छाउपडी गोठमुक्त घोषणामै सिमित

बाजुरा । बाजुरा जिल्लाको बुढीनन्दा नगरपालिका–४ घोडाकोटमा १४ वर्षीया किशोरी हामी त्यहाँ पुग्दा छुट्टै गोठमा थिइन् । कक्षा ७ मा अध्ययनरत १४ वर्षीया किशोरी मनिषा धामी घरदेखिको छुट्टै गोठमा, रहरले होइन महिनावारी भएर बाध्यताबस बसेकी रहिछन् ।

यसअघि नै पिसविन बाजुरा नामक गैरसरकारी संस्था र वडा कार्यालयले भव्य कार्यक्रममार्फत छाउपडी गोठमुक्त घोषणा गरिएको घोडाकोटमा अहिले टोलटोलमा छाउपडी बस्ने गोठ बनाइएका छन् र छाउपडी भएका महिला तथा किशोरीले सोही गोठमा पाँच दिन बिताउनुपर्छ । देवता रिसाउने डरले घरदेखि टाढाको गोठमा बस्न बाध्य महिलाले वेला–वेला कठिनाइ भोग्नुपर्छ ।

टाढाको गोठमा बस्दा साथी नभएका वेला डर लाग्नुका साथै धेरै प्रकारका समस्या आउने धामीले बताए । देवता रिसाउने डरले आफूहरू छुट्टै गोठमा बस्न बाध्य भएका बताउने उनीहरूले महिलाले छाउपडीका नाममा धेरै दुःख बेहोर्नुपरेको बताएका छन् ।

बाजुराका अधिकांश ग्रामीण भेगमा अझैसम्म पनि कायम रहेको छाउपडी प्रथाको प्रत्यक्ष रूपमा सिकार त्यहाँका महिला हुन बाध्य भएका छन् । महिनावारी नियमित चक्र भए पनि त्यही महिनावारीलाई समाजले अछुत मान्ने र टाढाको गोठमा राख्ने गरेकै कारण महिला हिंसाको समेत शिकार हुनुपरेको छ ।

महिनावारी भएका वेला पोषिला खानेकुरा दिएर सुरक्षित र स्वस्थ राख्नुभन्दा हाम्रो समाजमा त्यसलाई अछुतका रूपमा छुट्टै राख्ने र उपयुक्त पोषण सहितको खानेकुरा खान नदिँदा समस्या भइरहेको कतिपय महिलाअधिकार कर्मीको भनाइ छ ।

महिनावारीलाई सामान्य प्राकृतिक घटना मान्य कतिपयले भने आफ्ना परिवारका महिला सदस्यलाई घर नजिकैको कोठामा राख्न थाले पनि गाउँघरमा जनचेतनाको कमीले महिलाले दुःख पाइरहेका बताइने गरिएको छ ।

उसो त बाजुरामा छाउपडी प्रथा न्यूनीकरण गर्ने बहानामा विभिन्न सरकारी तथा गैरसरकारी संस्थाले करोडौँको बजेट स्वाहा गरेको तर, छाउपडी नाममा डलरको खेती गरेको ‘सिन्को भाँची दुई नगरेको’ स्थानीयको आरोप छ ।

प्रतिक्रिया