अर्थबजार

एक्ली माहुते विमला

सौर्य अनलाइन २०७५ असोज १८ गते ८:५० मा प्रकाशित

भीमदत्तनगर । प्रायः घरायसी कामका साथै खेती किसानी गरेर दैनिकी चलाउने यहाँका थारू समुदायका महिला विस्तारै अध्ययनसँगै सरकारी सेवामा रुचि राख्न थालेका छन् ।

समाजमा महिलामाथि अनेकन विभेद अन्य प्रदेशको तुलनामा सुदूरपश्चिम प्रदेशमा व्याप्त रहेका बेला कञ्चनपुरको भीमदत्त नगरपालिका–१४ पलियाका २४ वर्षीया विमला चौधरी अब्बल महिलाका रुपमा देखिएकी छन् । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा बसोबास रहे पनि चौधरीको जङ्गल र वन्यजन्तुसितको सामिप्यता भने त्यति धेरै थिएन ।

गत वर्ष शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा ‘माहुते’ पदमा जागिर खाएपछि उनी भीमदत्त नगरपालिका–१३ स्थित हात्तीसारमा घरपालुवा हात्तीसित भेटिन्छन् ।

शुक्लाफाँटा निकुञ्जमा शारदाकली (हात्ती) को स्याहार गरिरहेकी विमलाको दैनिकी यहाँका अरू महिलाको भन्दा फरक छ । ‘बिहानै उठेर हात्तीको आँखा धुनेदेखि हात्तीको स्याहार गर्नु दैनिकी नै हो ।’ विमलाले रासससित भनिन्, ‘सुरुमा त अलि अप्ठयारो लाग्थ्यो ।

विस्तारै सामान्य हुँदै गयो ।’ हात्तीसँगै शुक्लाफाँटामा नियमित वन्यजन्तुको सुरक्षाको लागि गस्तीसमेत जाने गरी चौधरीको काम अन्य कुनै माहुत, फणित र पछुवाको भन्दा कम छैन । ‘सुरुमा त जंगलमा हात्तीसित जानै डराउँथें’ उनले भनिन्, ‘जागिर खाएलगत्तै हामीलाई दिइएको तालिमले जनावरसित घुलमिल हुनेदेखि जनावरले आक्रमण गर्न खोजेमा कसरी बच्न सकिन्छ भन्ने विषयमा धेरै कुरा सिकायो ।’ ।

हात्तीसितको निकटता बढ्दै गएको बताउँदै उनले जंगलमा वन्यजन्तुसितको सहकार्य सहज रहेको जानकारी दिइन् । ‘अब त गाउँ÷बस्तीभन्दा जंगल नै प्यारो लाग्छ’ उनले भनिन्, ‘यहाँको स्वच्छ हावापानीले मनलाई बेचैन हुन दिन्न ।’ विमलाले आफ्नो जागिरले परिवारमा समेत खुसियाली आएको बताइन् । ‘हाम्रो समुदायका महिला अझै पनि समाजमा खुल्न सकिरहेका छैनन् ।’

चौधरीले भनिन्, ‘हिम्मत गरेर जस्तोसुकै कठोर कामसमेत महिलाले गर्न सक्छन् ।’ उनले घरपालुवा जनावरको रेखदेख गर्ने आफू शुक्लाफाँटाको एक मात्रै महिला कर्मचारी रहेको बताइन् । ‘पहिले एकजना अर्को महिला पनि माहुते पदमै कार्यरत रहेको सुनेको थिएँ’ चौधरीले भनिन्, ‘पुरुषसरह नै हात्तीको स्याहारमा जुट्दा यहाँ आउने पर्यटक मलाई खुबै नियालेर हेर्छन् ।’ ‘अब त वन्यजन्तुको आनीबानीबारे पनि धेरै जानकारी पाइसकेँ’ उनले भनिन्, ‘वन्यजन्तु भनेका हाम्रा अमूल्य सम्पत्ति हुन् ।’

१३ वर्षदेखि शुक्लाफाँटा निकुञ्जमै हात्तीको चराउन ‘फणित’ पदमा कार्यरत भीमदत्त नगरपालिकाका आनन्द माझी माहुते विमलाको हिम्मत देखेर चकित छन् । ‘विमलाले थोरै समयमा कुरा सिकिसक्नुभयो ।’ माझीले भने, ‘उहाँ (विमला) महिला भए पनि हिम्मत कुनै बलवान् पुरुषको भन्दा कम छैन ।’

शुक्लाफाँटा निकुञ्जका विभिन्न पोष्टमा हात्तीसित बनिसकेका माझी पनि वन्यजन्तुका बारेमा धेरै जानकार छन् । ‘निकुञ्जको कुन क्षेत्रमा कस्ताखालका वन्यजन्तुको बासस्थान छ धेरै थाहा पाइसक्यौँ ।’ उनले भने, ‘गस्तीमा जाने धेरै साथी बाघ, गँैडा मज्जाले हेर्दै रमाउन पाइरहेका हुन्छन् ।’

जंगलको बसाइ सुखद रहेको बताउँदै उनले चोरी शिकारी नियन्त्रणका लागि अप्ठयारो ठाउँसम्म हात्तीको सहारामा नियमित गस्ती गर्ने गरेको बताए । हात्तीमा गस्ती जाँदा ‘फणित’ले नेतृत्व गर्छ । उनले भने, ‘हात्तीले खाने आहारलाई कुची भन्छौँ ।’

कुची अर्थात् (घाँस, धान, गुड र नून) बाट बनेको हात्तीको आहारा बनाउने काम ‘पछुवा’ पदमा कार्यरत कर्मचारीको हुन्छ । ‘सुरुमा त हात्ती नजिक जानै डर लाग्थ्यो’ माझीले भने, ‘अहिले त हात्ती नजिकको साथी भाको छ ।’ हात्ती हाक्ने, चराउनेदेखि स्याहार गर्नसम्म फणित, पछुवा र माहुत गरी तीन पदमा शुक्लाफाँटामा २१ जना कर्मचारी कार्यरत छन् ।

शुक्लाफाँटामा शुक्लाफाँट, पिपरीया र मालुमेला गरी तीनवटा हात्तीसार रहेका छन् । यहाँ अहिले अपकल, शिद्धप्रसाद, सूर्तीकली, लबप्रसाद, नारायणप्रसाद, शारदाकली र रतनकली नामकका हात्ती रहेका छन् ।

‘शुक्लाफाँटामै १० वर्ष पहिले जन्मेको नारायणप्रसाद अहिले गस्ती जान थालिसक्यो’ आनन्द माझीले भने, ‘नारायणप्रसाद अलि बढी आक्रोशित हुन्छ ।’ शुक्लाफाँटामा माहुतदेखि फणितसम्म यहाँका आदिवासी जनजाति समुदायका युवा बढी कार्यरत छन् ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका निमित्त संरक्षण अधिकृत गोपाल घिमिरेले माहुत पदमा शुक्लाफाँटामा हाल विमला एक मात्र महिला माहुते कार्यरत रहेको बताए । निमित्त संरक्षण अधिकृत घिमिरेका अनुसार दुई वर्षअघि अर्को महिलाले जागिर छाडेपछि विमला एक्ली महिला माहुते रहेकी छिन् ।

प्रतिक्रिया