कोपिला बन्यो सुनिताको अभिभावक

सल्यान । आमाबुबा गुमाएर बेसहारा बनेकी सल्यान बागचौर नगरपालिका–४ सेतोगुराँसकी ८ वर्षीया सुनिता विकलाई सुर्खेत पठाइएको छ ।

सोमबार कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला, जिल्ला बाल कल्याण समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी कमलराज ढकाल, बागचौर नगरपालिका–४ का वडाध्यक्ष प्रेमबहादुर पुन, सुनिताका मामा कृष्णबहादुर विक, पत्रकारलगायत सरोकारवालाहरूको रोहबरमा उनलाई सुर्खेत पठाइएको हो ।

०६४ सालमा स्थापना भएको कोपिला भ्याली सेवा समाज सुर्खेतद्वारा सञ्चालित कोपिला भ्याली स्कुलमा पठाइएको हो । उनलाई कोपिला भ्याली स्कुलमा खाने, बस्ने, पढ्ने सबै निःशुल्क रूपमा व्यवस्था गरिएको छ ।

उनलाई १२ कक्षासम्म निःशुल्क पढ्ने व्यवस्था गरिएको छ । १८ वर्षको उमेरसम्म उनलाई सबै कुरा निःशुल्क गरेर राखिने समाजका अध्यक्ष टोपबहादुर मल्लले बताए । असहाय, आमाबुबा गुमाएका टुहुरा बालबालिकाहरूलाई निःशुल्क रूपमा पढाउनका लागि कोपिला भ्याली सेवा समाज खोलिएको बताउँदै उनले अहिले चार सय बढी बालबालिकाले पढिरहेको बताए ।

उनले सल्यानकी आठ वर्षीया बालिका सुनिताको उज्ज्वल भविष्य कोपिलाले बनाउने बताए । साथै उनले सुनिताको अभिभावकको रूपमा आपूmहरूले काम गर्ने बताए ।

बालिका सुनितालाई लिन सल्यान आएका मन्त्री ज्वालाले सुनिताको अभिभावकका रूपमा काम गर्न कोपिला भ्यालीलाई सुझाब दिए । सल्यानमा भएको अकल्पनीय घटनामा परेर आमाबुबासँगै दुई बहिनी र एक भाई गुमाएकी सुनिताको हरेक क्षेत्रको विकासका लागि कन्जुस्याइँ नगर्न आग्रह गरे ।

उनले जिल्लामा घटेका घटनाले आपूmलाई दुःखित बनाएको बताए । उनले परिवारका ५ जना गुमाएर बाँच्न सफल भएकी सुनितासँगै उनकी दुई दिदीहरूका लागि सहयोग गर्न सबैलाई आग्रह गरे । उनले आफ्नो एक महिनाको आधा तलब पीडितपरिवारका लागि उपलब्ध गराउने बताए । साथै सहयोग गर्न विभिन्न निकायसँग आग्रहसमेत गरे ।

गत १२ भदौमा राति बागचौर नगरपालिका–४ सेतोगुराँसस्थित आफ्नै घरमा सुतेका पाँच जनाको दलिन भाँचिएर गाह्रो भत्किँदा मृत्यु भएको थियो । मृत्यु हुनेमा सुनिताका बुबा ४० वर्षीय रामसिंह कामी, आमा ३५ वर्षीया रामकला कामी बहिनीहरू सात वर्षीया गंगा विक, ६ वर्षीया प्रमिला विक र भाइ चार वर्षीय रूपलाल विक थिए ।

प्रतिक्रिया