सेयर लगानीकर्ता डराए, हराए कि, बाहिरिए ?

नेपाल राष्ट्र बैंकले पुँजी वृद्धि गर्नैपर्ने नीति बैंक तथा वित्त कम्पनीहरूको टाउकोमा बजार्यो । बाध्यतावश कम्पनीहरूले आफ्नो पुँजी वृद्धिका लागि हकप्रद सेयरको भारी लगानीकर्ताहरूलाई बोकाए । जसका कारण बजारमा सेयरको थुप्रो नै लाग्यो । बजारमा सेयरको आपूर्ति बढी भयो । माग र आपूर्तिको सन्तुलन नमिलेपछि सेयर बजार ओरालो लाग्यो ।

करिब एक वर्षदेखि सेयर बजार खस्किँदो अवस्थामा छ । अधिकांश ब्रोकरहरू कहाँ लगानीकर्ताहरूको उपस्थिति न्यून मात्र देखिन्छ । देशमा ५० वटा ब्रोकर कम्पनीहरू छन् । कारोबारमा कमी आएका कारण ब्रोकरहरू पनि चिन्तित् छन् ।

यस्तै, रहिरहने हो भने कम्पनी चलाउन पनि समस्या आउने कतिपय ब्रोकरहरूको भनाइ छ । कहाँ हराए त लगानीकर्ताहरू ? के लगानीकर्ताहरू सेयर बजारबाट बाहिरिएकै हुन् त ? आज सेयर किन्यो भोलि भाउ घट्छ अनि कसरी लगानी गर्ने ? भन्नेहरू धेरै छन् ।

धेरैजसो लगानीकर्ताहरू पर्ख र हेरको अवस्थामा छन् । एक वर्ष अघिसम्म एक दिनमै अर्बभन्दा बढी रकम कारोबार हुने सेयर बजारमा पछिल्लो समयमा हप्तामा १ अर्बको पनि कारोबार हुन छाडेको छ ।

अधिकांश ब्रोकर कम्पनीहरू फुर्सदमा छन् । कुनै पनि क्षेत्रमा लगानी गर्दा लगानीकर्ताहरूले नाफा नै खोज्छन् । घाटा खानका लागि कसैले लगानी गर्दैन । सेयर बजारका लगानीकर्ताहरूले यो प्रवृत्तिबाट अछुत रहने कुरै भएन । सेयर बजार सधैँ घट्ने र सधैँ बढ्ने मात्र पनि गर्दैन । घट्ने बढ्ने भइरहन्छ । तर, पछिल्लो समयमा सेयर बजार निरन्तर घटेको घट्यै छ ।

सेयर बजारका कतिपय लगानीकर्ताहरूको मनोविज्ञानलाई नियाल्ने हो भने बजार बढेको वेला वा नेप्से उकालो लागेको वेला लगानी गर्ने गरेको देखिन्छ । नेप्सेमा हरियाली छायो भने ब्रोकरकहाँ भिड लाग्ने हुन्छ । नेप्सेमा हरियाली छाउँदा ब्रोकरकहाँ लगानीकर्ताहरूको ताँती लाग्ने गरेको बिगतले पनि देखाउँछ ।

नेप्से बढेको समयमा भोलि पनि बढ्छ कि, भनेर लगानी गर्ने प्रवृत्ति हुन्छ । तर, कतिपय विज्ञहरू नेप्से घटेको वेला सेयरमा लगानी गर्न पर्ने बताउँछन् । यदि, घटेको वेला फेरि घट्छ कि, भनेर लगानी नगर्ने हो भने घटेको बजार कसरी बढ्छ र ? भन्नेहरू पनि नभएका होइनन् ।

सेयर बजार उकालो लाग्नका लागि सेयर किन्ने लगानीकर्ताहरूको लर्को पनि त हुन पर्यो नि भन्ने एकथरीको भनाइ छ ।कतिपय सेयर बजारका ठूला व्यापारीहरूले घटेको वेला सेयरहरू उठाउने पनि गरेका छन् । घटेको वेला सेयर किन्ने कतिपय ठूलाबडा लगानीकर्ताहरू जसले सेयरबजारलाई आफ्नो अनुकूल बनाउने क्षमता राख्छन् ।

होल्ड गरेर राख्ने क्षमता भएका लगानीकर्ताहरूका लागि घटेको वेला सेयर खरिद गर्न फाइदा जनक हुने देखिन्छ । सेयर बढेको वेला लगानीकर्ताहरू दंग हुन्छन् । बढ्नुको कारण खोज्दैनन् तर घटेको वेला हार गुहार गर्छन् यसका कारणहरू खोतल्न थाल्छन् । नियमन निकायहरूलाई दोष दिन थाल्छन् । सेयर बजार घट्नु र बढ्नुमा केही कारणहरू अवश्य हुन्छन् ।

राजनीतिमा स्थायित्व, स्थिर सरकार र सरकारको उदार आर्थिक नीति भएको अवस्थामा सेयरको भाउ बढ्छ । तर, अहिले राजनीतिक स्थिरता र स्थिर सरकार छ । तर, पनि सेयरको भाउ घट्दो छ । सरकारको आर्थिक नीतिप्रति लगानीकर्ताहरू पर्ख र हेरको अवस्थामा भएका पनि हुन सक्छन् ।

पछिल्लो समयमा निरन्तर सेयरबजार ओरालो लाग्नुमा कतिपयले कम्युनिस्ट पार्टीको सरकार र कतिपयले नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरूका लागि ल्याएको पँुजी वृद्धि नीतिलाई कारक तत्व मानेका छन् ।  कतिपय लगानीकर्ताहरू यसको कारक अर्थमन्त्री डा. युवराज खतिवडालाई मान्ने गरेका छन् । अर्थमन्त्री डा. खतिवडा सेयर बजारप्रति नकारात्मक विचार राख्छन् भनेर पनि चर्चा नचलेको होइन ।

सरकारले पनि सेयर बजारलाई उकास्न केही पहल गरेको देखिँदैन । सेयर बजारको बारेमा वेला–वेलामा अर्थमन्त्री डा. खतिवडाले राख्ने विचारले गर्दा सेयर बजारका लगानीकर्ताहरू सुनिश्चित हुन सकिरहेका छैनन् । अहिलेको सरकार सेयर बजारमैत्री नभएको आरोप पनि लाग्ने गरेको छ । सेयर बजार उकालो लाग्ने र ओरालो लाग्नुमा विविध कारणहरू होलान् ।

तर, पछिल्लो समयमा नेप्से घट्ने क्रम जारी रहेको कारणमा पुँजी वृद्धि नीतिले हो भन्ने अधिकांश लगानीकर्ताहरूको भनाइ रहेको छ । पुँजी वृद्धि नीतिका कारणले नै सेयर बजारको यस्तो अवस्था भएको उनीहरू बताउँछन् । नेपाल राष्ट्र बैंकले पुँजी वृद्धि गर्नैपर्ने नीति बैंक तथा वित्त कम्पनीहरूको टाउकोमा बजार्यो ।

बाध्यतावश कम्पनीहरूले आफ्नो पुँजी वृद्धिका लागि हकप्रद सेयरको भारी लगानीकर्ताहरूलाई बोकाए । जसका कारण बजारमा सेयरको थुप्रो नै लाग्यो । बजारमा सेयरको आपूर्ति बढी भयो । माग र आपूर्तिको सन्तुलन नमिलेपछि सेयर बजार ओरालो लाग्यो । किन्नेभन्दा बेच्नेहरूको भिडले गर्दा सेयर बजारमा सुधार हुन नसकेको हो ।

एकातिर लगानीकर्ताहरू सेयर बेच्नतिर लागे भने अर्कोतिर सेयर बजार ओरालो लागेका कारणले नयाँ लगानीकर्ताहरू प्रवेश गर्न डराए । नयाँ लगानीकर्ताहरूको सेयर बजारमा प्रवेश गर्ने समय हो भन्ने विश्लेषण पनि छ । तर, नयाँ लगानीकर्ताहरू पनि हेर र पर्खको अवस्थामा छन् । तर, यो कहिलेसम्म रहने त ?

सेयर बजारको खस्किँदो अवस्थाप्रति नियमन निकायहरूले ध्यान नदिएको जस्तो पनि देखिएको छ । एकातिर हकप्रद र बोनस सेयरको बाढीले बजारमा आपूर्ति बढिरहेको छ भने अर्कोतर्फ नेपाल धितोपत्र बोर्डले कम्पनीहरूलाई धमाधम आइपिओ र एफपिओ जारी गर्ने स्वीकृति दिइरहेको छ ।

विभिन्न कम्पनीहरूले भारी मात्रामा एफपिओ जारी गरेकाले सेयर बजारको लगानी यतापट्टि पनि प्रतिस्थापन भएको छ । यस्तो अवस्थामा नेपाल धितोपत्र बोर्डले नयाँ सेयर जारी गर्ने अनुमति केही दिन थाति राख्नुपर्ने थियो । तर, पनि नेपाल धितोपत्र बोर्डले धमाधम आइपिओ जारी गर्न स्वीकृति दिइरहेको छ ।

यसले पनि बजारमा सेयरको संख्या बढाउनमा मद्दत गरिरहेको छ । अर्कोतिर लगानीकर्ताहरूको अर्बाै‌ रुपैयाँ एफपिओहरूमा लगानी भएको छ । यसले पनि बजारमा सेयरको भाउ घटाउन मद्दत पुर्याएको छ । सेयरको भाउ ओरालो लागेको भन्दैमा लगानीकर्ताहरू बजारबाट बाहिरिन पर्ने अवस्था भने छैन । सेयर बजार घटेपछि बढ्छ पनि ।

अहिलेको अवस्थामा छोटो अवधिका लगानीकर्ताहरूलाई केही बेफाइदाजस्तो देखिए पनि लामो अवधिसम्म होल्डमा बस्न सक्ने लगानीकर्ताहरूका लागि भने फाइदा जनक नै देखिन्छ । सेयर बजार भनेको नै जोखिमको व्यवसाय हो । जहाँ जोखिम पनि बढी हुन्छ, त्यहाँ फाइदाको सम्भावना पनि बढी नै हुन्छ । एउटा भनाइ छ नि, ‘नो रिक्स नो गेन ।’

प्रतिक्रिया