सवारी चालकको स्वास्थ्य परीक्षण

चितवन । पछिल्लो समय सवारी साधनको दुर्घटनाबाट मानिसको ज्यान जाने क्रम बढ्दै गएको छ । यसको रोकथाम र न्यूनीकरणका लागि भन्दै चितवनमा सवारी साधनको यान्त्रिक तथा चालकको स्वास्थ्य परीक्षण गरिएको छ ।

अटो मेकानिकल व्यवसायी संघ चितवनको २२औँ स्थापना दिवसको अवसर पारेर जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवन र अटो मेकानिकल व्यवसायी संघ चितवनले संयुक्तरूपमा शनिबार भरतपुर महानगरपालिका–१ रामनगरमा यान्त्रिक तथा स्वास्थ्य परीक्षण गरेका हुन् ।

कार्यक्रममा चितवन मेडिकल कलेजको प्राविधिक सहयोगमा चालकहरूको स्वास्थ्य परीक्षण गरिएको थियो भने भरतपुर आँखा अस्पतालको प्राविधिक सहयोगमा चालकका आँखाको भिजन टेस्ट गरिएको थियो । त्यस्तै, रामनगरको सडक भएर गुडेका सवारी साधनहरूलाई अटो मेकानिकल व्यवसायी संघका मेकानिकहरूद्वारा यान्त्रिक परीक्षण गरिएको थियो ।

कार्यक्रममा प्रमुखअतिथि भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहालले सवारी साधनको दुर्घटना न्यूनीकरणका लागि कार्यक्रम अत्यन्त प्रभावकारी हुने बताइन् । सवारी साधन ठीक अवस्थामा छ कि छैन, मानव स्वास्थ्य पनि कस्तो अवस्थामा छ भन्ने कुरा जान्नुपर्ने दाहालले बताइन् सवारी चालक र सवारी साधनको अवस्था ठीक भएको अवस्थामा मात्रै दुर्घटना न्यूनीकरण गर्न सकिने दाहालको भनाइ छ ।

कार्यक्रममा चितवन मेडिकल कलेज भरतपुरका निर्देशक डाक्टर दयाराम लम्सालले चालकको स्वास्थ्य राम्रो नभएसम्म सवारी साधन हाँक्दा दुर्घटना हुनसक्ने बताए । सवारी चालक अनुमति पत्र दिने वेलामा मात्रै चालकको स्वास्थ्य परीक्षण हुने गरिएकोमा यसलाई बर्सेनि निरन्तरता दिन सकेमा सवारी चालकबाट हुने दुर्घटना रोक्न सकिने लम्सालको भनाइ छ । ड्राइभिङ पेसामा सुरक्षाको दृष्टिकोणले शरीरको स्वास्थ्य आवश्यक छ भनिने भएकाले आँखाको परीक्षण गर्न उपयुक्त मानिने लम्सालले बताए ।

एकपटक स्वास्थ्य परीक्षण गराएर निरोगी छु भनेर बस्दा ठूलो क्षति बेहोर्नुपर्ने उल्लेख गर्दै डाक्टर लम्सालले नियमित स्वास्थ्य परीक्षण आवश्यक रहेको बताए । उमेरको कारणले, खानपिनको कारणले तथा अन्य कारणले समेत मानिसको शरीरमा विभिन्न रोगहरू लाग्नसक्ने भएकाले नियमित स्वास्थ्य परीक्षण गराएर ढुक्क रहन लम्सालले आग्रह गरे ।

कार्यक्रममा चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले सडकमा हुने दुर्घटना न्यूनीकरणका लागि सडक इन्जिनियरिङसँगै सवारी साधनको अवस्था तथा सवारी चालकको स्वास्थ्यसमेत राम्रो हुनुपर्ने बताए । सवारी साधनको राम्रो अवस्था तथा चालक स्वस्थ भएमा सडकमा हुने दुर्घटनाको दर घट्ने बस्नेतको भनाइ छ ।

आँखाको भिजन पोरका कारणले सवारी साधन चलाउँदा धेरै समस्या पर्ने भए पनि कतिपयलाई आफ्नो आँखामा भिजन पोर भएकोसमेत थाहा नहुने भएकाले नियमित रूपमा आँखा परीक्षण गराउनुपर्ने बस्नेतले बताए ।

सवारी साधन र चालकको अवस्थाका बारेमा सचेत हुन सकेमा मात्रै पनि दुर्घटना न्यूनीकरणमा ठूलो सफलता मिल्ने प्रदेश ट्राफिक प्रहरी कार्यालय प्रदेश–३ का प्रमुख ट्राफिक प्रहरी उपरीक्षक नवीनराज राईले बताए । सवारी व्यवसायीले समेत आफ्नो सवारी साधन चलाउन दिने वेलामा चालकको स्वास्थ्य अवस्थाको बारेमा ख्याल गर्नुपर्ने राईको भनाइ छ । सडकमा हुने अधिकांश दुर्घटनाको कारणमा सवारीचालक तथा सवारीको यान्त्रिक गडबढी हुने गरेको राईले बताए ।

सवारी दुर्घटनाका कारण पछिल्लो समय मानवीय क्षति हुने क्रम बढ्दो छ । यसको नियन्त्रणका लागि र व्यावसायिक प्रतिस्पर्धाका लागिसमेत सवारीचालक र सवारी साधनको अवस्था राम्रो हुनु जरुरी रहेको राईले बताए । शनिबार आयोजना गरिएको परीक्षणमा पाँच सयभन्दा बढी सवारी साधनको यान्त्रिक परीक्षण तथा त्यति नै संख्यामा सवारी चालकको समेत स्वास्थ्य परीक्षण गरिएको अटो मेकानिकल व्यवसायी संघ चितवनका अध्यक्ष राम लोहनीले बताए ।

प्रतिक्रिया