सल्यानमा योगप्रतिको आकर्षण बढ्दो

मानवीय स्वास्थ्यमा योगको विशेष महत्व रहँदै आएको छ । आत्मा, शरीर र मनलाई एकाकार गर्ने माध्यमको रूपमा समेत योगलाई लिने गरिन्छ । योगको सुरुआत हिन्दू दर्शनअनुसार नै भएको मानिन्छ । पछिल्लो समय योगको क्षेत्रमा भौतिकवादी व्यक्तिहरू समेत संलग्न छन् । डिप्रेसनमा परिसकेका र संसारमा बाँच्नुको कुनै अर्थ नै नदेख्नेहरू पनि योगको प्रभावका कारण आफू ठीक भएका मात्र छैनन् ।

अरूलाईसमेत मार्गदर्शन गरिरहेका छन् । यसको ज्वलन्त उदाहरण हुन् सल्यान जिल्ला बागचौर नगरपालिका–११ बाँफुखोला निवासी २३ वर्षीया योगी साधक गीता वली । जिल्लाको दुर्गम ठाउँ मानिने बाँफुखोलामा जन्मिएकी उनले स्थानीय श्री दुर्गा प्रावि बाँफुखोलाबाट प्राथमिक तहको शिक्षा प्राप्त गरिन् ।

त्यसपछि बागचौर नगरपालिकाको जनकल्याण क्याम्पस थारमारेबाट अहिले स्नातक तह उत्तीर्ण भई उच्च शिक्षा अध्ययन गर्ने क्रममा उनी योग साधकको रूपमा परिचित भइसकेकी छन् । ‘सानो छँदादेखि नै म अरूभन्दा भिन्न प्रकृतिको थिएँ । मेरो अरूभन्दा फरक बानी व्यवहार थियो,’ उनले भनिन्, ‘सकारात्मक सोचको खोजीमा योग सिकेको र योगबाट दिमागमा भएका बेकार तत्वलाई फालेर योग नै सकारात्मक कुरा दिने ऊर्जा बन्यो त्यसैकारण यसप्रति आकर्षण बढ्दै गयो ।’

काठमाडाै‌ंमा गएर चर्चित योगीसाधकहरू विकास चन्द, रविशंकर कोचिया काव्य लम्साल, हरूसँग योग सिकेको उनले बताइन् । भीमसेन सापकोटा आचार्यलाई गुरु मान्दै आएको बताउँदै उनले आफ्नाे जीवनमा धेरै दुःख परेको बताइन् । ‘जीवन जिउने क्रममा विभिन्न वाधा अवरोधहरू आइपर्दा केही समय डिप्रेसनको सिकारसमेत बन्नुपर्यो’, उनले भनिन्, ‘मलाई जन्मदिने आमाको मृत्युपछि मेरो पनि जिउने लगभग आशा नै मरिसकेको थियो ।

बाँच्ने प्रयास पनि गर्न चाहिनँ आत्महत्याको प्रयास पनि नगरेको होइन । तर, केही गरि बाँच्न सफल भएपछि केही समयपश्चात् जिल्लाको सदरमुकाम खलंगा आउने मौका मिल्यो । त्यसपछि नेट इन्टरनेटको पहुँचमा पुगेँ आजकलका युवायुवती बच्चा वयस्कले प्रायः सामाजिक संजालमा व्यर्थै समय खेर फालेको देख्छु । फेसबुकमा बसेर च्याट गर्दै बसिरहेका हुन्छन् तर मैले तेसो गरिनँ ।

मैलै योगको बारेमा कहाँबाट धेरै जानकारी लिन सक्छु भन्ने सोच मात्रै दिमागमा थियो उनले भनिन् । त्यसैले युटुबमा योगका विभिन्न भिडियोहरू हेर्दै र सिक्दै गएँ । त्यसै क्रममा ०७४ सालको सुरुआतमै गुरु भीमसेन सापकोटाज्यूसँग भेट्ने अवसर मिल्यो र मेरोे जीवन नै परिवर्तन भयो । सानो छँदा योग भनेको के हो थाहा थिएन तर ध्यान सानो छँदादेखि नै गर्थे । जब यसबारे थाहा पाएँ अनि यसप्रति झनै आकर्षण बढ्न थाल्यो ।

योगले मानिसको स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने गर्छ । दिमागमा कुरा खेलाएर बस्नुभन्दा ध्यान लगाएर कुनै कुराको बारेमा सोच्यो अथवा त्यसलाई ध्यान लगाएर गर्यो भने अवश्य सफल भइँदो रहेछ । त्यसैले दिमागमा भएका नकारात्मक कुरालाई फाल्न पनि सबैले योग गर्नै पर्छ । उनले योग सिकाउन थालेको करिब सत महिना भयो ।

रुकुम जिल्लाबाट योग सिकाउन सुरु गरेकी उनले अहिले विभिन्न स्थानमा योग सिकाउने गरेकी छन् । केही समय दाङ जिल्लामा पनि योग सिकाएको बताउँदै उनले अहिले आफ्नाे जिल्लाको सदरमुकाम खलंगामा योग सिकाउँदै आएकी छन् ।  योग गुरु भएर बाँच्नलाई त्याग तपस्या गर्नुपर्ने हुन्छ । मनैदेखि ध्यान गर्नुपर्छ । भित्रैदेखि इच्छा जागेर गरेको काममा एक दिन सफलता पाउनेछु किनभने ‘जहाँ इच्छा त्यहाँ उपाय’ भन्छन् म पनि अवश्य सफल हुन्छु ।

यस जिल्लामा उनीसँग अहिले ५०÷५५ जनाले योग सिक्दै आएका छन् । योग सिकाउनका लागि अहिले जिल्लाको समन्वय समितिको हल प्रयोग गरिरहेको उनले बताईन् । उनी भन्छिन्, ‘जिन्दगी सुन्दर छ जिउन सक्नुपर्छ नशा त हर चीजमा छ पिउन सक्नुपर्छ’ मेरो नशा योग हो म यही नशा पिउन चाहन्छु र मेरो समाज र देशलाई पनि यसै नशामार्फत सकारात्मक सोचतिर परिवर्तन गर्न चाहन्छु ।

हजार जना नकारात्मक सोच भएका मानिसको भीडमा एक जना व्यक्तिलाई मात्र सकारात्मक सोच भएको बनाउन सकेँ भने मेरा लागि त्यही उपलब्धी हुने उनको भनाइ छ । अहिलेसम्म यस योग क्षेत्रमा अगि बढ्न कहीँ कतैबाट आर्थिक स्रोत र सहयोग नपाएको बताउँदै उनले आफूलाई यस क्षेत्रमा ऊर्जाशील बनाउनका लागि भने जिल्लाका विभिन्न व्यक्तित्वको साथ र सहयोग रहेको बताइन् ।

‘आज मलाई जिल्लाका प्रतिष्ठित व्यक्तित्वहरूले गुरु भनेर सम्बोधन गर्नुहुन्छ यसर्थ म साह्रै खुसी छु । तर, मैलै पनि उहाँहरूबाट धेरै कुराहरू सिक्दै आएको छु र सधैँ केही न केही सिक्नै मोका पाइरहेकी छु,’ उनले भनिन् । नेपालमा योगको प्रचार प्रसार र विस्तारको निम्ति राज्य पक्षले पनि निकै नै प्रभावकारी भूमिका निर्वाह गर्दै आएको छ । सन् २०१५ देखि त विश्वभर नै २१ जुनलाई विश्व योग दिवसको रूपमा नै मनाउन सुरु गरिएको छ ।

यसले योगको क्षेत्र फराकिलो बन्दै गएको समेत देखाएको छ । अहिले आएर योग व्यापक बनिसकेको छ । प्राकृतिक रूपमा नै बाँच्न सिकाउने र प्रकृतिमा नै हाँस्न सिकाउने माध्यमसमेत बनेको भन्दै सल्यानमा पनि योगप्रतिको आकर्षण दिनानुदिन बढ्दै गएको छ । अहिले मानिसमा आएको विलासिताले गर्दा कैयौँ मानिस रोगले ग्रसित भएका छन् ।

उपचारका लागि अस्पताल चहारिरहेका छन् । एकातिर पैसा र अर्काेतिर समय त्यसै खेर गइरहेको छ । अन्त्यमा कहीँ कतै ठीक नभए पछि मानिस योगकै शरणमा आएका छन् । यसरी योगको शरणमा आएका कतिपय बिरामीहरू आफूलाई स्वस्थ अनुभव भएको बताइरहेका छन् । रोग लाग्नुभन्दा रोग लाग्न नदिनु नै बुद्धिमानी हो भन्ने कुरालाई मनन गर्दै योगतर्फ ध्यान दिऔँ । योग गरौँ निरोगी बनौँ ।

प्रतिक्रिया