शिशुको अपहरणपछि हत्या


महोत्तरी । औरही नगरपालिकाबाट अपहरणमा परेकी आठ महिने शिशुको शव मृत अवस्थामा भेटिएको छ । अपरहण भएको केही घण्टापछि नै शिशुको शव मृत अवस्थामा फेला परेको हो ।

शवको प्रकृति हेर्दा घाँटी थिचेर मारिएको प्रहरीको प्रारम्भिक अनुमान

औरही नगरपालिका–१ स्थित औरही बजारबाट स्थानीय सन्तोष चौधरीकी आठ महिने छोरी सोनाली चौधरी २० घण्टापछि मृत भेटिएको प्रहरीले जानकारी दिएको छ ।

उनको शव महोत्तरी जिल्लाकै भंगहा नगरपालिका–७ स्थित खेतमा भेटिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायव उपरीक्षक खगेन्द्र खड्काले जानकारी दिए । आइतबार साँझ करिब ६ बजे अपहरणमा परेकी सोनालीको सोमबार दिउँसो २ बजे मृत अवस्थामा भेटिएको हो । शव भेटिएको स्थानबाट एउटा चश्मा र विस्कुटको प्याकेटसमेत फेला परेको प्रहरीले जनाएको छ ।

शवको प्रकृति हेर्दा घाँटी थिचेर मारिएको प्रहरीको प्रारम्भिक अनुमान भए पनि पोस्टमार्टमपछि मात्र यथार्थ बाहिर आउने उनले बताए ।

खड्काको अनुसार शिशुको शव नग्न अवस्थामा फेला परेको छ । ‘टाउकोमा चोटहरू देखिएको छ, शरीरको अन्य भागमा समेत चोटपटक देखिएको छ, थप कुराहरू पोस्टमार्टमपछि मात्रै भन्न सकिन्छ’, खड्काले भने । शिशुको शवलाई पोस्टमार्टमका लागि जलेश्वर अस्पताल पठाइएको छ ।

घटनामा संलग्नको पहिचान भइसकेको बताउँदै प्रहरीले भंगाहा नगरपालिका–६ जमुनियाका भरत साह रहेको र उनको व्यापक खोजी भइरहेको प्रनाउ खड्काले जानकारी दिए । साहले नै आमाको छेउमै सुतिरहेको शिशुलाई पसलबाटै चोरेर लगेको सिसिटिभीमा स्पष्ट देखिएको छ । सिसिटिभीबाट साहले बालिकालाई बोकेर लाँदै गरेको दृश्य फेला परेको प्रहरीले जनाएको छ ।

फेन्सी स्टोर्समा काम गर्दै बच्चा खेलाउँदै गरेकी आमा इन्देश चौधरीसँग एकछिन बच्चा खेलाउँछु भन्दै उनले काखमा लिएर र केही समयसम्ममा पनि नआएपछि परिवारजनले प्रहरीलाई खबर गरेका थिए । आठ महिने शिशु मृत फेला परेपछि चौधरीको घरमा रुवाबासी चलेको छ । शिशुको शव फेला परेपछि अहिले औरही नै शोकमा डुबेको छ । घटनापश्चात् उद्योग बाणिज्य संघ औरही शाखाले औरही बजार बन्द गराएका छन् ।

कसरी भयो घटना ?

मृतक शिशुको बुबा सन्तोष चौधरी औरही नगरपालिका–१ स्थित मुख्य बजार क्षेत्रमा विगत केही वर्षदेखि फेन्सी र किराना पसल सञ्चालन गर्दै आइरहेका छन् । आइतबार रक्षाबन्धन रहेकोले पसलमा केही भिडभाड रहेको थियो । आफन्तसँग राखी बाँध्ने तथा पसलमा भिडभाड भएका वेला ती अपहरणकारीले पसलमा सुतिरहेका शिशुलाई आइतबार साँझ ६ बजे लिएर गएका थिए ।

परिवारले प्रहरीलाई खबर गरेपछि जिल्ला प्रहरी र भंगहाबाट गएका छुट्टाछुट्टै प्रहरीको टोलीले बच्चाको खोजीकार्य सुरु गरेका थिए । ‘पसलमा सामान किन्ने मान्छे आएको मौका छोपी सन्तोषलाई चिन्छु, भन्दै उनकी छोरीलाई ती अपहरणकारीले लिएका थिए, तर कसैले पत्तो नपाई लिएर गएछन्,’ स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् ।

‘खेलाउँदा खेलाउँदै लगेको छोरीलाई हत्या गर्ला भनेर आफूले सोचेको पनि थिइनँ, हत्या गरेछ ।’ मृतकका पिता सन्तोषले भने ।

प्रतिक्रिया