राती अल्ट्रासाउन्ड नहुँदा बिरामी मर्कामा

बुटवल । तिलोत्तमा हस्पिटल प्रालि नजिकैका फार्मेसी मेडिकलहरू नजिक अल्ट्रासाउन्ड सेवा २४सै घण्टा लेखेका ब्यानरहरू छन् । दिनमा जसोतसो कोचिएर कोठामा पालो कुरेर भए पनि अल्ट्रासाउन्ड गरिन्छ भने रातमा अल्ट्रासाउन्ड शून्य हुन्छ ।

बुटवलका अस्पतालहरूले रात्रिकालीन अल्ट्रासाउन्ड सेवा दिन सकेका छैनन् । जसका कारण सर्वसाधारणले सास्ती भोग्नुपरेको छ । निजी लगानीमा खोलिएका अस्पतालहरूले २४सै घण्टा अल्ट्रासाउन्डलगायत सबै सेवा उपलब्ध छ भनेर विज्ञापन गर्ने गरे पनि सेवा दिन नसकेका हुन् ।

सरकारी अस्पताल लुम्बिनी अञ्चल अस्पतालले पनि रातीमा अल्ट्रासाउन्ड सेवा दिन सकेको छैन । साँझ सात बजेपछि बुटवलका कुनै पनि अस्पतालले अल्ट्रासाउन्ड सेवा दिन नसकेकाले सर्वसाधारणलाई सेवा लिन असहज भएको स्वास्थ्यकर्मी युवराज अमगाईंले बताए ।

निजी अस्पतालहरूले रातीको समयमा अल्ट्रासाउन्ड गर्नुपर्ने आपतकालीन अवस्था आए पनि विभिन्न विधि प्रयोग गरेर अर्को दिनका लागि सार्ने गरेका छन् । बुटवलमा सञ्चालित सबैजसो अस्पतालहरूले अल्ट्रासाउन्ड मेसिन राखेका छन् । लुम्बिनी अञ्चल अस्पतालमा अल्ट्रासाउन्डका लागि पालो कुर्नुपर्ने र निजी अस्पतालमा रातीमा अल्ट्रासाउन्डका लागि विशेषज्ञ डा. उपलब्ध नहुँदा सर्वसाधारणले सास्ती भोग्नुपरेको हो ।

लुम्बिनी अञ्चल अस्पतालका पूर्वमेडिकल सुपरिटेन्डन रेडियोलोजोस्टी डाक्टर राजेन्द्र खनालले अञ्चल अस्पतालमा व्यवस्थापनको अभावले रात्रिकालीन सेवा दिन समस्या भएको बताए । उनले इमरजेन्सी परेमा रातीमा अल्ट्रासाउन्ड गरिए पनि रातीको लागि रुटिङ नभएको बताए ।

अफिनका केन्द्रीय सदस्य तथा अस्पतालका सञ्चालक गोविन्द खनालले अस्पतालहरूले सबै प्रकारका सेवा दिँदा रातीमा पनि अल्ट्रासाउन्ड सेवा दिनुपर्ने बताए । बुटवल क्षेत्रमा सञ्चालित अस्पतालहरूले अल्ट्रासाउन्डका लागि अहिलेसम्म रातीमा रुटिङ नै बनाएका छैनन् ।

प्रतिक्रिया