मादल बनाएरै ३० लाख बढी आम्दानी

सल्यान । मादल नेपालको मौलिक बाजा हो । मादलको तालले नचाच्ने मान्छेलाई पनि नाचुँनाचुँ बनाइदिन्छ । यसको तालले गीतसंगीतलाई जीवन्त राख्छ । मादलविनाको संगीतमा नेपालीपन महसुस हुँदैन ।

मादलका धेरै धुन भए पनि विशेषतः झ्याउरे, समला, संगिनी र मारुनी गरी चार धुन बढी प्रयोगमा आउँछन् । तर, पछिल्लो समयमा आएर वाद्यवादनका आधुनिक साधन र स्रोतामा बढेको आधुनिक संगीतको मोहले मौलिक बाजा मादलको धुन कम सुनिन थालेको छ ।

आधुनिक प्रविधि र बाजाका कारण मौलिक बाजाहरू लोप हुँदै गइरहेको यहाँका स्थानीयको भनाइ रहेको छ । हाम्रै गाउँबस्तीमा गुञ्जने मौलिक लोकबाजालाई आधुनिक बाजाहरूले विस्थापित गरिरहेका छन् । मौलिक संस्कृति र बाजाहरू लोप हुन थालेपछि सल्यानमा मादल, डम्फु, ढोल, तबला, दमाहा आदिलाई संरक्षण गर्न उद्योग नै खुलेको छ । अहिले सल्यानमा रैथाने संस्कृति जोगाउने प्रयासको थालनी भएको छ ।

सल्यानको श्रीनगरमा रहेको सल्यानी मादल उद्योगले अहिले दैनिक २० वटाभन्दा बढी नयाँ मादल उत्पादन गरिरहेको छ । एक वर्षअगाडि स्थापना भएको यो मादल उद्योगबाट हालसम्म चार सय बढी नयाँ मादल उत्पादन भइसकेको मादल उद्योग सञ्चालक शंकर नेपालीले बताए ।

उत्पादन गरिएका मादलमध्ये तीन सय बढी मादल जिल्ला बाहिर निर्यात भएको उनले बताए । राप्ती अञ्चलमा नै आप्mनो उद्योग पहिलो रहेको बताउँदै उनले मादल बनाउन आवश्यक पर्ने घार, छाला लगायतका सामान काठमाडौंबाट ल्याउनुपर्ने बाध्यता रहेको बताए । ‘मौलिक टप्पानाच, लहरेनाच र सोरठी नाच नाच्ने प्रचलन हराउँदै गइरहेका वेला कला र संस्कृतिको संरक्षण गर्न मादल उद्योग खोलिएको हो,’ उनले भने ।

चाडपर्व नजिकिँदै गर्दा कालिगढलाई समेत मादल बनाउन भ्याइनभ्याइ भएको छ । यस उद्योगमा नयाँ मादल बनाउन, पुरानो मादलमा गोठी लगाउन र पुराना मादलको मर्मत गर्न चार जना कालीगढले रोजगारीसमेत पाएका छन् ।

हरेक दिन एक जनाले पाँचदेखि ६ वटासम्म मादल बनाउने गरेको उद्योगमा कार्यरत कालीगड छविलाल नेपालीले बताए । उनले यस उद्योगबाट खाना खाएको खर्च कटाएर मासिक २० हजार तलब पाउने गरेको बताए । ‘आर्थिक अवस्था कमजोर थियो, अरूको काम गरेर दैनिकी चलाउँदै आएको थिएँ, तर मादल उद्योगमा काम गर्न सुरु गरेदेखि खुसी भएको छु परिवारको आवश्यकता पूरा गर्न पनि सजिलो भएको छ’, उनले भने ।

सल्यानी मादलको माग आमुखैरेनी, मनकामना लगायतका बाहिरी ठाउँबाट बढी हुने गरेको छ । तर जनशक्तिको अभाव र थोरै लगानी हुँदा मागअनुसार उत्पादन गर्न कठिन भएको उद्योग सञ्चालक बताउँछन् । यद्यपि, अब नयाँ पुस्तालाई पनि मादल उत्पादनको सीप सिकाउने र यसलाई विस्तार गर्ने योजना रहेको उनको भनाइ छ ।

यस उद्योगले वार्षिक ३० लाख बढीको आम्दानी गर्दै आएको छ । यसको व्यावसायिक उन्नतिका लागि स्थानीय सरकार र कला संस्कृतिको संरक्षणमा जुटेका संघसंस्थाहरूले सहयोग नगरेको सञ्चालकको दुःखेसो छ ।

गीतसंगीतमा ताल बाजाको रूपमा मादल बढी नै प्रयोग गरिन्छ । लोक गीत, आधुनिक, लोक पप, लोक भजनमा समेत यो बाजा बजाइन्छ । विद्युतीय बाजा ड्रम सेटको प्रयोग बढ्न थालेपछि नेपाली लोक बाजाका रूपमा ख्याति पाएको मादल बजाउनेको अभाव भएको छ ।

सल्यान, रोल्पा, रुकुम, जाजरकोट, दाङ, सुर्खेत, जुम्ला, डोल्पा, मुगुलगायत जिल्लामा मादलको तालमा नाच्ने क्रम बुढा मरेसँगै लोप हुने अवस्थामा रहेको यहाँका बुढापाका बताउँछन् । यसको संरक्षणतर्फ सम्बन्धित निकायको ध्यान जान जरुरी देखिन्छ ।

प्रतिक्रिया