कर्णालीको विकासमा चीनको चासो : मुख्यमन्त्री शाही

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आफ्नो चीन भ्रमण प्रदेश विकासका लागि कोसेढुंगा भएको बताएका छन् । चीनबाट फर्केपछि मुख्यमन्त्री शाहीले चीन सरकार कर्णालीको विकासमा निकै इच्छुक रहेको र यो भ्रमणले सहयोगको वातावरण निर्माण गरेको बताए ।

चीनको भ्रमण गरी स्वदेश फर्किएका उनले शनिबार सुर्खेत विमानस्थलमा पत्रकारसँग कुरा गर्दै संघीय सरकारमार्फत चीनलाई कर्णालीको विकासमा आउन वातावरण बनाएको उल्लेख गरे ।

‘नेपालको संविधानअनुसार प्रदेश सरकारले अर्को देशसँग प्रत्यक्ष रूपमा कुनै पनि सहमति–सम्झौता गर्न मिल्दैन,’ उनले भने, ‘तर हामीले भ्रमणको क्रममा संघीय सरकारमार्फत चीन सरकारलाई कर्णालीमा आउने प्रशस्त वातावरण बनाएका छौँ ।’ भ्रमणको क्रममा चिनियाँ पक्षसँग हिल्सा–जमुनाह फास्ट ट्र्याक निर्माणको लागि प्रारम्भिक समझदारी भएको जानकारी दिए ।

चीन सरकार मातहतको चाइना हाइवे कम्पनीसँग भएको उक्त समझदारीमा ‘फिजिबिलिटी’ अध्ययन र प्रारम्भिक सर्भे गर्ने उल्लेख छ । ‘अध्ययनपछि कुरा मिल्यो भने संघीय सरकार र चाइना हाइवे कम्पनीबीच सम्झौता भई काम सुरु हुन्छ,’ उनले भने, ‘हाम्रो भ्रमणमा हिल्सा–जमुनाह फास्ट ट्र्याक महत्वपूर्ण उपलब्धिको रूपमा रह्यो ।’

हिल्सा–जमुनाहा द्रुतमार्ग कर्णाली विकास र समृद्धिको मेरुदण्ड भएको उल्लेख गर्दै उनले यसलाई प्रदेश सरकारले पहिलो प्राथमिकतामा राखेको समेत बताए ।

मुख्यमन्त्री शाहीले भ्रमणका क्रममा कर्णाली एयरलाइन्स स्थापना, पर्यटन पूूर्वाधारको विकास, जडीबुटी प्रशोधन, जलविद्युत् विकास, आन्तरिक तथा प्रादेशिक विमानस्थल निर्माणलगायतका महत्वपूर्ण विषयमा त्यहाँका प्रान्तीय सरकार तथा लगानीकर्तासँग छलफल भएको जानकारी पनि दिए ।

मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशमा विमानस्थल निर्माणको लागि पनि चिनियाँ प्रतिनिधिसँग छलफल भएको बताए । सुर्खेत विमानस्थल स्तरोन्नति र मदानेचौरमा प्रस्तावित क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको लागि सहयोगको प्रतिबद्धता व्यक्त भएको मुख्यमन्त्री शाहीको भनाइ छ ।

प्रदेश सरकारले ‘कर्णाली एयर’ नाममा आफ्नै एयरलाइन्स सञ्चालन गर्ने सोच बनाएको र उक्त योजनाको लागि चीन सरकारसँग ऋणबारे छलफल भएको पनि शाहीले बताए । ‘कर्णालीमा आन्तरिक उडान र अन्तरप्रदेशीय उडानको लागि कम्तीमा दुई वटा विमान खरिद गर्ने योजना बनाएका छौँ,’ उनले भने, ‘यो प्रक्रियामा हामीले चीन सरकारसँग ऋण सहयोगको अपेक्षा गरेका छौँ, प्रतिक्रिया सकारात्मक आएको छ ।’

कर्णालीमा लगानी गर्नको लागि प्रदेश सरकारले घोषणा गरेका ट्याक्स फ्री (कर मिनाह) योजनाबारे पनि चीन सरकारलाई जानकारी गराएको मुख्यमन्त्री शाहीले बताए । यसले चिनियाँ लगानीकर्तालाई भौगोलिक रूपमा विकट कर्णाली प्रदेशमा लगानी गर्न उत्साहित गर्ने उनको भनाइ छ ।

‘कर्णालीमा लगानी गर्ने थुप्रै सम्भावनाका क्षेत्र छन्, ती क्षेत्रबारे हामीले चिनियाँ सरकारका प्रतिनिधिलाई जानकारी गरायौँ,’ उनले भने, ‘चीनसँग मात्र सीमा जोडिएकोले पनि हाम्रो लागि लगानी भित्र्याउन सहज छ ।’ सिचुवान प्रान्तका गभर्नर यिन लीको निमन्त्रणमा मुख्यमन्त्री शाही तीन सदस्यीय टोलीसहित ३ असोजमा चीन गएका थिए । टोलीमा प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला र सांसद धर्मराज रेग्मी सहभागी थिए ।

प्रतिक्रिया