अग्रिम टिकट बुकिङ खुला

काठमाडौं । दसैँमा उपत्यकाबाट बाहिरिने यात्रुहरूको चापलाई मध्यनजर गर्दै यातायात व्यवसायीले मंगलबारदेखि अग्रिम टिकट बुकिङ खुला गरेका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सोमबार बसेको बैठकले मंगलबार बिहान ९ बजेदेखि टिकट बिक्री गर्ने निर्णय गरेका हुन् ।

काठमाडौंको नयाँ बसपार्क, पुरानो बसपार्क, कलंकी, सुन्धारा, गौशाला, कोटेश्वरलगायत १० स्थानमा रहेका टिकट काउन्टरबाट अग्रिम बुकिङ गर्न सकिने यातायात व्यवसायीहरूले जानकारी दिएका छन् ।

यातायात व्यवस्था विभागको निर्देशनअनुसार कम्पनीमा दर्ता भएका यातायात प्रालिले ५ असोजदेखि नै अग्रिम टिकट बुकिङ खुलाए पनि समितिअन्तर्गतका टिकट काउन्टरले भने खुलाएका थिएनन् ।

विभागले ५ असोजदेखि खुल्ला गर्ने भनेको अग्रिम टिकट बुकिङ पेट्रोलियम पदार्थमा मुल्य बढेपछि थप माग राख्दै आन्दोलनमा उत्रिएका थिए । आन्दोलनमा उत्रिएका व्यवसायीसँग यातायात मन्त्रालयले चार बँुदे सहमति गर्दै १० प्रतिशत भाडा बढाएपछि अग्रिम बुकिङ खुलाउन सहमत भएका हुन् ।

व्यवसायीसँगै भएको सहमतिअनुसार सरकारले सार्वजनिक यातायातको नयाँ भाडादर सार्वजनिक पनि गरिसकेको छ । जसअनुसार काठमाडौँबाट काकडभिट्टा १ हजार १ सय ७२, जनकपुर ७ सय ३६, धनगढी १ हजार २ सय २१ रूपैयाँ, धरान १ हजार एकचालिस रूपैयाँ, हेटाँैडा ४ सय ५३ रूपयाँ, नेपालगञ्ज १ हजार २५, पोखरा ४ सय २८, विराटनगर १ हजार ४३, महेन्द्रनगर १३ सय ३२, वीरगञ्ज ५ सय ४०, सिन्धुली ७ सय ३५, सिराहा ८ सय, सुर्खेत १२ सय ११, अत्तरिया डडेलधुरा १५ सय ५७, निर्धारण गरिएको छ ।

यातायात महासंघले विभागको पत्र पाएसँगै मंगलबारदेखि टिकट खोल्ने निर्णय गरेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिएका छन् । महासचिव सिटौलाले भने, ‘हाम्रो आन्तरिक छलफलले भोलि (मंगलबार)बाट अग्रिम टिकट खोल्ने निर्णय गरेकाले मंगलबार बिहानबाटै दसैंको टिकट खुल्ने छ ।’

यात्रुको सहजतालाई ध्यानमा राख्दै एकै ठाउँमा धेरै यात्रुको लाइनले सास्ती नहोस भन्नका लागि यस्ता टिकट काउन्टरहरू सञ्चालनमा ल्याउने गरिएको विभागका निर्देशक तथा प्रवक्ता गोकर्ण उपाध्यायले जानकारी दिए । यस्तै, विभागले नाडाको सहकार्यमा काठमाडौंका विभिन्न १४ स्थानमा हेल्पडेस्क पनि सञ्चालनमा ल्याउने भएको छ । यसैबीच, रोक्का रहेको बैंक खाता सरकारले नखोलिदिएपछि दुर्घटना भएमा उपचार र क्षतिपूर्ति नदिने घोषणा गरेका छन् ।

प्रतिक्रिया