विषालु सर्पको बिगबिगी

झापा । बुधबार राती १० बजे झापा कचनकवल–२ की पूजा भट्टराईलाई सुतेकै ठाउँमा सर्पले डस्यो । उपचारका लागि सर्पदंश उपचार केन्द्र चारआली ल्याउने क्रममा बाटैमा उनको मृत्यु भयो ।

केह दिनअघि मात्र भद्रपुर–१ स्थित लाहुरेचोक निवासी विशाल लिम्बुका तीन वर्षीय छोरा बेबोलाई पनि सर्पले टोक्दा उपचारका लागि लैजाँदा लैजाँदै बाटोमा नै मृत्यु भयो ।

त्यसअघि २२ असार राती कचनकवल–३ की १५ वर्षीया स्वस्तिमा भट्टराईलाई सुतेकै अवस्थामा सर्पले डस्यो । उपचारका लागि समयमा सर्पदंश उपचार केन्द्रमा पु¥याउन नसक्दा उनको मृत्यु भयो ।

नजिकै मेची अञ्चल अस्पताल भए पनि सो अस्पतालमा सर्पले टोकेका बिरामीको उपचार नहुने हुँदा झापाको दक्षिणी क्षेत्रका स्थानीय सर्पले टोके २५\३० किलोमिटरको दुरीमा यात्रा गरी उपचारका लागि चारआली, दमक वा कन्काई जानुपर्छ । ‘यो क्षेत्रका स्थानीय सामान्य विष भएका सर्पले टोके सर्पदंश उपचार केन्द्रमा पुगेर उपचार गरी घर फर्कन्छन्, विषालु सर्पले टोके लास फर्कन्छ या सासको टुंगो हुँदैन’, भद्रपुरका डिल्लीराम पोखरेलले भने ।

खोला तथा जंगलले घेरिएको झपाको दक्षिणी क्षेत्रमा अत्याधिक गर्मी र वर्षायाममा विषालु सर्पको टोकाइबाट बर्सेनि धेरैले समयमा उपचार अभावकै कारण ज्यान गुमाउनुपरेको पोखरेलले बताए ।

वर्षामा जताततै जलमग्न हुँदा र गर्मी हुँदा जंगलमा भएका सर्प पनि घरभित्र पस्ने गरेको स्थानीय बताउँछन् । ‘कुन वेला कस्तो सर्पले टोक्छ टुङ्गो हुँदैन’, भद्रपुरका स्थानीय श्याम लिम्बूले भने, ‘न त समयमा नै उपचार पाइन्छ भन्ने आशा नै छ ।’ हिउँदमा भन्दा वर्षाको समयमा सर्पको डरले रात बिताउनुपर्ने उनी गुनासो गर्छन् ।

‘नगरक्षेत्रमा नै सर्पदंशको उपचार केन्द्र भएको भए धेरैको ज्यान बच्ने थियो, कचनकवलदेखि बालुबाडी सबै क्षेत्रका स्थानीय उपचारकै लागि घन्टौ धाउनुपर्ने बाध्यतामा छन्, कसरी ज्यान बच्ला ?’ कचनकवलका नवराज भट्टराई प्रश्न गर्छन् ।

झापाको अन्य क्षेत्रभन्दा दक्षिणी क्षेत्रमा विषालु सर्प बढी पाइने स्थानीयको दाबी छ । यो क्षेत्रका स्थानीयलाई लक्षित गरी बारम्बार यसअघि सरकार र जनप्रतिनिधिलाई आग्रह गर्दा पनि नगरस्तरीय सर्पदंश उपचार केन्द्र स्थापनाका लागि कसैले चासो नदिएको स्थानीयको गुनासो छ ।

विषालु सर्पको उच्च जोखिम भएको झापा जिल्लामा हाल तीन वटा मात्र सर्पदंश उपचार केन्द्र रहेका छन् । नेपाली सेनाद्वारा सञ्चालित झापा चारआलीस्थित सर्पदंश उपचार केन्द्र लामो समयदेखि सञ्चालनमा रहेका छ भने केही समय अघि कन्काई नगरपालिकास्थित सुरुंगामा र दमकमा मात्र सर्पदंश उपचार केन्द्र रहेको छ ।

पूर्व–पश्चिम राजमार्ग नजिकै तीनैवटा उपचार केन्द्र हुँदा राजमार्ग आसपासका स्थानीयलाई सहज भए पनि ग्रामीण क्षेत्रका स्थानीय बढी समस्यामा पर्ने गरेका छन् । पछिल्लो समयमा उपचार नपाउँदा ज्यान गुमाउनेमा पनि ग्रामीण क्षेत्र र उपचार केन्द्रदेखि टाढा रहेका नागरिक नै बढी रहेको जिल्ला प्रहरी कार्यालय झापाको तथ्यांकले देखाएको छ ।

बढ्दो गर्मीसँगै झापामा विषालु सर्पको बिगबिगी पनि बढेको छ । असार महिना यता मात्र झापामा १२ जनाभन्दा बढी नागरिकले सर्पको डसाईबाट नै ज्यान गुमाइसकेका छन् । उपचारमा संलग्न प्राविधिकका अनुसार झापामा कोब्रा (गोमन) र करेत तथा पहाडी क्षेत्रमा भाइपर नामक विषालु सर्प पाइने गरेको छ ।

गोमन र करेत धेरै विशालु मनिन्छन् । यसले डस्ने बेला निकालेको न्युरो टक्सिन भेनमबाट स्नायु र श्वासप्रश्वासमा असर पु¥याउँछ । प्राथमिक उपचार नपाए यसले डसेको २० देखि ३० मिनेटमा ज्यान जाने चारआलीको सर्पदंश उपचार केन्द्रका अध्यक्ष दुर्गाप्रसाद भट्टराईले बताए । सेतो गोमन सर्पले खुट्टामा टोक्दा गत सोमबार पनि बिर्तामोड नगरपालिका–७ का बिष्टो मुर्मुकी छोरी १२ वर्षीया सकुरमुनीको मृत्यु भएको थियो ।

उनलाई सर्पले टोक्नासाथ मेचीनगरको चारआलीस्थित सर्पदंश उपचार केन्द्रमा पुर्याउँदा उपचारकै क्रममा मृत्यु भएको हो । गोमन सर्पले टोकेका बिरामीको शरीरमा विष चाँडो फैलने हुँदा बचाउने संभावना कम हुने चिकित्सक बताउँछन् ।

प्रतिक्रिया