सगरमाथा चढ्न नक्कली अनुमति !

काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथा चढ्नका लागि ट्रेकिङ कम्पनीले नै नक्कली अनुमति पत्र बनाउने गरेको रहस्य खुलेको छ । सगरमाथा चढ्न आउने विदेशी पर्यटकसँग राजस्ववापतको रकम असल्नुका लागि ट्रेकिङ एजेन्सीले नक्कली अनुमति पत्र बनाउने गरेको खुलेको हो ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले सगरमाथा चढेको नक्कली प्रमाणपत्र बनाएर बिक्री गर्ने ३ जनालाई पक्राउ गरेको छ ।

काठमाडौंको धुम्बाराहीमा रहेको सेभेन समिट ट्रेक्स प्रालिका ३ जना कर्मचारीले सगरमाथा चढ्न आएका पर्वतारोहीलाई नक्कली प्रमाणपत्र बनाएर बिक्री गरेका हुन् । पक्राउ पर्नेमा सेभेन समिटमा लिगल डिपार्टमेन्ट हेडको रूपमा कार्यरत काठमाडौं सुकेधाराका २९ वर्षीय निभेश कार्की, लेखापालका रूपमा कार्यरत काठमाडौंको चन्डोल बस्ने ४१ वर्षीय विजयश्वर अर्याल र मार्केटिङ म्यानेजरको रूपमा कार्यरत संखुवासभाको मकालु गाउँपालिका–१ स्थायी घर भएकी ३० वर्षीय फुर्तेन्जी शेर्पा छन् ।

निभेश, फुर्तेन्जी र विजयश्वरले ३० चैत ०७४ मा सेभेन समिट ट्रेक्स प्रालिका तर्फबाट ‘१४ पिक इक्सपेरियन्स एभरेस्ट एक्सपेडिसन–२०१८’ नामक आरोहण दलको अनुमति पत्र बुझे । पर्यटन विभागले उक्त दलका नाममा जारी गरेको अनुमति पत्रमा १२ जनाको नाममा पर्वतारोहणको अनुमति प्रदान गरेको थियो ।

तर निभेश, फुर्तेन्जी र विजयश्वरले सक्कली अनुमति पत्र लुकाएर सोही पत्रको मिति र परमिट नम्बर राखी १ जना चिनियाँ र अर्का १ जना अस्ट्रेलियन नागरिकको नाम थपेर १४ जनाको नाममा नक्कली अनुमतिपत्र तयार पारे ।

सोही नक्कली पत्रको प्रतिलिपि सगरमाथा प्रदूषण नियन्त्रण समिति सोलुखुम्बुमा पेस गरे । त्यसपछि ‘१४ पिक इक्सपेरियन्स एभरेस्ट एक्स्पेडिसन–२०१८’ नामक आरोहण दलको सम्पर्क अधिकृतको रूपमा खटिएका कर्मचारीले पनि पर्यटन विभागबाट प्राप्त प्रमाणपत्रको प्रतिलिपि सगरमाथामा बुझाए ।

तर, सम्पर्क अधिकृतले बुझाएको प्रमाणपत्र सक्कली थियो । जसमा १२ जनाको मात्रै नाम थियो । एउटै मिति र एउटै परमिट नम्बर उल्लेख भएको पत्रमध्ये एउटामा १२ र अर्कोमा १४ जनाको नाम उल्लेख भएको भेटिएपछि समितिले अनुसन्धानका लागि सिआइबीलाई पत्राचार गरेको थियो ।

सिआइबीको अनुसन्धानबाट उनीहरूले सरकारलाई तिनुपर्ने राजस्व हिनामिना गर्ने उद्देश्यले २ जनाको नाम थप गरेर नक्कली अनुमतिपत्र बुझाएको तथ्य फेला प¥यो । ‘१४ पिक इक्सपेरियन्स एभरेस्ट एक्सपेडिसन–२०१८’ नामक आरोहण दलका लागि जारी भएको सक्कली अनुमतिपत्रमा ८ जना चिनियाँ, २ जना भारतीय, १ जना स्पेनी, १ जना बेलायती नागरिकको नाम उल्लेख थियो ।

तर, उनीहरूले १ जना चिनियाँ र अर्का १ जना अस्ट्रेलियन नागरिकको समेत नाम थपेर नक्कली अनुमतिपत्र तयार पारे । त्यसअघि निभेशले पर्यटन विभागबाट आरोहणपत्र लिनुभन्दा केही दिनअगाडि १४ जनाकै नाममा पर्यटन विभागमा अनलाइनबाट आवेदन दिएका थिए ।

तर उनीहरूले बीचमै आफ्नो योजना परिवर्तन गरे । १२ जनाको नाममा मात्र सक्कली प्रमाणपत्र निकाल्ने र २ जनाको नामपछि थप गरेर त्यसबापतको राजस्व २२ हजार अमेरिकी डलर बाँडेर खाने योजना तीनै जनाले बनाए ।

योजनाअनुसार निभेशले पर्यटन विभागबाट सक्कली छाप लगाएको लेटर प्याड लाएर सक्कलजस्तै परमिट बनाउने जिम्मा लिए । विजयश्वर अर्यालले लेखा मिलाउने जिम्मा लिए भने फुर्तेन्जी शेर्पाले ट्रेकिङको कार्यालयमा नक्कली परमिट राख्ने तथा चाहिएको ठाउँमा वितरण गर्ने जिम्मा लिइन् ।

उनीहरूले बाँड्ने भनेको २२ हजार अमेरिकी डलरमध्ये विजयश्वर अर्यालले ७ लाख ३५ हजार रूपैयाँ लिएको, फुर्तेन्जी शेर्पाले ७ हजार २ सय अमेरिकी डलर लिएको र बाँकी निभेश कार्कीले लिएको सिआइबीको अनुसन्धानबाट खुलेको छ । सिआइबीले उनीहरूविरुद्ध सरकारी छाप किर्ते र ठगी मुद्दामा थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया