गजलले नेपाली साहित्यमा पछिल्लो समय सशक्त प्रभाव जमाउँदै आएको छ ।
विशेषगरी युवा गजलकारको भूमिका निकै प्रभावशाली र शक्तिशाली बन्दै अगाडि बढिरहेको देखिन्छ । गजललाई छाट्ने, निखार्ने, तिखार्ने तथा मलजल गर्ने कार्यमा समेत युवापुस्ताको सक्रिय निकै प्रभावशाली बन्दै गएको पाइन्छ।
हुन त नेपाली गजलको ऐतिहासिकता माध्यमिककालीन साहित्यकार मोतीराम भट्टदेखि सुरु भएको मानिन्छ । त्यस यताका उत्तारचढाव पार गर्दै गजलले नेपाली साहित्यमा प्रभावशाली उपस्थिति जनाइरहेको छ ।
अझ पछिल्लो पुस्ताले गजल साहित्यलाई निकै गतिशीलता प्रदान गरेको पाइन्छ । यसै मेसोमा गजलकार ज्ञानु विद्रोही–३८, नेपाली गजलमा दुई दशकदेखि निरन्तर कलम चलाउँदै र यसको पैरवी गर्दै आएका स्रष्टा हुन् ।
विद्रोहीले समसामयिक विषयवस्तु र नेपाली समाजका विविध सकार र नकार पाटालाई कलात्मक रूपमा गजलमार्फत आवाज दिँदै आएका छन् । समयचेतलाई टपक्कै टिपेर शब्दमा प्राण भर्दै आएका विद्रोहीको ‘त्रास आफन्तको’ निकै शक्तिशाली गजल संग्रहको रूपमा प्रकाशित भएको छ।
वर्तमान परिस्थितिलाई सुन्दर ढंगले संयोजन गर्दै सामाजिक, सांस्कृतिक, राजनीतिक विकृति विसंगतिलाई व्यंग्य गरी लेखिएका तिखा र चोटिला गजल संग्रहमा संग्रहित छन्। साथै, उनका गजलमा पर्यावरण र मानवीय संवेगलाई समेत निकै तार्किक ढंगले उधिनिएको पाइन्छ ।
त्यस्तै, राष्ट्रियता, सीमा मिचिएको विषय, नेपाली बीचका पीडा र संवेदनालाई गजलकार विद्रोहीले निकै सटिक रूपमा प्रस्तुत गरेको पाइन्छ । गजल लेखनको अभियान छेड्दै हिँड्ने एक अभियन्ताका रूपमा समेत परिचित विद्रोहीका गजलमा समकालीन चेत र समाजप्रतिको उत्तरदायित्वलाई कर्तव्यका रूपमा अगाडि सारिएको छ ।
त्यस्तै, मायाप्रेम, विरह, निराशालगायतका गजलमा उनले मानवीय संवेदनालाई आकर्षक रूपमा केलाउने जमर्को गरेको देखिन्छ ।देशभित्रको चरम अस्थिरता, विसंगति केलाइएको संग्रहको रूपमा यो कृति आएको छ । वास्तवमा यो संग्रहमा मानव जातिले भोगेको र अनुभव गरेको समयलाई चित्रण गरिएको छ ।
विश्वमा देखिएको मानवताको संकट र त्यसले पारेको प्रभावबाट चिन्तित हुँदै विद्रोहीले युग परिवर्तनका पक्षमा आवाज उठाएका छन् । समाजको आमूल परिवर्तनविना मानव जातिमा समानता ल्याउन कठिन पर्ने उनको ठम्याइ रहेको छ र ती विषयलाई उनले कृतिमार्फत उठान गरेका छन् ।
गजल यात्रामा ५० को दशकपछि ओर्लिएका विद्रोहीले नेपाली माटोको सुगन्धलाई शाब्दिक तथा काव्यिक रूपमा रचनामार्फत प्रस्तुत गर्दै आएका छन् । उनका गजलमा बगेको भाव, संवेदना, समयचेत, युगबोध, परिवर्तनगामी परिघटना, मानवीयता लगायतका विषय निकै घनिभूत रूपमा आएका छन् ।
अनाममण्डलीले प्रकाशन गरेको यस संग्रहमार्फत गजलकारले नेपाली साहित्यमा ओजिलो कृति दिएका छन् । ५० को दशकपछि नेपाली साहित्यमा गजलको माहोललाई विस्तारित मात्रै होइन यसका सैद्धान्तिक तथा व्यावहारिक पक्षको उत्खनन् गर्न संस्थागत रूपमा अगाडि आएको संस्थाको रूपमा अनाममण्डलीलाई चिनिन्छ ।
प्रतिक्रिया