काठमाडौं । स्वास्थ्य मन्त्रालयले निजामती सेवा दिवसको अवसरमा सिंहदरबारमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।
शिविरमा अधिकांश कर्मचारीलाई ब्लड प्रेसरको समस्या रहेको भेटिएको छ । शिविरमा वीर अस्पताल र गंगालाल अस्पतालका विशेषज्ञ चिकित्सकले सेवा दिएका थिए ।
निजामती दिवसको अवसर पारेर निजामती कर्मचारीलाई स्वस्थ राख्न मुटुरोग र मधुमेहको स्क्रेनिङ क्याम्प गर्ने उद्देश्यले शिविर सञ्चालन गरिएको वीर अस्पतालका निर्देशक डा. भूपेन्द्रकुमार बस्नेतले जानकारी दिए ।
‘मुटुको उपचारमा हामी पनि थियौँ, गंगालालका विशेषज्ञ डाक्टरहरू पनि हुनुहुन्थ्यो,’ उनले भने, ‘वीरबाट दुई जना मुटुरोग र दुई जना मधुमेहका विशेषज्ञ हुनुहुन्थ्यो ।’ चिकित्सकले शिविरमा सहभागीहरूको रक्तचापका साथै मुटुरोग र मधुमेहको समेत परीक्षण गरेका थिए ।
शिविर सञ्चालन भएको पहिलो दिन १ सय २० जना कर्मचारीले स्वास्थ्य परीक्षण गराएका थिए । शिविर शुक्रबारसम्म सञ्चालन हुने हेल्थ डेक्स प्रमुख दीपक मुडभरीले बताए । बिहीबार ६० जनाको सुगर जाँच, ५० जनाको इको, ५५ जनाको इसिजी गरिएको थियो । शिविरमा सहभागी अधिकांंशमा ब्लड प्रेसरको समस्या रहेको र नियमित औषधि सेवन गरेका थिए ।
प्रतिक्रिया