वाइडबडी खरिदमा लेखाको चासो

काठमाडौं । नेपाल वायु सेवा निगमको वाइडबडी विमान खरिद प्रकरणमा अनियमितता भएको हुन सक्ने आशंकामा संसदीय समितिले अध्ययन गर्ने भएको छ । दुईवटा वाइडबडी ‘मकालु’ र ‘अन्नपूर्ण’ खरिद गर्दा अनियमितता भएको हुन सक्ने आशंकामा प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले अध्ययन गर्ने भएको हो ।

सिंहदरबारमा बिहीबार बसेको समितिको बैठकमा सांसदहरूले वाइडबडी खरिदमा अनियमितता भएको भन्ने विषयमा सम्बन्धित अधिकारीसँग आवश्यक छलफल गर्न सुझाब दिएका थिए ।

उनीहरूले महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनको बेरुजु सम्बन्धमा अध्ययन गरी असुलउपर गर्नुपर्ने रकम असुल गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुपर्ने बताएका थिए । महालेखा परीक्षकको कार्यालयले समेत वाइडबडी खरिद अनियमितता सम्बन्धमा प्रतिवेदन तयार गरेको छ ।

समितिको शुक्रबार बस्ने बैठकमा वाइडबडी खरिद प्रकरण र अन्य बेरुजुका बारेमा महालेखा परीक्षकसँग छलफल गर्ने निर्णय भएको समिति सभापति भरतकुमार शाहले जानकारी दिए । बैठकमा समिति सदस्यहरू हृदयेश त्रिपाठी, विरोध खतिवडा, धर्मशिला चापागाईं, राजेन्द्रकुमार केसी, प्रेमबहादुर आले लगायतले वाइडबडी विमान खरिद अनियमितता, बेरुजु फस्र्योट, द्रुतमार्ग निर्माणलगायत विषयमा चासो व्यक्त गरेका थिए ।

प्रतिक्रिया