एम्बुलेन्स थन्किँदा बिरामी मर्कामा

बैतडी । रेडक्रस जिल्ला शाखा बैतडीको एम्बुलेन्स वर्षौं पुरानो भएर अहिले सडक किनारामा थन्किएको छ । एम्बुलेन्स थन्किएको पनि वर्षाै भएको छ । ०५७ सालदेखि जिल्लामा सेवा दिन सुरु गरेको थियो ।

नेपाल सरकारको नीतिअनुसार एम्बुलेन्सलाई १० वर्षभन्दा बढी चलाउन नमिल्ने हुँदा थन्क्याएर राखेको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा बैतडीका सभापति भीमदत्त पाण्डेयले जानकारी दिए । उनले भने, ‘नेपाल सरकारसँग नयाँ एम्बुलेन्सको माग गरेकोले केही महिनापछि एम्बुलेन्स ल्याउने तयारीमा छौँ ।’

जिल्ला अस्पताल, पाटन स्वास्थ्यचौकी, देहिमाडांै स्वास्थ्यचौकी र दशरथचन्द स्मृति प्रतिष्ठानसँग गरी चारवटा एम्बुलेन्स जिल्लामा सञ्चालन रहेका छन् । जिल्लामा चारवटा एम्बुलेन्स भए पनि बिरामी परेका वेला एम्बुलेन्स चालकलाई फोन गर्दा फोन नै नउठाउने गर्दा बिरामी समस्यामा पर्ने गरेका छन् ।

कतैबाट एम्बुलेन्सको व्यवस्था नभएपछि सेवाग्राहीले रेडक्रसमा फोन गरेर एम्बुलेन्सको माग गर्ने गरेको सभापति पाण्डेयले बताए । उनले भने, ‘सेवाग्राहीहरू मलाई फोन गरेर चालकले फोन उठाएन भनेर गुनासो गर्दछन् । तर, एम्बुलेन्स जस्तो संवेदनशील सवारीसाधनको चालकले जतिखेर पनि फोन उठाउनुपर्छ र भनेको ठाउँमा तुरुन्त जानुपर्छ ।’

अहिले जिल्लाका सबै ठाउँमा सडक सञ्जाल पुगेपछि स्थानीय तह पनि एम्बुलेन्स खरिद गर्ने तयारीमा छन् । अहिले सबै ठाउँमा सडक पुगेसँगै एम्बुलेन्सको सट्टा बिरामी बोक्नमा जिप प्रयोग गर्ने हुँदा पनि एम्बुलेन्स सञ्चालन गर्न गाह्रो भएको दशरथचन्द प्रतिष्ठानका उपाध्यक्ष विनोद चन्दले जानकारी दिए । उनले भने, ‘एम्बुलेन्सको चालकलाई तलब दिन पनि धौ–धौ भएको छ ।’ स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा यसरी फोन नउठाउनु गैरजिम्मेवारीपन भएकाले सरोकारपक्षको ध्यान जानु अति जरुरी छ ।

प्रतिक्रिया