दर खाँदा ३ सय ७९ बिरामी

बनेपा । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–१२ काँसकोटमा शनिबार भएको तिजको दर खाने क्रममा विषाक्त खानाका कारण बिरामी हुनेको सख्या तीन सय ७९ पुगेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रविराज खड्काका अनुसार एक सय ३५ जनाको अहिले अस्पताल भर्ना गरी उपचार भइरहेको जनाएको छ । बाँकी उपचार गरी घर फर्किसकेको खड्काले जानकारी दिए ।

बिरामीमध्ये धुलिखेल सामुदायिक अस्पतालमा ८६ को उपचार भइरहेको र उनीहरूको अवस्था सामान्य रहेको अस्पतालका डा. अनमोल श्रेष्ठले जानकारी दिए । पाँचखाल नगरपालिका–१२ काँसकोटमा रहेको ग्रामीण स्वावलम्बन बहुउद्देश्यीय सहकारी संस्थाले शनिबार आयोजना गरिएको तिज विशेष दर खाने कार्यक्रममा दर खाने क्रममा सो घटना भएको हो ।

बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचार भइरहेका ५६ मध्ये दुई जनाको सघन उपचार कक्षमा उपचार भइरहेको अस्पतालका डा. एञ्जला बस्नेतले बताइन् । उपचारमा संलग्न चिकित्सकका अनुसार बिरामीमा झाडा पखाला, पेट दुख्ने, रिंगटा लाग्ने र बान्ता गर्नेजस्ता समस्या देखिएको छ ।

बिरामीमध्ये केहीलाई स्थानीय प्राथमिक स्वास्थ्य केन्द्र, पोलिक्लिनिक र केहीलाई काठमाडौंमा उपचारको लागि लगिएको प्रहरीले जनाएको छ । बनेपा अस्पतालमा उपचार भइरहेका तीनको अवस्था सामान्य रहेको जनाएको छ ।

शनिबार दिउँसो दर खाने कार्यक्रममा बिरामी भएकाहरूको सख्या बढ्दै गएको र उपचार लागि आवश्यक प्रक्रिया थालनी गरेसँगै स्वास्थ्य विभागलगायतका टोलीले घटनास्थलको अवलोकन गरिसकेको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतले बताए ।

उनका अनुसार स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. गुणराज लोहनी र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा टेकुका टोली तथा प्रदेश सामाजिक विकास मन्त्रालयको जनस्वास्थ्य अधिकृतलगायत नेतृत्वको टोलीले घटनास्थलमा पुगेर बिरामीले खाएका खाना तथा पानीको नमुना संकलन गरी प्रयोगशालामा लगेको छ ।

प्रतिक्रिया