कञ्चनरूपलाई विपत् क्षेत्र घोषणा

सप्तरी । प्रकोप नियन्त्रण नहुन्जेलसम्मका लागि सप्तरीको कञ्चनरूप नगरपालिका क्षेत्रलाई विपत् क्षेत्र घोषणा गरिएको छ ।

जिल्ला दैवी प्रकोप उद्धार समिति सप्तरीको आकस्मिक बैठकले स्वास्थ्य सेवा विभागको इपिडिमियोलोजी तथा महामारी रोग नियन्त्रण शाखाको टोलीले बिरामीको ¥याल परीक्षण गरी उनीहरूमा स्वाइनफ्लु र हङकङफ्लु भएको पुष्टि गरेपछि कञ्चनरूप नगरपालिकालाई विपत् क्षेत्र घोषणा गरिएको नगरपालिका प्रमुख वसन्त मिश्रले जानकारी दिए ।

सो क्षेत्रमा केही दिनदेखि रुघाखोकी र ज्वरोका बिरामीमा ‘एचवानएनवान’ (स्वाइनफ्लु) र ‘एचथ्रिएनटु’ (हङकङफ्लु)को भाइरस फेला परेको छ । उक्त रोगका कारण कञ्चनरूप नगरपालिका र हनुमाननगर कंकालिनी नगरपालिकाका पाँचको मृत्यु भएको प्रमुख मिश्रले बताए ।

सो रोगबाट कञ्चनरूप नगरपालिका–४ की ६० वर्षीया भालसरदेवी सरदारको विराटनगरस्थित ग्रिनक्रस हस्पिटलमा र महदेवा गाउँपालिका–१ का ८ वर्षीय बालक महफुल आलमको उपचारका क्रममा मृत्यु भएको जनाइएको छ । यस्तै, कञ्चनरूप नगरपालिका–७ का १४ वर्षीय दिवश बस्नेत, ३ का १४ वर्षीय किशोर राम र ९ का १४ वर्षीय आमोदकुमार रामको मृत्यु भएको थियो ।

भदौ २४ देखि तीन दिनसम्म सञ्चालन गरिएको हेल्थ क्याम्पमा जम्मा एक हजार ९२ जनाले स्वास्थ्य परीक्षण गराएका थिए । जसमध्ये २४ को रगत, र्याल परीक्षणका लागि काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो ।

रगत परीक्षणका क्रममा कञ्चनरूप नगरपालिका ६० वर्षीय हरिलाल साहलाई स्वाइनफ्लुको संक्रमण फेला परेको उक्त प्रयोगशालाको रिर्पोटमा उल्लेख छ । कञ्चनरूपका १८ तथा हनुमाननगर नगरपालिकाका ६ गरी २४ जनामा गरिएको परीक्षणका क्रममा एकजनामा स्वाइनफ्लु र १० जनामा हङकङफ्लु फेला परेको जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीका प्रमुख नीरञ्जनप्रसाद यादवले जानकारी दिए । साथै ८ जनाको रिपोर्ट आउन अझै बाँकी रहेको उनले बताए ।

एकपछि अर्को गर्दै लगातार बिरामीको संख्या थपिँदै गएपछि स्थानीय त्रसित भएको सोही कञ्चनरूप नगरपालिकाका रोहित देवले बताए । यता, जिल्ला जनस्वास्थ्य कार्यालय लगायतका सरोकारवालाले भने पाँचैजनाको मृत्युको कारण स्वाइनफ्लु नै भएको हो भनेर अहिले नै भन्न सक्ने अवस्था नरहेको जनाएका छन् ।

प्रतिक्रिया