कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक आज बस्दै छ ।

शुक्रबारका लागि बोलाइएको बैठक केन्द्रीय कार्यसम्पादन समितिमा रहने सदस्यहरुको भागबण्डा नमिल्दा स्थगित भएको थियो ।

समितिमा रहने सदस्यका बारेमा पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका नेताहरुबीच अबेरसम्म छलफल भए पनि सहमति नजुटेपछि स्थगित गरिएको थियो ।

बैठक शनिबार बिहान ११ बजे पार्टी कार्यालय सानेपामा बस्ने जनाइएको छ । पार्टीका विभिन्न समितिको गठन र महासमिति बैठकको तयारीका सम्बन्धमा शीर्ष नेताहरुबीच सल्लाह गरी टुंगो लगाएर बैठक बस्ने सहमति भएको स्रोतले बतायो ।

यसअघि गठन गरिएको कार्यसम्पादन समितिमा विवाद देखिएपछि विघटन गरिएको थियो । कांग्रेसको विधानअनुसार कार्यसम्पादन समितिमा सभापति, उपसभापति, दुई महामन्त्री, सहमहामन्त्री, कोषाध्यक्ष र प्रवक्ताका साथै केन्द्रीय समितिबाट बढीमा २२ जना रहने व्यवस्था छ ।

प्रतिक्रिया