वीर अस्पतालको चरम लापरबाही

गलत रिपोर्ट दिनेमाथि कारबाही भएन, निर्देशक बस्नेत गलत काम गर्नेको संरक्षणमा

वीरमा आउने बिरामीलाई हैरानीमा पारेर परीक्षण नगरी आफ्नो ल्याबमा पठाउने गरेका बास्तोला र थापालाई अहिलेसम्म कारबाही भएको छैन

काठमाडौं । बर्दियाका मुखिया थारू र पत्नी ऋतिका सिकलसेल एनिमियाको आशंकामा गत चैतमा वीर अस्पतालमा उपचार गर्न आए ।

जेनेटिक ल्याबमा परीक्षणका लागि पुगे । बर्दियाका चिकित्सकले सिकलसेल एनिमियाको आशंकासहित वीरमा रेफर गरेका थिए । वीरको ल्याबमा उनीहरूको परीक्षण भयो । बलराम गौतम र श्रीराम बाँस्तोलाले परीक्षण गरे । रिपोर्टमा थारू दम्पतीमा सिकलसेल एनिमिया देखिएन । रिपोर्ट आएपछि दुवै खुसी भए । गर्भवती रहेकी ऋतिकाले बच्चा जन्माउन सक्ने भन्दै खुसी भइन् ।

वीरको जेनेटिक ल्याबमा आएका उनीहरूको खुसी केही समयपछि नै निराशामा बदलियो । ल्याब टेक्निसियनको रिपोर्ट चित्त नबुझी डा. नीलम ठाकुर आफैँले दुवैै बिरामीको परीक्षण गरिन् । उनको परीक्षणमा दुवैैमा सिकलसेल एनिमिया देखियो । तर, उपचार गर्न निकै ढिला भइसकेको थियो । उनको बच्चा फाल्न सम्भव भएन । ऋतिका अहिले आठौँ महिना पूरा गरी बच्चा जन्माउने तयारीमा छिन् । चिकित्सकले उनलाई ५ असोजको मिति दिएका छन् ।

वीर अस्पताललाई यो लापरबाहीले निकै बदनाम गरायो । दोषी दुवैै प्राविधिकसँग सामान्य सोधपुछसमेत भएको छैन । निर्देशक भुपेन्द्र बस्नेत आफँै सहयोगी बनेपछि उनीहरूमाथि कुनै छानबिन नगरिएको स्रोतले जनायो । नेपालको एक मात्र जेनेटिक ल्याबमा रहेका थापा र बास्तोलाको लापरबाही अन्य धेरै बिरामीले व्यहोरिसकेका छन् ।

उनीहरूले अहिले वीरमा उपचारका लागि आउने बिरामीलाई सिनामंगलस्थित आफ्नो ल्याब डिकोड जिनोमिक्समा पठाएर दोब्बर असुली गरिरहेका छन् । दुवै जनाले लाइसेन्सबिनै रिपोर्टमा हस्ताक्षर गर्दै आएका छन् ।

दुवैले हालसम्म नेपाल हेल्थ प्रोफेसनल काउन्सिल, (एनएनपिसी)बाट बिएमएलटीको लाइसेन्स मात्र लिएका छन् । तर, एमएससी उत्तीर्णपछि लिनुपर्ने लाइसेन्स लिएका छैनन् ।

काउन्सिलले लाइसेन्स नदिए पनि उनीहरूले भटाभट रिपोर्ट हस्ताक्षर गर्दै बिरामीमाथि खेलबाड गर्दै आएका छन् । नेपाल हेल्थ प्रोफेसनल काउन्सिलबाट लाइसेन्स नपाउँदासम्म कुनै विशेषज्ञले रिपोर्टमा हस्ताक्षर गर्न पाइँदैन । तर, दुवैले आफ्नो ल्याबमा परीक्षणको रिपोर्ट दिने गरेका छन् ।

वीरमा आउने बिरामीलाई हैरानीमा पारेर परीक्षण नगरी आफ्नो ल्याबमा पठाउने गरेका बास्तोला र थापालाई अहिलेसम्म कारबाही भएको छैन । यी दुवैजनाका कारण अस्पतालको बदनाम भएको एक कर्मचारीले जानकारी दिए । उनका अनुसार थापा र बास्तोलाले वीरमा दैनिक आठ जनाभन्दा बढीको ल्याब टेस्ट गर्न मान्दैनन् । अन्य बिरामीलाई आफ्नै ल्याबमा पठाउँछन् ।

दैनिक आठजना मात्रै गर्ने भन्दै अस्पतालको नियमलाई अटेर गर्दै आएका छन् । जसको कारण वीरमा जेनेटिक ल्याबमा आउने बिरामीले निकै सास्ती खेप्नुपरेको छ । शुक्रबार मात्रै उनीहरूले बारा, डोल्पा, सुर्खेतबाट आएका एक दर्जन बिरामीको ल्याब परीक्षण नगर्ने भन्दै फिर्ता पठाए ।

‘आठ जनाको परीक्षण भइसक्यो, अब हुन्न भन्दै हामीलाई फर्काए, एक बिरामीले गुनासो पोखे । डाक्टरले भनेको समेत बास्तोला र थापाले नमानेको उनको भनाइ छ । बिहान ९ देखि बेलुका ५ बजेसम्म कुरे पनि पालो नपाएको उनको दुःखेसो छ । प्राविधिकद्वय बास्तोला र थापा हाजिर गर्ने अनि चिया खाने भन्दै सिनामंगलस्थित आफ्नो ल्याबमा जाने गरेको कर्मचारीको भनाइ छ ।

यस्तै, कार्डियोटाइपको जाँच १५ दिनमा एक दिन मात्रै गर्ने भन्दै वीरका बिरामीलाई यी दुईजना प्राविधिकले आफ्नो ल्याबमा पठाउने गरेको वीरका कर्मचारी बताउँछन् । वीरमा दुईदेखि चार हजारसम्ममा परीक्षण हुन्छ । तर, उनीहरूले आफ्नो ल्याबमा १२ हजारसम्म असुली गर्दै आएका छन् । आफ्नो ल्याबमा बिरामी पठाउन वीरको मेसिन पटक–पटक बिगार्ने काम बास्तोला र थापाले गर्दै आएको स्रोत बताउँछ ।

निर्देशक बस्नेतलाई समेत बास्तोला र थापाले धम्की दिन थालेका छन् । अस्पतालको खर्चमा पढेर अस्पतालकै ल्याब ध्वस्त पार्ने र आफ्नो निजी ल्याबबाट बिरामीसँग असुली गर्ने काम बास्तोला र थापाले गर्दै आएका छन् । तर, हालसम्म निर्देशक बस्नेतले यी दुवैैलाई कारबाही गर्ने प्रयास गरेका छैनन् । अस्पताल स्रोतका अनुसार, निर्देशक बस्नेतको उनीहरू दुवैजनासँग मिलोमतो भएकोले कारबाही नभएको हो । ‘निर्देशकले चाह्यो भने सजिलै कारबाही हुन्छ, तर बस्नेत यो चादैनन्,’ स्रोतले भन्यो ।

प्रतिक्रिया