभ्यास भएकाले कतिपय अवस्थामा समस्या आएको बताए ।

लोकतन्त्र आउँदैमा सबै चिज पूरा नहुने भन्दै प्रधानमन्त्री ओलीले लोकतन्त्रलाई ठीक ढंगले परिचालन गर्नुपर्नेमा जोड दिए । बलिदानबाट ल्याएको लोकतन्त्रलाई जनताप्रति इमानदार भएर प्रयोग गर्ने भन्दै प्रधानमन्त्री ओलीले भने, ‘शक्तिसँग टेर्दिनँ, सत्यसँग लड्दिनँ ।’

उनले ‘अवतरण’ पुस्तकको केन्द्रीय विषय हिजोको माओवादी आन्दोलन, त्यसको अवतरण, एमाले र माओवादी केन्द्रको एकता र नेकपाको गन्तव्यमा केन्द्रित रहेकाले यसले केही खतरा र केही सम्भावना देखाएको उल्लेख गरे । नेकपाका अध्यक्ष पुष्पकमल दाहालले माओवादी आन्दोलनदेखि नेपालको शान्ति प्रक्रियाका विषय आफू र प्रधानमन्त्री ओलीले पुस्तक नलेखेसम्म पूर्णरूपमा नबुझिने बताए ।

अध्यक्ष दाहालले भने, ‘माओवादी आन्दोलनदेखि शान्ति प्रक्रिया र पार्टी एकताका विषयमा केपीजीले र मैले एउटा पुस्तक नलेखेसम्म पूर्ण हुँदैन ।’ हिजोको विचारसंघर्ष, राजनीतिक संघर्ष र पार्टी एकताको विषय पुस्तकले सुन्दर ढंगले समेटेको भन्दै दाहालले ठूलो अंश माओवादी र संघर्षसँग सम्बन्धित रहेकोे टिप्पणी गरे ।

अध्यक्ष दाहालले स्वर्गीय गिरिजाप्रसाद कोइरालाको आँटले शान्ति प्रक्रिया अगाडि बढेको स्मरण गरे । आफूले शान्ति प्रक्रियाका वेला र त्यसअघि केही त्रुटि गरेको स्वीकार गर्दै दाहालले भने, ‘गिरिजाप्रसादलाई नै राष्ट्रपति बनाउनुपर्ने थियो, त्यो त्रुटि भएकै हो ।’

उनले कम्युनिस्टसँगको एकता र शान्ति प्रक्रियाका वेला क्यान्टोनमेन्टमा सेना पठाउने निर्णय ठीक समयको ठीक निर्णय भएको बताए । संघर्षका वेला शान्ति प्रक्रियामा नगई सम्भव छैन भनेर पर्खिरहँदा दरबार हत्याकाण्ड र ज्ञानेन्द्रको कर्मले मौका दिएको उनले स्मरण गरे ।

कार्यक्रममा नेपाली कांग्रेसका नेता शेखर कोइरालाले शान्ति प्रक्रियाको केही भाग टुंग्याउन अझै बाँकी रहेको उल्लेख गरे । अहिले हामी कतै चुकिरहेका त छैनौँ भन्ने आभाष भइरहेको भन्दै कोइरालाले दुईतिहाइको सरकारले समेत सुशासन दिन नसकेको जिकिर गरे ।

उनले कर्मचारीले भन्दा पहिले मन्त्री र राजनीतिकर्मीले भ्रष्टाचार गर्दिन भनेर शपथ खान आग्रह गरे । टिप्पणीकार प्राध्यापक कृष्ण खनाल र परराष्ट्रविद् रमेशनाथ पाण्डेले पुस्तकले सार्वजनिक नभएका धेरै कुरा समेटेको भन्दै द्वन्द्व, रूपान्तरण र एकतालाई सुन्दर ढंगले प्रस्तुत गरेको उल्लेख गरे ।

प्रतिक्रिया