अरुण उपत्यकामा योगमाया आयुर्वेद विश्वविद्यालय खोल्न जोड

नेपालमा मात्र नभई विश्वमै महिला जागरणकी प्रेरणाको स्रोत मानिने योगमाया न्यौपानेको नाममा योगमाया आयुर्वेद विश्वविद्यालय अरुण उपत्यकामा स्थापना गर्नुपर्ने भन्दै पुनः संखुवासभाका सरोकारवालाहरूले जोड दिएका छन् ।

सदरमुकाम खाँदबारीमा भएको एक छलफल कार्यक्रममा वक्ताहरूले अरुण उपत्यकामा जन्मी ज्ञानको खोजी गर्ने, राजनीतिक तथा सामाजिक बेथितिविरुद्ध विद्रोह गर्ने र अरुण उपत्यकामा नै आफ्ना भक्तहरूका साथ सामूहिक जलसमाधि लिएकी योगमायाको नाममा खुल्ने विश्वविद्यालय अरुण उपत्यकामा नै स्थापित हुनुपर्ने विचार व्यक्त गरे ।

को हुन योगमाया ?
योगमाया भन्ने बित्तिकै नेपालको पहिलो समाज सुधारक महिलाको रूपमा चिनिन्छ । भोजपुर जिल्लाको साविक नेपालेडाँडा गाविस हालको षडानन्द नगरपालिका–१ मा जन्मिएकी योगमाया न्यौपाने बास्तवमा नै नेपालको मात्र नभएर विश्वभरिका महिलाहरूको प्रेरणाको स्रोत पनि हुन् भन्दै वक्ताहरूले योगमायाको चर्चा गरेका थिए ।

योगमायाले आफूसँगै १९९८ साल २१ असार शनिबार हरिशयनी एकादशीका दिन षडानन्द नगरपालिका–१ मझुवावेसीबाट ६८ जना अनुयायीलाई सँगै साथमा लिएर जलसमाधी गरेको चर्चा गर्दै यही क्षेत्रमा उनको सम्मान गर्नका लागि पनि विश्वविद्यालय स्थापना गर्नुपर्ने बताए।

नेपालको पहिलो समाज सुधारकको रूपमा चिनिएको योगमाया न्यौपानेको अहिले विभिन्न सञ्चार माध्यम तथा सामाजिक क्षेत्रमा चर्चा भइरहेको छ । यसका साथै योगमायाको नाममा प्रतिष्ठान तथा विभिन्न शक्तिपीठहरू स्थापना गर्ने काम हुनुका साथै उनको सम्मानका लागि योगमायाको नाममा नेपाल सरकारले हुलाक टिकटसमेत जारी गरेको छ ।

योगमाया एक समाज सुधारक मात्र नभएर शिक्षाका लागि समेत प्रेरणाको खानी हुन् । उनले महिला अधिकार तथा महिला शिक्षाको बारेमा आवाज उठाउँदा उनलाई तत्कालीन सरकारले केही समय नजरबन्दमा समेत राखेको स्मरण गर्दै कार्यक्रमका वक्ताहरूले समाजमा देखिएको असमानतालाई अन्त्य गर्नका लागि उनी सदैव क्रियाशील भइरहेकी बताएका थिए ।

योगमाया आयुर्वेदिक विश्वविद्यालय योगमायाको जन्म तथा तपस्यास्थलमा खोल्नुपर्ने आवाज पनि अहिले यस क्षेत्रका बासिन्दाहरू उठाइरहेका छन् । वास्तवमा भन्ने हो भने योगमाया आयुर्वेद विश्वविद्यालय सही ठाउँमा सही समयमा खोल्न आवश्यक रहेको छ । त्यस्तो सही क्षेत्र भनेको अरुण उपत्यका नै भएको सरोकारवालाहरूले बताएका छन् ।

योगमाया विश्वविद्यालय किन अरुण उपत्यकाकामा ?
कार्यक्रममा सहभागीहरूले अरुण उपत्यकाका जिल्लाहरू भोजपुर र संखुवासभामा जडीबुटी प्रशस्त पाइने, हाल यातायातको सुविधा, विमानस्थल तथा सडक यातायातको सुविधा हुनाका साथै मध्यपहाडी राजमार्गबाटसमेत जोडिएको हुनाले पनि विश्वविद्यालय यो क्षेत्रमा नै हुनुपर्नेमा जोड दिएका छन् ।

कार्यक्रममा वक्ताहरूले करिब तीन घण्टाको अवधिमा दुई छिमेकी मुलुकहरू चीन र भारतसमेत पुग्न सकिने छोटो राजमार्ग भएकोले पनि यो क्षेत्रमा नै हुनुपर्नेमा जोड दिए । उनीहरूले तुम्लिङटार बिमानस्थल बाह्रै महिना सञ्चालन हुने र जोगबनी किमाथाङ्का सडकमार्फत भारत र चीन पुग्न सकिने बताए । अन्य स्थानमा यस्तो सम्भावना नरहेको उनीहरूको भनाइ छ ।

संखुवासभामा नै किन ?
कार्यक्रममा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख डा. अमूल्य दाहालले योगमाया विश्वविद्यालय स्थापनाको लागि नेपालको सबै ठाउँभन्दा संखुवासभा नै उपयुक्त स्थान भएको कार्यपत्र प्रस्तुत गरे । उनले संखुवासभामा हिमाली पहाडी र तराई सबै भेगको हावापानी पाइने पनि दाबी गरे । डा. दाहालले संखुवासभामा आयुर्वेद औषधिमा प्रयोग हुने १ सय ५४ प्रकारका रुख विरुवा पाइने बताए ।

संखुवासभामा सबैभन्दा बढी प्रेसर र डाइबेटिजका बिरामी भएको उल्लेख गर्दै उनले प्रेसरको औषधिमा प्रयोग हुने ३८ र डाइबेटिजमा प्रयोग हुने ४० प्रकारका औषधिजन्य रुख विरुवा÷जडीबुटी जिल्लामा पाइने बताए। डा. दहालले संखुवासभामा समुन्द्री सतहदेखि तीन सय मिटरभन्दा माथि र आठ हजार मिटरसम्मको उचाइ यहि जिल्लामा भएको बताए । यस्तो ठाउँ नेपालको कुनै पनि जिल्ला नभएको जिकिर गरे ।

संखुवासभामा धेरै वन भएको नेपालको जिल्लाको सूचीमा छैटौँमा रहेको र यहाँको करिब ४० प्रतिशत भूभाग वन जंगलले ओगटेको भएकोले पनि अनुसन्धानका लागि पनि सजिलो हुने तथ्यांक प्रस्तुत गरे । यिनै तथ्यांकलाई आधार मान्दा यही जिल्ला आयुर्वेद विश्वविद्यालयको लागि उपयुक्त स्थान भएको उनको पनि दाबी छ ।

अन्य ठाउँमा पनि चर्चा
विदुषी योगमायाको सम्मान र उनको प्रतिष्ठाको लागि नेपाल सरकारले योगमाया आयुर्वेद विश्वविद्यालय स्थापना गर्ने पक्का भइसकेको छ । तर, कहाँ कुन ठाउँमा खोल्ने भन्ने विषयमा बहस हुन थालेको पनि वक्ताहरूले बताएका छन् ।

वक्ताहरूले भोजपुर, संखुवासभा, चतरा, दाङ, र कर्णालीका जिल्लाहरूले पनि आफ्नो आफ्नो जिल्लामा योगमाया आयुर्वेद विश्वविद्यालय स्थापना गर्न दबाबमुलक समिति बनाएर लागिपरेको बताए ।

तर, अन्य स्थानभन्दा संखुवासभा नै उपयुक्त भएको उनीहरूले दाबी गर्दै अन्य ठाउँमा भए आफूहरूलाई स्वीकार्य नुहुने चेतावनी पनि दिए । अरुण उपत्यका जडीबुटी प्रशस्त पाइने क्षेत्र र योगमायाको कर्मभूमि भएकोले पनि यो क्षेत्र नै उपयुक्त भएको दाबी गरे ।

अरुण उपत्यकामा विश्वविद्यालय स्थापनार्थ भएको पहल
योगमाया आयुर्वेद विश्वविद्यालय अरुण उपत्यकामा नै हुनुपर्छ भनेर आजभोलि धेरै चर्चा परिचर्चा हुन थालेका छन् । जनप्रतिनिधिलगायत जिल्लाका सरोकारवालाले पटकपटक छलफल र बैठकसमेत हुन थालेको छ । भेलामा एक कार्यपत्र प्रस्तुत गर्दै डा. मातृकाप्रसाद तिम्सिनाले ०३८ सालमा नारदमणि थुलुङले अरुण उपत्यकामा एक विश्वविद्यालय स्थापनाको लागि सरकारसँग माग गरेको बताए ।

डा. तिम्सिनाका अनुसार ०६६ सालमा किरात विश्वविद्यालय स्थापनाको लागि गोपाल किराती, डा. गोपाल चिन्तन, गणेश अधिकारी, सुधन राई र डा. मातृका तिम्सनाबाट अभियान सुरु भए पनि पछि अभियानले उचाइ लिन नसकेको पनि बताए । तत्पश्चात् किरात विश्वविद्यालयको विषयान्तर भएको पनि उनले बताए ।

डा. तिम्सिनाका अनुसार ०७२ सालमा तत्कालीन मुख्यसचिव लीलामणि पौडेललाई अरुण उपत्यकामा नै एक विश्वविद्यालय स्थापनाको लागि मागपत्र पेस गरिएको थियो । ०७३ सालमा केपी शर्मा ओली प्रधानमन्त्री र गिरिराजमणि पोख्रेल शिक्षा मन्त्री भएको समयमा योगमाया विश्वविद्यालयको उठान भएको थियो ।

०७३ साल २८ माघमा हिमालय किरण क्याम्पस खाँदबारीको वार्षिकोत्सवमा प्रमुख अतिथिसमेत रहेका नेपाल सरकारका तत्कालीन मुख्यसचिव सोमलाल सुवेदी र प्रधानमन्त्री कार्यालयका तत्कालीन सचिव दिनेश थपलियालाई यो विश्वविद्यालय अरुण उपत्यकामा नै हुनुपर्छ भन्ने मागपत्र पेस गरिएको थियो ।

०७३ पुस १७ मा तत्कालीन शिक्षा मन्त्री डिआर पौडेललाई योगमाया विश्वविद्यालय अरुण उपत्यकामा नै हुनुपर्छ भनी औपचारिक माग पत्र पेस गरिएको र त्यही वेला हिमालय किरण क्याम्पसमा व्यवस्थापन समितिका तत्कालीन सदस्य भविन्द्र अधिकारीलाई अभियन्ताको रूपमा औपचारिक रूपमा अघि सारिएको डा. तिम्सिनाले बताए ।

उनका अनुसार सोही वर्षको माघ महिनामा अभियन्ता भविन्द्र अधिकारीको नेतृत्वमा माननीयद्वय राजेन्द्र गौतम र पूर्णप्रसाद राई सहितले राष्ट्रपतिलाई एक माग पत्र पेस गरेको र ८ चैतमा तत्कालीन मन्त्री दिलनाथ गिरीसँग अरुण उपत्यकामा योगमाया आयुर्वेद विश्वविद्यालय स्थापनार्थ पहलको लागि अन्तरक्रिया कार्यक्रमसमेत सम्पन्न भएको थियो ।

यस्तै ०७४ असार १२ मा शिक्षा मन्त्रालयमा हिमालय किरण क्याम्पसको दुई सय रोपनी जग्गा विश्वविद्यालयलाई दिने भनी पेस गरिएको र ०७५ असारमा अभियन्ताहरूले योगमाया विश्वविद्यालय अरुण उपत्यकामा नै हुनुपर्छ भन्दै शिक्षा मन्त्रि गिरीराजमणी पोख्रेलसँग मागसमेत गरिएको डा. तिम्सिनाले बताए ।

विश्वविद्यालय स्थापनाको लागि नेपाल सरकारको भूमिका

सदरमुकाम खाँदबारीमा भएको छलफल कार्यक्रममा शिक्षा मन्त्रालयका सहसचिव सूर्य गौतमले योगमाया विश्वविद्यालयको स्थापनाका लागि हाल ऐनकानुन निमार्ण भइरहेको बताए । गौतमका अनुसार योगमाया विश्वविद्यालय स्थापनाका लागि आव ०७३÷७४ मा विदुषी योगमाया विश्वविद्यालय स्थापनार्थ एक करोड विनियोजन भए पनि जग्गाको कारण सो बजेट फ्रिज भएको थियो ।

त्यस्तै आव ०७४÷७५ एक करोड विनियोजन गरिएको थियो । गौतमका अनुसार हिमालय किरण क्याम्पसले आफ्नो सम्पूर्ण जग्गा दिने घोषणा सहमति गरेसँगै आव ०७५÷७६ का लागि १० करोड बजेट विनियोजन गरिएको छ । गौतमले पनि यो विश्वविद्यालय अरुण उपत्यकामा नै स्थापना गर्नका लागि पहल भइरहेको बताए ।

योगमाया विश्वविद्यालय स्थापनाका लागि कानुन निर्माण समितिका सदस्य भविन्द्र अधिकारीले अरुण उपत्यकामा यो विश्वविद्यालय स्थापनाका लागि प्रचारप्रसार र आन्तरिक एकता मजबुद हुनुपर्नेमा जोड दिँदै कानुन निर्माण गर्नका लागि मन्त्रिपरिषद्ले सैद्धान्तिक स्वीकृति दिइसकेको बताए । उनका अनुसार अब केही दिनमा नै संसद्मा पेस भएको विधेयक पास हुँदै छ ।

प्रतिक्रिया