वैदेशिक रोजगारको सूचना अनलाइनमा

काठमाडौं । सरकारले वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली पूर्णरूपमा सञ्चालनमा ल्याएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीबारे जानकारी दिने अनलाइन प्रणाली सोमबारबाट पूर्ण रूपमा सञ्चालनमा ल्याएको हो ।

सो प्रणालीले विदेशी भूमिमा कार्यरत नेपाली कामदारबारे यकिन तथ्यांक संकलन गर्न सघाउ पुर्याउने मन्त्रालयले जनाएको छ । श्रम कार्यलय ताहाचलमा एक कार्यक्रमबीच मन्त्रालयका सह सचिव कृष्ण ज्ञवालीले सो प्रणालीको औपचारिक उद्घाटन गरे ।

सो प्रणालीमा वैदेशिक रोजगारीसँग सम्बन्धित कार्यमा बहुनिकायको संलग्नता र आबद्धताको व्यवस्था गरिएको छ । राजदूतावासले मागपत्र जाँचबुझका सम्बन्धमा निर्वाह गर्नुपर्ने भूमिकालाई सहज तुल्याउने गरी सो प्रणालीमा राजदूतावास उप–प्रणाली थप गरिनुका साथै अध्यागमन विभाग, पासपोर्ट विभाग र कन्सुलर सेवा विभागबाट आवश्यकता अनुसारको विवरण प्राप्त गर्न सकिने गरी अद्यावधिक गरिएको मन्त्रालयले जनाएको छ ।

यो प्रणाली सञ्चालनपश्चात् वैदेशिक रोजगार विभाग, वैदेशिक रोजगार व्यवसायी, अभिमुखीकरण तालिम प्रदायक संस्था, स्वास्थ्य परीक्षण गर्ने संस्था, बैंक तथा बिमा कम्पनी एवं सीपमूलक तालिम प्रदायक संस्थाहरूको कार्यप्रणाली प्रभावकारी हुनुका साथै वैदेशिक रोजगारसँग सम्बन्धित सूचनाको सहज पहुँच पुग्ने अपेक्षा सरकारको छ ।

यस प्रणालीमार्फत गन्तव्य देशका रोजगारदाताको वास्तविक र पूर्ण विवरण प्रविष्टि हुने भएकोले तोकिए बमोजिमको सेवा सुविधा नदिने रोजगारदातालाई कालोसूचीमा राख्नसमेत सहज हुने मन्त्रालयले जनाएको छ । अध्यागमन विभागको अनलाइन प्रणालीसँग यो प्रणालीलाई जोडेर वैदेशिक रोजगारबाट फर्किने कामदारको विवरण समेत सहज रूपमा प्राप्त गर्न सकिने व्यवस्था मिलाईएको मन्त्रालयले जनाएको छ ।

यसबाट विदेशी भूमिमा कति नेपालीहरू काम गरिरहेका छन् भन्ने विवरण समेत सहज रूपमा प्राप्त गर्न सकिनेछ । श्रम स्वीकृति प्राप्त कामदार नेपालमै रहेरनरहेको विवरण प्राप्त गर्न, र कामदारको सम्पूर्ण विवरण सहितको प्रतिवेदन तयार पार्नमा समेत यो प्रणालीबाट सहयोग पुग्ने विश्वास सरकारको छ ।

श्रम स्वीकृति प्रदान गर्ने प्रक्रियामा हुन सक्ने लापरबाही र नक्कली कागजात बनाई ठगी गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न राहदानी विभागको प्रणालीसँग पनि यो प्रणालीलाई जोडिएको मन्त्रालयले जनाएको छ । राहदानी विभागको प्रणालीमा रहेको विवरण यो प्रणालीले स्वतः प्राप्त गर्ने हुँदा श्रम स्वीकृति जारी गर्दा कामदारको विवरण फरक नपर्ने, पासपोर्ट नम्बरलाई आधार बनाएर श्रम स्वीकृति प्रदान गर्दा श्रम स्वीकृतिको प्रकृया छरिटो, सहज हुने र श्रम स्वीकृति प्रदान गर्ने कार्यलाई त्रुटिरहित बनाउनसमेत यसबाट सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

कन्सुलर सेवा विभागसँग यो प्रणालीको आबद्धताले दुई वटा विभागहरूबीच हुने सूचनाको आदान–प्रदानद्वारा कार्यक्षमतामा वृद्धि हुने, काममा दोहोरोपना नआउने, कामदारहरूको उद्धार र राहत वितरणमा समेत सहजता आउनुका साथै राहत तथा उद्धारका चरणहरू बारेमा शीघ्र र यथार्थपरक जानकारी प्राप्त गर्न पनि सहज हुने मन्त्रालयले जनाएको छ ।

यस प्रणालीको अद्यावधिक सँगसँगै सरोकारवालालाई वैदेशिक रोजगारीसँग सम्बन्धित सूचनाहरू सहज तरिकाले प्रदान गर्ने उद्देश्यका साथ ‘वैदेशिक रोजगारी’ नामको मोबाइल एप्लिकेसनसमेत सञ्चालनमा ल्याएको छ ।

यस प्रणालीको पूर्ण कार्यान्वयनपश्चात आप्रवासी कामदारहरूले अनलाइनबाट नै श्रम स्वीकृतिको फाराम भर्न र पेस गर्न सक्ने, श्रम स्वीकृतिका चरणहरूको प्रगतिस्थिति अनलाइनबाट नै थाहा पाउन सक्ने, आफ्नो श्रम स्वीकृति भए नभएको कुरा तथा पूर्व स्वीकृतिको विवरण मोबाइल, एसएमएस, वेबसाइट र एपबाटै जानकारी लिन सक्ने तथा विभागमा दर्ता भएका उजुरीहरूको अवस्थाका बारेमा पनि जानकारी प्राप्त गर्न सकिने व्यवस्था मिलाइएको छ ।

यस प्रणालीको प्रयोगले समग्र वैदेशिक रोजगारको व्यवस्थापनमा सकारात्मक प्रभाव पार्ने विश्वास यस मन्त्रालयले लिएको छ । यस प्रणालीका कारण सम्पूर्ण सरोकारवालाहरू (म्यानपावर एजेन्सी, अभिमुखीकरण तालिम प्रदायक संस्था, स्वास्थ्य परीक्षण गर्ने संस्था, बैंक, बिमा कम्पनी) हरूले वैदेशिक रोजगार सूचना प्रणालीमार्फत अनलाइन सेवा लिन तथा दिन सक्नेछन् भने तिनै संस्था र सरोकारवालाहरूको अनुगमन कार्यमा पनि यस प्रणालीले सहजीकरण गर्नेछ ।

वैदेशिक रोजगारमा गएका कामदारहरूको फोटो र बायोमेट्रिक सहितको विस्तृत विवरण रहने यस प्रणालीमा वैदेशिक रोजगारसम्बन्धी सम्पूर्ण गुनासा र उजुरीहरूको पनि विद्युतीय अभिलेख रहनेछ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित श्रम कक्षमा श्रम स्टिकर र बायोमेट्रिक विवरण रुजु गर्न एवं श्रम स्वीकृति प्रदान गर्ने कार्यमा संलग्न सम्पूर्ण कर्मचारीहरूको कार्यसम्पादनको विवरण विद्युतीय रूपमा राख्नसमेत यस प्रणालीले मद्दत पु¥याउने विश्वास मन्त्रालयले लिएको छ ।

प्रतिक्रिया