‘विषाक्त मदिरा’को छानबिन सुरु, घटना दाेस्राेपटक दाेहाेरियाे

नेपालीको शव यथाशक्य नेपाल ल्याउने व्यवस्था मिलाउन तथा बिरामी अवस्थामा रहेका नेपालीको उपचारमा कुनै कसर बाँकी नराख्न मन्त्री विष्टको निर्देशन

काठमाडौं । मलेसियामा विषाक्त मदिरा सेवनले ६ जना नेपालीसहित २१ जना आप्रवासीको मृत्यु भएपछि छानबिन सुरु भएको छ । मलेसिया सरकारले एक उच्चस्तरीय छानबिन समिति गठन गरेर घटनाको छानबिन सुरु गरेको मलेसियाका लागि नेपालका कार्यवाहक राजदूत कुमारराज खरेलले जानकारी दिए ।

सेलांगोर राज्य प्रहरीद्वारा गठित समितिले शंकास्पद विभिन्न क्षेत्रबाट करिब १४ सय बोतल मदिरा बरामद गरेको छ । शुक्रबारसम्म छानबिन र पोस्टमार्टमको प्रारम्भिक प्रतिवेदन सार्वजनिक हुने प्रहरीले जानकारी पनि गराएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले मलेसिया घटनामा मृत्यु हुनेको शव नेपाल ल्याउन र उपचाररत बिरामीहरूको सम्बन्धमा त्यहाँको सरकारसँग संवाद गरेका छन् ।

उनले मृत्यु भएकाको शव नेपाल ल्याउने व्यवस्था मिलाउन नेपाली दूतावासलाई निर्देशनसमेत दिएका छन् । शव यथाशक्य नेपाल ल्याउने व्यवस्था मिलाउन तथा बिरामी अवस्थामा रहेका नेपालीको उपचारमा कुनै कसर बाँकी नराख्न मन्त्री विष्टले निर्देशन दिएका हुन् ।

मदिरा सेवनबाट धादिङ बसेरीका भीमबहादुर घले, रुपन्देही मसिनाका रामकुमार यादव, डढेलधुरा अमरगढीका विशाल बुढाथोकी, सुनसरी पश्चिम कुसाहाका सञ्जय उराव, इलाम सिद्धिथुम्काका बलबहादुर कुलुङ र सर्लाहीका आइते घलेको मृत्यु भएको थियो ।

दूतावासका अनुसार बिरामी हुनेमा संखुवासभाका लुंगनाथ मगर, सिन्धुलीका जितबहादुर माझी, बर्दियाका प्रवीन थारू, सुनसरीका दुर्गाबहादुर राई, रोल्पाका भागिमान डाँगी, बाराका राधेश्याम बैठा, रुपन्देहीका रामचन्द्र लोध, गोरखाका लोकबहादुर बराम, सर्लाहीका रिखामान स्याङतान छन् ।

त्यस्तै नवलपरासीका दुर्गा सिंह राना, पाँचथरका सेतेवीर तुम्बाप्पो, मोरङका जम्वीरलाल झाँगड, ठेगाना नखुलेका सरु मगर, सुकुवल घिसिङ, राजेश कुमार र विमल कार्की छन् । उनीहरूको मलेसियाका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

मलेसियन प्रहरीले कामदारले सेवन गरेका ती मदिराका सबै ठाउँमा सिज गरिसकेकाे छ । यसअघि पनि ती मदिराका कारण सन् २०१३ मा २९ कामदारकाे  मृत्यु भएकाे प्रहरीले जनाएकाे छ ।

 

प्रतिक्रिया