एक रूख काट्ने ५ विरूवा राेप्ने

काठमाडौं । २३ वर्षअघि सुरु भएको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणले अब गति लिने भएको छ । इ

आइए वातावरणीय मूल्यांकन रिपोर्ट स्वीकृत भइसकेकोले निर्माण सुचारु हुने सरकारका अधिकारीले बताएका छन् । यो अवधिमा विभिन्न कारण देखाएर विमानस्थल निर्माणले गति लिन पाएको थिएन ।

यो विमानस्थल बनाउनका लागि ६० वटा प्यारामिटर मापदण्ड छन् । यसका लागि साढे ८ हजार हेक्टर क्षेत्रफलको विमानस्थलमा साढे ४ लाख रूख काट्नुपर्ने बाध्यता छ । एउटा रूख काट्ने र विरुवा रोप्ने काम सँगै गर्ने संस्कृति पर्यटन तथा उड्डयन मन्त्रालयले जनाएको छ । यो विमानस्थल बनाउन ०५२ सालदेखि सुरु भएको हो । त्यसपछि ०६६ मा विस्तृत अध्ययन प्रतिवेदन तयार गरिएको थियो ।

पर्यटनमन्त्री रवीन्द्र अधिकारीले प्रतिवेदन ०७५ जेठ १० गते स्वीकृति भइसकेको जानकारी दिएका छन् । उनले अब कुनै हालतमा विमानस्थल निर्माणको काम नरोकिने र रूख कटान, विरुवा रोप्ने काम सँगै अघि बढाउने उल्लेख गरे ।

तीन वर्षअघि इआइएको लागि स्वीकृत भइसकेको र कन्सल्टेन्ट हायर गरेर चार किल्ला तोकिएको उनले जानकारी दिए । जसमा ४७ प्रतिशत जमिनको मुआब्जा वितरण भइसकेको छ । उनले पछिल्लो समय निजगढ विमानस्थल निर्माणको लागि २४ लाख रूख काटिने भन्ने विषय वाइयात हल्ला मात्रै भएको बताए ।

यो विमानस्थल निर्माणका लागि सरकारका अन्य निकायले पनि गम्भीर चासो देखाएका छन् । संसद्को राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकले महत्वपूर्ण विकासका आयोजनालाई सम्बोधन गरी विमानस्थल निर्माणको काम द्रुत गतिमा अगाडि बढाउन निर्देशन दिएको समितिकी सभापति दिलकुमारी रावल ‘पार्वती’ले जानकारी दिइन् ।

‘यो अन्तर्राष्ट्रिय विमानस्थल छिटो बनाउन निर्देशन दिएका छौँ, उनले सौर्यसँग कुरा गर्दै भनिन्, ‘कुनै बाधा व्यवधानको प्रर्वाह नगरी काम अघि बढाउनुस ।’ समितिले दशैं लगत्तै स्थलगत अनुगमन गर्ने उनले जानकारी गराइन् । निर्देशनका क्रममा आयोजनाका अधिकारीलगायत सबै विमानस्थल निर्माणमा सकारात्मक देखिएकाले अब निर्माण नरोकिने उनले विश्वास व्यक्त गरिन् ।

वन मन्त्रालय र सामुदायिक वनलगायत स्थानीयसँग समन्वय गरेर सरकारले विमानस्थल निर्माणलाई अघि बढाउनुपर्ने उनको जोड छ । यो विमानस्थलको हाल चार किल्ला तोक्ने, जग्गा अधिग्रहणको मुआब्जा वितरण तथा बस्ती स्थानान्तरणको काम भइरहेको छ ।

आयोजनाको वातावरणीय प्रभावमा मूल्यांकन (इआइए) स्वीकृत भई क्षेत्र खाली गर्ने काम भइरहेको आयोजना प्रमुख ओम शर्माले जानकारी दिए । उनले विमानस्थलको ११० बिघा जग्गाको मुआब्जा वितरणको काम अघि बढाइएको बताए ।

अन्य विमानस्थलको निर्माण द्रुतगतिमा

संसद्को राष्ट्रिय सरोकार तथा समन्वय समितिको मंगलबार बसेको बैठकले समेत गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम एक वर्षभित्र सम्पन्न गर्न सरकारलाई सचेत गराएको छ ।

बैठकले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्यलाई सुचारु गराउन जग्गाको मुआब्जासम्बन्धी व्यवस्था तत्काल गर्न पनि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई अनुरोध गर्ने निर्णय गरेको सभापति रावलले जानकारी दिइन् ।

सोमबारको बैठकमा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले जनचासोको विषयलाई सम्बोधन गरेर निजगढ, गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको जग्गा अधिग्रहण र मुआब्जा वितरण अविलम्ब सम्पन्न गरी निर्धारित समयसीमाभित्रै सम्पन्न गर्न समितिले आग्रह गरेको सभापति रावलले जानकारी गराइन् ।

यस्तै, निर्माणाधीन भैरहवा विमानस्थलको हाल भौतिकतर्फ ५५ प्रतिशत प्रगति भएको आयोजनाका प्रमुख प्रदीप अधिकारीले बताए ।

विमानस्थलको एक साताभित्र धावनमार्ग कालोपत्र सुरु गरिने, टर्मिनलको छानो हाल्ने बाँकी काम सकेपछि ६ महिनाभित्र उडान परीक्षण हुने उनले जानकारी गराए ।

यो विमानस्थल सन् २०१९ को जुलाई १६ भित्र सञ्चालनमा ल्याउने तयारी छ । आयोजनाका लागि करिब ५०० बिघा जग्गा अधिग्रहण गर्नुपर्ने र त्यसका लागि रु १० अर्ब खर्च भइसकेको र बाँकी अधिग्रहणका लागि ११ अर्ब चाहिने आयोजना प्रमुख अधिकारीले जनाए । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको १७ प्रतिशत भौतिक प्रगति भएको छ ।

बैठकमा मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटा र नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले दीर्घकालीन महत्वको निजगढ विमानस्थललाई कमभन्दा कम पर्यावरणीय क्षति हुनेगरी काम अघि बढाइने बताए ।

बैठकमा अधिकांश सदस्यले राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थल निर्माणलाई प्रभावकारी रूपमा अघि बढाउन आग्रह गर्दै चासोको विषय बनेको निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई न्यून पर्यावरणीय क्षति हुने गरी निर्माण अघि बढाउन आग्रह गरे ।

दूरगामी महत्वको अन्तर्राष्ट्रिय चासोपूर्ण निजगढ विमानस्थल देशकै समृद्धिसँग जोडिएको विषय भएकाले यससम्बन्धमा उठेका जिज्ञासाबारे आवश्यक अध्ययन र सरोकारवालासँग छलफल गरेर परियोजना अघि बढाउन पनि उनिहरूले सुझाव दिए ।

यसरी सुझाब दिइनेमा सुरेन्द्रराज पाण्डे, खिमलाल भट्टराई, कोमल वली, खेमराज नेपाली, रमेशप्रसाद यादव रामप्रित पासवान, प्रकाश पन्थ, रामकुमार कुँवर, धनकुमारी खतिवडालगायत थिए ।

बैठकमा पर्यटन मन्त्रालयअन्तर्गत पाँचवटा राष्ट्रिय गौरवका आयोजना क्रमशः भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल, निजगढ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल, पशुपति क्षेत्र विकास कोष र लुम्बिनी विकास कोषको प्रगतिबारे सम्बन्धित आयोजनाका प्रमुखले सञ्चालित आयोजनाको प्रगतिबारे जानकारी गराएका थिए ।

प्रतिक्रिया