सिटी हल बनाउने निर्णय बदर

काठमाडौं । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरको जमिनमा सिटी हल बनाउने निर्णय बदर भएको छ । नागरिक तहबाट विरोध आएकोले सिटी हल अन्यत्र बनाउने तयारी थालिएको भरतपुर महानगरले जनाएको छ ।

अस्पतालको जमिनमा सिटी हल बनाउन महानगरले दुई महिनाअघि निर्णय गरेको थियो । यो निर्णयविरुद्ध नागरिक समाजलगायत प्रमुख प्रतिपक्षी कांग्रेसले विरोध जनाउँदै आएका थिए ।

महानगरको निर्णयलाई सहमति जनाउँदै स्वास्थ्य मन्त्रालयले अस्पतालभित्र सिटी हल बनाउन स्वीकृति दिएको थियो । उक्त जमिन अस्पताल र मन्त्रालयको नाममा छ । अस्पताल सञ्चालक समितिसमेत मौन बसेकोले मन्त्रालयले सजिलै सिटी हल बनाउन दिन लागेको थियो ।

मन्त्रालयले पठाएको जग्गा दिने स्वीकृत फाइल मन्त्रिपरिषद् कार्यालयले अस्पतालमै फिर्ता गरेपछि महानगर यो निर्णयबाट पछि हट्न बाध्य बन्यो । मन्त्रिपरिषद् सचिवालयले उक्त जमिनको अधिकार अस्पतालको भएकोले फाइल फिर्ता गर्नुपरेको जनाएको छ । फाइल फिर्तापछि बसेको महानगर बोर्ड बैठकले सिटी हल अस्पतालमा नभई अन्य बनाउने तयारी सुरु गरिसकेको छ ।

‘हामीले अस्पताल बाहेकका खाली जमिन खोज्दै छौँ,’ महानगरकी मेयर रेणु दाहालले सौर्यसँग भनिन्, ‘अर्को विकल्प अब हाम्रो थालनी हो ।’ अस्पतालको जमिनमा सिटी हल नबन्ने उनले बताइन् । प्रमुख प्रतिपक्षलगायत धेरैको यसमा विरोध आयो, सबैको भावनालाई समेटेरै हामीले सिटी हल अन्यत्र बनाउने निर्णयमा पुगेको उनको भनाइ छ ।

अस्पतालभित्र सिटी हल बनाउने निर्णय बदर भएकोमा सम्बन्धित पक्षले खुसी व्यक्त गरेका छन् । उनीहरूले अस्पताललाई महानगरले अझै सशक्त ढंगले सहयोग गर्नुपर्ने बताए । अस्पतालको जग्गामा सिटी हल बनाउन नहुने भन्दै सुरुदेखि नै विरोध गर्दै आएका कांग्रेसका युवा नेता दिनेश कोइरालाले महानगरको यो कदम स्वागतयोग्य भएको प्रतिक्रिया दिए । यो खुसीको कुरा हो, उनले भने, ‘अब महानगरले अस्पताललाई थप सहयोग गर्ने अपेक्षा राखेका छौँ ।’ अस्पतालको स्तरोन्नति गर्न महानगरको अहं भूमिका हुने उनले बताए ।

सरकारले क्यान्सर अस्पताललाई एसियाकै नमुना बनाउन आवश्यक पहल थाल्नुपर्ने उल्लेख गर्दे उनले चीन सरकारसँग भएका सम्झौतालाई पुनरावृत्ति गर्नुपर्ने धारणा राखे । अस्पताल सञ्चालक समितिमा रहेर काम गरिसकेका कोइरालाले राजधानी आएर विभिन्न नेताहरूसँग भेटेर सिटी हल अस्पतालबाहिर बनाउन पहल गरेका थिए ।

क्यान्सर अस्पतालको जग्गामा सिटी हल बनाउन नहुने समाचार पहिलोपटक सौर्यदैनिकले सार्वजनिक गरेको थियो । समाचार सार्वजनिक भएपछि प्रतिपक्ष कांग्रेस, नागरिक समाज लगायतले यसमा सशक्त आवाज उठाउँदै आएका थिए । त्यसैगरी, महानगरले अस्पतालभित्र सिटी हल नबनाउने निर्णय गरे लगत्तै केही स्वार्थमा लागेका व्यक्तिहरूले अवरोध पार्न थालेको अस्पताल स्रोतले जनायो ।

स्रोतका अनुसार, भित्रभित्रै अस्पतालकै जमिनमा सिटी हल बनाउनुपर्ने भन्दै एकथरिले फेरि लबिङ सुरु गरेका छन् । तर, महानगरकी मेयर दाहालले भने बदर भइसकेपछि अब अर्को निर्णय नहुने बताइन् । सिटी हल अस्पताल बाहिरकै खाली जमिनमा बन्छ, हामी धमाधम जग्गा खोजिरहेका छौँ, उनले भनिन् ।

प्रतिक्रिया