झापामा कुष्ठ रोगी बढ्दै

झापा । नेपालमा कुष्ठरोग निवारण भएको भनिए पनि झपामा यो रोग भयावह बन्दै गएको छ । झापामा ७ सय ५८ कुष्ठरोगी रहेको तथ्यांक सार्वजनिक भएको छ । बिर्तामोड नगरपालिकामा मात्र ०७१ देखि०७५ को यो अवधिसम्म ९४ जना कुष्ठरोगी फेला परेका छन् ।

अरू जिल्लामा यो रोग नियन्त्रणमा आए पनि झापासहित धनुषा र महोतरीमा रोगको जोखिम उच्च देखिएको छ । झापामा पनि बिर्तामोडमा सबैभन्दा बढी रोगी फेला परेका छन् । शिवसताक्षी नगरपलिकामा ५५ जना रोगी फेला परेका छन् । झापामा बिर्तामोड, शिबसताक्षी, अर्जुनधारा, भद्रपुर नगरपालिका र बुद्धशान्ति गाउँपालिकामा रोगीहरूको संख्या उच्च देखिएको छ ।

प्रत्येक १० हजार जनसंख्यामा एकभन्दा कम रोगी हुनुपर्नेमा झापामा प्रत्येक १० हजारमा दुईजनाभन्दा माथि रोगी भेटिएका छन् ।

कुष्ठरोग एउटा सरुवारोग हो यो रोग सूक्ष्य किटाणुको कारणले सर्ने गर्छ । यो रोग एकअर्कामा श्वासप्रश्वासको माध्यमबाट सर्ने गरेको बिर्तामोड नगरपालिकाका स्वास्थ्य सहसंयोजक दीपेन्द्र चौधरीले जानकारी गराए । यो रोगको सराई अवधि लामो हुनाले केही वर्षपछि मात्र चिह्न तथा लक्षण देखापर्ने उनले बताए ।

समयमै रोगको उपचार नभए शारीरिक अंगभंग र विचलन हुने चौधरीले बताए । उपचारबाट पूर्णरूपमा रोग निको हुने उनले जानकारी दिए । ‘यस रोगले नशामा असर गर्छ’, सहसंयोजक चौधरीले भने ‘शरीरका कुनै पनि भागमा यस रोगले आक्रमण गरेपछि औषधि सेवनपछि रोगले थप असर गर्दैन ।’

नेपालमा ०२३ सालमा एक लाख कुष्ठरोगी भएको अनुमान गरिएको थियो । ०३९ मा बहुऔषधि उपचार प्रराम्भ, ०४४ मा कुष्ठरोग सामान्य सेवामा समायोजन, ०४८ बाट कुष्ठरोग निवारण, ०५६ देखि ०५८ सम्म बिरामी पत्ता लगाउन राष्ट्रिय अभियान र ०६६ माघ ५ गते राष्ट्रिय तहमा निवारण घोषणा भएको चौधरीले जानकारी दिए । उनले जबसम्म भारतमा यो रोग निर्मूल हुँदैन तबसम्म नेपालमा यो रोग निवारण नहुने बताए ।

यस रोगका लागि दुई प्रकारका औषधि सेवन गराइँदै आएको छ । जसमा ६ महिने र एकवर्षे छन् । सामान्य बिरामीलाई ६ महिने र जटिल बिरामीलाई एक वर्ष औषधि खुवाइने उनले बताए । बिरामी साथै घरपरिवारका अन्य सदस्य र भेटघाट भइरहने आफन्त, छरछिमेकका लागि पनि यो औषधि सेवन गराइने उनले बताए । हालसम्म एकहजार नौ सय नौ जनालाई अभियानअन्तर्गत औषधि सेवन गराइएको उनले बताए ।

उनले निःशुल्क रूपमा औषधि पाइने भएकाले कुनै पनि स्वास्थ्य चौकीमा परीक्षण गराई औषधि सेवन गरी स्वास्थ्य रहन सबैमा आग्रहसमेत गरेका छन् ।

प्रतिक्रिया