ढोरपाटन, गीताञ्जली र एपिएफ सेमिफाइनलमा

काठमाडौं । ढोरपाटन, गीताञ्जली र एपिएफ पाँचाैँ ढोरपाटन एम–१५० राष्ट्रिय पुरुष भलिबल प्रतियोगितमा सेमिफाइनल प्रवेश गरेका छन् ।

बिहीबारको खेलमा जित हात पार्दै ढोरपाटन क्लब, सशस्त्रको एपिएफ र गीताञ्जली कलेज सेमिफाइनलमा पुगेका हुन् ।

शुक्रबार बाग्लुङको गढिमालिका र गण्डकी प्रदेशको विजेता सेमिफाइनलमा पुगेपछि समीकरण पूरा हुनेछ ।

बिहीबार ढोरपाटनले थ्री–स्टार एकेडेमीलाई ३–२ को सेटमा पराजित गरेको थियो । पहिलो सेट २५–२२ ले जितेको ढोरपाटनले दोस्रो ३२–३० ले आफ्नो पक्षमा पारेको थियो ।

त्यसपछिको २ सेट गुमाएको ढोरपाटनले अन्तिम सेट आफ्नो पक्षमा पार्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । थ्री–स्टारले तेस्रो र चौथो सेट २५–१८ र २५–१५ ले जितेपछि अन्तिम सेटको नतिजा कुर्नुपरेको थियो । तर, अन्तिम सेट ढोरपाटनले थ्री–स्टारलाई १५–१३ ले स्तब्ध बनाएका थियो ।

बिहीबार नै एपिएफले पाल्पालाई ३–० को सेटमा पराजित गरेको थियो । एपिएफले पहिलो सेट २५–२०, दोस्रो र तेस्रो सेट क्रमशः २५–१५ र २५–१६ ले जितेको थियो । बिहीबारको अन्तिम खेलमा गीताञ्जली कलेजले बुढानीलकण्ठलाई ३–० कै सेटमा पराजित गरेको थियो ।

प्रतिस्पर्धात्मक पहिलो सेट २८–२६ ले जितेको गीताञ्जलीले दोस्रो र तेस्रो सेट २५–१४ र २५–२३ ले आफ्नो पक्षमा पारेको थियो ।  यति ब्रुअरी प्रालिको उत्पादन इनर्जी ड्रिंक्स एम–१५० ले मुख्य प्रायोजन गरेको प्रतियोगिताको विजेताले १ लाख रुपैयाँ प्राप्त गर्नेछ ।

दोस्रोले ६० हजार र तेस्रोले ५० हजार प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताको उत्कृष्ट खेलाडीले १ थान मोटरसाइकल, व्यक्तिगत विधाअन्तर्गत स्पाइकर, ब्लकर, क्विक डिफेन्डर, सर्भर लिफ्टर र प्रशिक्षकलाई ५ हजार प्रदान गरिनेछ ।

प्रतियोगितामा १ जना दर्शकलाई स्कुटर, ८ जना दर्शकले इजी टिसर्ट र अन्य ८ जना दर्शकले डायमण्ड मोबाइल पाउनेछन् ।

प्रतिक्रिया