पाँच अस्पताललाई कारबाही माग 

चितवन । २० भदौ राती सर्पले टोकेर उपचारका लागि अस्पताल ल्याउँदा पनि भरतपुरका विभिन्न पाँच वटा अस्पतालले बालकको उपचार नगर्दा मृत्यु भएको घटनामा छानबिन गरी दोषीलाई कारबाहीको माग गरिएको छ ।

भरतपुर महानगरपालिका–१५ का तीन वर्षीय बालक सलिन विकलाई सर्पले टोकेपछि चितवनका विभिन्न पाँच वटा अस्पतालमा पु¥याउँदासमेत अस्पतालले उपचार गर्न नमानेपछि उनको मृत्यु भएको थियो ।

चितवनको भरतपुर अस्पतालमा सघन उपचार कक्ष (आइसियु) छैन भनेर अन्यत्र रिफर गरिदिएपछि भरतपुरका दुई वटा मेडिकल कलेज, नारायणी सामुदायिक अस्पताल, निको बाल अस्पतालले समेत बिरामीको उपचार गर्न मानेका थिएनन् ।

त्यसपछि पुनः भरतपुर अस्पतालमा बालकलाई पु¥याउँदा उनको मृत्यु भएको भन्ने घटनाले आफूहरू मर्माहत भएको भन्दै उपभोक्ता अधिकार संरक्षण मञ्च चितवनले आइतबार चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतलाई ज्ञापनपत्र बुझाएका छन् ।

उपभोक्ताहरूले आगामी दिनमा अस्पतालजस्तो संवेदनशील क्षेत्रबाट गैरमानवीय कार्य हुन नदिन नाफामा मात्रै कारोबार गर्ने स्वास्थ्य संस्थालाई छानबिन गरी पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउन माग गरेका छन् ।

ज्ञापनपत्र बुझ्दै मेडिकल सिटीको रूपमा विकसित हुँदै गइरहेको चितवनमा उपचार नपाएर बालकको मृत्यु हुनुले आफूलाई गम्भीर बनाएको उल्लेख गर्दै चितवनका प्रमुख जिल्ला अधिकारी बस्नेतले घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्ने बताए । भरतपुर अस्पतालमा आइसियु खाली नभएको कारण सर्पदंशका बिरामीको उपचार गर्न नसकेको अस्पतालबाट जानकारी पाएको उल्लेख गर्दै बस्नेतले अन्य चार वटा अस्पतालसँग स्पष्टीकरण सोधेर अनुसन्धान अगाडि बढाउने बताए ।

चितवनमा चिकित्सकहरूको लापरबाहीका क्रममा विभिन्न समयमा बिरामीहरूको ज्यान जाने गरेको छ । स्वास्थ्य संवेनशीलता कायम गराउनका लागि उपभोक्ताहरूले स्थानीय प्रशासनको ध्यानाकर्षण गराएका छन् ।

प्रतिक्रिया