बिमा गर्ने आधाले मात्रै पाउँछन् उपचार

झापा । झापामा स्वास्थ्य बिमा गर्नेमध्ये आधा हिस्साले स्वास्थ्योपचार सेवा प्राप्त गरेका छन् । सरकारले झापामा ०७४ असोजदेखि स्वास्थ्य बिमा लागू गरेको हो ।

११ महिनाको अवधिमा स्वास्थ्य बिमा गर्नेको संख्या १ लाख २२ हजार ३ सय ५ पुगिसकेको जिल्लास्थित स्वास्थ्य बिमा बोर्डकी दर्ता अधिकारी लक्ष्मी कँडेलले जानकारी दिइन् ।

उनका अनुसार बिमा गराएकामध्ये ५० हजार ५ सय ४९ जनाले जिल्लाका विभिन्न स्वास्थ्यसंस्थाबाट उपचार सेवा लिइसकेका छन् । दमकस्थित आम्दा अस्पतालले सबैभन्दा बढी १७ हजार ६ सय जनालाई गत एक वर्षको अवधिमा बिमामार्फत उपचार सेवा प्रदान गरेको जनाएको छ ।

जिल्लाका १५ वटै स्थानीय तहमा स्वास्थ्य बिमा लागू गरिएको छ । बिमा गराएकाले भद्रपुरस्थित मेची अञ्चल अस्पताल, बिर्तामोडस्थित मेची आँखा अस्पताल र जिल्लाका सबै प्राथमिक स्वास्थ्यकेन्द्रबाट उपचार सेवा लिन सक्ने व्यवस्था छ ।

यस अवधिमा बिमा गराएकामध्ये सबैभन्दा कम १ सय ७७ जनाले गौरीगञ्ज गाउँपालिकाको खजुरगाछी स्वास्थ्यकेन्द्रबाट उपचार गराएका छन् । दर्ता अधिकारी कँडेलका अनुसार भद्रपुरस्थित मेची अञ्चल अस्पतालबाट ११ हजार ४ सय ७१ बिरामीले बिमामार्फत उपचार गराएका छन् ।

बिर्तामोडको मेची आँखा अस्पतालबाट ३ हजार ६ सय ७५ बिमितले आँखासम्बन्धी रोगको उपचार गराएका छन् । पाँच जनासम्मको परिवारमा वार्षिक २ हजार ५ सय बिमा रकम बुझाएपछि एक बिमितले आफूले गरेको बिमाबाट वार्षिक ५० हजारसम्मको उपचार सेवा लिन पाउने व्यवस्था भएकाले स्वास्थ्य बिमा कार्यक्रमप्रति सर्वसाधारणको आकर्षण बढेको दर्ता अधिकारी कँडेलले बताइन् । स्वास्थ्य बिमा गरेबापत गर्भपतन, प्लास्टिक सर्जरी, अंग प्रत्यारोपणबाहेक धेरै किसिमको उपचार सेवा पाउने व्यवस्था रहेको उनको भनाइ छ ।

बिमितलाई धुलाबारी, शनिश्चरे, बनियानी, सुरुंगा, शिवगञ्ज, खजुरगाछी लगायतका स्वास्थ्य सेवाकेन्द्र र अस्पतालमा दमक अस्पताल, मेची अञ्चल अस्पताल भद्रपुर, मेची आँखा अस्पताल बिर्तामोडबाट उपचार सेवा प्रदान गर्ने व्यवस्था गरिएको छ । जिल्लामा स्वास्थ्य बिमा बोर्डले १५ वटै स्थानीय तहमा घरघरै पुगेर बिमा गराउनका लागि १ सय ९५ दर्ता सहयोगीलाई परिचालन गरेकाले हालसम्म १ लाख २२ हजार ३ सय ५ ले स्वास्थ्य बिमा गराएका छन् । तीमध्ये ५७ हजार ३ सय ३ पुरुष र ६४ हजार ९ सय ९८ महिला छन् ।

बिमा गर्नेमा पनि सबैभन्दा बढी दमक नगरपालिकाका रहेका छन् । सो नगरपालिकाबाट २५ हजार ३ सय ६२ ले स्वास्थ्य बिमा गरेका छन् भने सबैभन्दा कम झापा गाउँपालिकाबाट १ हजार ९ सय ४९ ले मात्र बिमा गराएका छन् । बिमा गरेबापत ६ करोडभन्दा बढी बिमा रकम संकलन भएको दर्ता अधिकारी कँडेलले जानकारी दिइन् ।

प्रतिक्रिया