काठमाडौं । मुलुकी संहिता अपराध ऐन संशोधनको प्रक्रिया अगाडि नबढाएको भन्दै नेपाल चिकित्सक संघले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।
विद्यमान अवस्थामा स्वास्थ्य सेवा सञ्चालन गर्न नसक्ने ठहर गर्दै १७ भदौदेखि आकस्मिक बाहेकका सम्पूर्ण स्वास्थ्य सेवा बन्द गर्ने निर्णय गरेको छ । संघले बिरामीको अप्रेसन बन्द गर्नेसम्मको कार्यक्रम घोषणा गरेको छ ।
घोषित कार्यक्रमअनुसार १८ गते सोमबार देशभरका स्वास्थ्यसंस्थाका प्रशासनिक काम बन्द गर्ने, १९ गते आकस्मिक बाहेकका अन्य अन्तरंग सेवामा बिरामी भर्ना गर्ने कार्य बन्द गर्ने, २१ गते बुधबार आकस्मिक सेवा बाहेकका अन्य अप्रेसनहरू बन्द गर्ने, २३ गते बिहीबारदेखि आकस्मिक सेवा बाहेकका ल्याब तथा रेडियोलोजी सेवाहरू बन्द गर्ने र २२ गते शुक्रबारदेखि आकस्मिक बाहेकका ओपिडीलगायत सम्पूर्ण स्वास्थ्य सेवाहरू संघका मागहरू सम्बोधन नभएसम्म बन्द गर्ने संघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
१ भदौदेखि लागू भएको मुलुकी ऐन, मुलुकी अपराध (संहिता) ऐन २०७४ र मुलुकी फौजदारी कार्यविधि ऐन २०७४ मा सरकारले संशोधनको प्रक्रिया अगाडि नबढाएकाले आकस्मिक बाहेकका सेवा बन्द गर्ने गरी विरोधमा उत्रिनुपरेको संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले जानकारी दिए ।
‘मन्त्रीज्यूहरूसँग भेट्न जाँदा उहाँहरूले तपाईंहरूमाथि गलत भयो, तपाईंहरूको माग जायज छ भन्नुहुन्छ, तर व्यवहारमा केही गर्नुभएको देखिएन,’ उनले भने, ‘सरकार हाम्रो मागप्रति संवेदनशील नहुँदा बाध्य भएर आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका हौँ ।’ संघले स्वास्थ्यसंस्था, चिकित्साकर्मीहरूमाथि आक्रमण, हातपात गर्नेलाई ‘जेल विदआउट बिल’ को प्रावधानसमेत लागू गर्न माग गर्दै देशव्यापी विरोध कार्यक्रम सार्वजनिक गरेको छ ।
प्रतिक्रिया