कसरी गर्ने राष्ट्रकविको सम्मान ?

७ असोज १९७६ सालमा जन्मनुभएका राष्ट्रकवि घिमिरे आजदेखि सय वर्ष पुग्नुभयो । यो उमेरमा पनि उहाँले साहित्य सिर्जनालाई जारी राख्नुभएको छ । यो उमेरमा पनि साहित्य सिर्जना गरिरहने व्यक्तित्व विश्वमै दुर्लभ छन् । उहाँको हातबाट आशीर्वाद लिन पुरस्कार तथा सम्मान ग्रहण गर्न लालयित हुनेहरूको संख्या मुलुकमा ठूलो छ ।

लेखिका डंगोल प्रदेश–३ नेपाली कांग्रेसकी सांसद हुन्

राष्ट्रकवि माधवप्रसाद घिमिरे आजदेखि ९९ वर्ष पूरा गरी १ सय वर्षमा प्रवेश गर्नुभएको छ । ३ अंकको आयु विश्वमा थोरै मानिसले मात्रै प्राप्त गरेका छन् ।

राष्ट्रकवि घिमिरेले भाषा साहित्यको माध्यमबाट मुलुकलाई पुर्याउनुभएको योगदान त छँदैछ उमेरका आधारमा पनि उहाँ मुलुकको सर्वोच्च सम्मानित व्यक्तित्व बन्नुभएको छ।

मस्र्यायाङ्दी वाङ्मय प्रतिष्ठानले यो वर्षभरि जन्म शताब्दी मनाउन दम्पत्तिसहित रथारोहण र राष्ट्रियस्तरको अभिनन्दनलगायतका कार्यक्रम तय गरेको छ ।

असोज २१ गते काठमाडौंमा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा हुने कार्यक्रमका लागि नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति प्राडा वासुदेव त्रिपाठीको संयोजकत्वमा समिति गठन गरिएको छ।

प्रतिष्ठानका अध्यक्ष डा. मुकुन्द पथिकका अनुसार राष्ट्रकविको जन्म शताब्दीका अवसरमा देशभरका विद्यालय र कलेजमा कविता प्रतियोगिता गरी पुरस्कृत गरी साथै उहाँको जन्मस्थान पुस्तुन र लमजुङको सदरमुकाम बेँसीसहरमा सांस्कृतिक कार्यक्रमसहित सम्मान गरिनेछ।

राष्ट्रकवि घिमिरेको नाममा हुलाक टिकट प्रकाशन, अभिनन्दन ग्रन्थ प्रकाशन, मातृभाषाबारे विचारगोष्ठी, कविता महोत्सव, वृत्तचित्र निर्माणका योजना पनि प्रतिष्ठानले अघि सारेको छ।

राष्ट्रकवि घिमिरे प्रमुख संरक्षक रहनुभएको प्रतिष्ठानले लमजुङ हिमालचुलीलाई राष्ट्रकविको नाममा नामकरण गर्न, काठमाडौं वा लमजुङमा उहाँको प्रतिमा स्थापना गर्न पहल गरिरहेको छ।

पृथ्वीराजमार्गको डुम्रेदेखि मनाङसम्मको सडकलाई राष्ट्रकविको नाममा नामाकरण गर्न पनि प्रतिष्ठानले नेपाल सरकारसँग माग गरेको छ ।

संस्थाले घिमिरेको जन्मस्थान लमजुङको भीरपुस्तुन बाहुनडाँडामा राष्ट्रियस्तरको संग्रहालय निर्माणको योजना पनि अघि सारेको छ।

कवि शिरोमणि लेखनाथ पौड्यालको जन्मस्थान कास्कीको अर्चलेबाट आदिकवि भानुभक्तको जन्मस्थान तनहुँ चुँदी हुँदै राष्ट्रकविको जन्मस्थान पुस्तुन बाहुनडाँडासम्मलाई साहित्यिक पर्यटनका रूपमा विकास गराउने घोषणा गरेको छ । उहाँ व्यक्ति मात्रै नभएर मलुकको धरोहर हुनुहुन्छ।

उहाँजस्तै धरोहर शताब्दी पुरुष सत्यमोहन जोशीलाई केही महिनाअघि ललितपुर महानगरपालिकाले सम्मानस्वरूप एकजना सुरक्षागार्डसहित सवारीसाधन उपलब्ध गराएको छ। मुलुकको सांस्कृतिक पक्षबारे गहन अनुसन्धान गरी विश्वमा चिनाउन सफल हुनुभएका जोशीलाई एक वर्षअघि त्रिमूर्ति निकेतनले शताब्दी पुरुष घोषणा गरेको थियो ।

पहिलो कुरा त, उहाँले मुलुकका लागि पुर्याएको योगदान अविस्मरणीय छ । दोस्रो कुरा, यति लामो आयु थोरै नेपालीले मात्रै प्राप्त गरेका छन्। उहाँ १९७७ वैशाखमा जन्मनु भएको हो ।

योगदान र उमेर दुवै हिसाबले अत्यन्त आदरणीय व्यक्तित्व संस्कृतिविद् जोशीलाई सम्मान प्रदान गर्दै ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले भन्नुभएको थियो, ‘उहाँ मुलुकको रत्न त हुँदै हो, हाम्रो महानगरपालिकाको पहिचान पनि हुनुहुन्छ ।’

ठिक समयमा गरिएकोे उचित निर्णयका कारण ललितपुर महानगरपालिकाका मेयर महर्जन धन्यवादको पात्र हुनुहुन्छ ।खासै, आर्थिक व्ययभार नपर्ने र जनस्तरमा अत्यन्त राम्रो सन्देश जाने कार्य गर्ने मामिलामा ललितपुर महानगरपालिकाले गतिलो उदाहरण पेस गरेको छ । यसको अनुशरण अरू पालिकाहरूले पनि गर्दै जानुपर्छ।

जन्मस्थान लमजुङको पुस्तुन भए पनि उहाँको कर्मस्थान काठमाडौं महानगरपालिका वडा नं २६ लैनचौर हो । उहाँले जीवनका १०० वर्षमध्ये ९ वर्ष लमजुङमा ९१ वर्ष काठमाडौंमा बिताउनुभएको छ। मुलुकको साहित्य क्षेत्रमा राष्ट्रकवि घिमिरले पुर्याउनुभएको योगदानबारे यो छोटो लेखमा चर्चा गरिरहनुपर्ने आवश्यकता छैन ।

मुलुकवासी आफैँ जानकार छन् । राष्ट्रका लागि उहाँले पुर्याउनुभएको योगदानको कदर गर्दै केही महिनाअघि नेपाली सेनाले मानार्थ सहायक रथिको पदले विभूषित गरेको छ । हुन पनि मुलुकको अखण्डताका लागि उहाँको राष्ट्रनिर्माता खण्डकाव्यले पुर्याएको र अब पुर्याइरहने योगदान सिंगो नेपाली सेनाले पुर्याउन सक्ने योगदानभन्दा कम छैन ।

राष्ट्रनिर्माता खण्डकाव्यजस्ता कृति त उहाँका कति छन् कति । १९७६ असोजमा जन्मनुभएका राष्ट्रकवि घिमिरे आज असोज ७ गतेदेखि सय वर्ष पुग्नुभयो । यो उमेरमा पनि उहाँले साहित्य सिर्जनालाई जारी राख्नुभएको छ । यो उमेरमा पनि साहित्य सिर्जना गरिरहने व्यक्तित्व विश्वमै दुर्लभ छन् ।

उहाँको हातबाट आशीर्वाद लिन पुरस्कार तथा सम्मान ग्रहण गर्न लालयित हुनेहरूको संख्या मुलुकमा ठूलो छ ।सार्वजनिक समारोहमा उपस्थितिका लागि अनुरोध गर्न जानेहरूको भीड उहाँको निवासमा सधैँ लाग्ने गर्छ । यस्तो अनुरोधलाई सकेसम्म स्वीकार गर्ने स्वभाव उहाँको छ ।

प्रकृति तथा जनजीवनसँगको घुलमिलमा रुचाउने उहाँको स्वभाव छ । अक्सर साहित्यकारहरूको यो स्वभाव हुन्छ । यो उमेरको व्यक्तित्वलाई राज्यको निगरानीविना विभिन्न कार्यक्रम तथा समारोहमा पठाउनु कत्तिको उचित होला ? तर, रोक्न पनि हुँदैन । उहाँका लागि सवारीको व्यवस्था राज्यले नै मिलाउनुपर्छ ।

सत्यमोहन जोशीलाई सुरक्षागार्डसहितको सवारीसाधन उपलब्ध गराएर ललितपुर महानगरपालिकाले स्तुत्य काम गरेको छ, तर यो उमेरको व्यक्तित्वका लागि स्वास्थ्यकर्मीको साथ पनि त्यत्तिकै अपरिहार्य छ । काठमाडौं महानगरपालिकाको ध्यान राष्ट्रकवि घिमिरेप्रति किन गइरहेको छैन ? जिज्ञासासँगै सबैले घच्घच्याउनुपर्ने वेला आएको छ ।

उहाँका लागि सुरक्षागार्डभन्दा पनि स्वास्थ्यकर्मी तथा आधारभूत स्वास्थ्य सुविधासहितको सवारीसाधनको व्यवस्था गर्न कत्ति पनि ढिलाइ गरिनुहुन्न । मुलुकका ७ सय ५३ पालिकामध्ये सबैभन्दा धेरै साधन र स्रोत भएको काठमाडौं महानगरपालिका हो । यो काम काठमाडौं महानगरपालिकाका लागि खासै ठूलो होइन ।

यसैगरी, उहाँको हातबाट पुरस्कार प्रदान, सम्मान गर्ने साना तथा मझौलास्तरका कार्यक्रम अर्थात् सय जनाभन्दा कम सहभागी हुने कार्यक्रम उहाँकै निवासमा गर्ने व्यवस्था मिलाउन पनि सकिन्छ । लैनचौर क्षेत्रकै उहाँको घर आसपासको कुनै स्थानमा मझौलास्तरको सभाहल निर्माण गर्न सकिन्छ ताकि उहाँको हातबाट सम्मान तथा पुरस्कार ग्रहण गर्न चाहनेले त्यही हलको प्रयोग गरुन्।

उहाँको शेषपछि उक्त हललाई उहाँकै नाममा साहित्यिक संस्था स्थापना गरेर प्रयोगमा ल्याउन सकिन्छ । डेढ दशकअघि नै राज्यले राष्ट्रकविका रूपमा उहाँलाई सम्मान गरेको छ । अरू देशको प्राक्टिस हेर्ने हो भने यो अत्यन्त ठूलो सम्मान हो । तर, सम्मानअनुसारको दायित्व राज्यले लिएको देखिएन। सम्मान प्रदान गर्नु, तर त्यसअनुसार आवश्यक सुविधा प्रदान नगर्नु भनेको भारी बोकाउनुजस्तै हो।

तीन महिनाअघि नेपाली सेनाले उहाँलाई मानार्थ सहायक रथिको उपाधि दिँदा सकारात्मक र नकारात्मक दुवै खालका प्रतिक्रिया आए । राष्ट्रकविको उपाधिद्वारा विभूषित व्यक्तित्वलाई सहायक रथिको उपाधि प्रदान गर्नु मानमर्दन पो हो कि ? भनेर केहीले जिज्ञासा राखेपछि नेपाली सेनाले विलियम शेक्सपियर र रवीन्द्रनाथ टैगोरलाई पनि सम्बन्धित देशको राष्ट्रिय सेनाद्वारा सहायक रथि पदबाट विभूषित गराएको उदाहरण स्मरण गरायो ।

राष्ट्रिय सेनाद्वारा अति विशिष्ट व्यक्तित्वका लागि गरिने यो सम्मान विश्वव्यापी परम्परा हो । त्यतिवेला नेपाली सेनाले मानार्थ सहायक रथि मात्रै होइन, त्यही अनुसारको सुविधा पनि प्रदान गर्ने घोषणा गरेको समाचार मिडियामा आएको थियो । तर, यस पंक्तिकार उहाँको घरमा पुग्दा त्यो सेवासुविधा पाएको देखिएन ।

यसबारे उहाँलाई सोध्ने कुरा पनि भएन । नेपाली सेनाले नै उहाँलाई आधारभूत स्वास्थ्य सुविधासहितको सवारीसाधन उपलव्ध गरायो भने सबैका लागि स्तुत्य काम हुनेछ । सय वर्ष नाघेकालाई पेन्सन सुविधा दोब्बर गर्ने व्यवस्था भारतीय सेनामा छ । नेपाली सेनाले पनि यो परम्परा सुरु गर्न सक्यो भने राम्रै हुन्छ ।

आखिर सय वर्ष नाघेकाहरूको संख्या कति नै पो हुन्छ र ? उहाँजस्तो व्यक्तित्वको विषयमा कलम चलाउन पाउनु नै मेरा लागि गर्वको कुरा हो ।

प्रतिक्रिया