प्रहरीको गोलीले एकको मृत्यु, चार घाइते

महेन्द्रनगर । बालिका बलात्कार तथा हत्याकाण्डले केही दिनदेखि तनावग्रस्त महेन्द्रनगर शुक्रबार पनि अशान्त बन्यो । प्रहरीको गोली लागेर १४ वर्षीय बालकको मृत्यु भएपछि महेन्द्रनगरमा हिंसा भड्किएको हो ।

गोली लागेर भीमदत्त नगरपालिका–१८ का सनी खुनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । सबै घाइतेको स्थानीय अस्पतालमा उपचार भएको प्रहरीले जनाएको छ ।

दिउँसो चोक–चोकमा युवाहरू जम्मा भएर नाराबाजी र सरकारी कार्यालय तोडफोड गर्न थालेपछि हिंसा भड्किएको हो । एक्कासि आन्दोलन हुँदा प्रहरीले स्थिति नियन्त्रणमा लिन सकेन । एक्कासि स्थिति अनियन्त्रित भएपछि प्रहरीले गोली चलाएको थियो ।

शुक्रबारको आन्दोलनमा बिहीबारसम्म आन्दोलन गर्दै आएका निर्मला पन्तका आफन्त तथा छिमेकीहरू नरहेका प्रशासनको दाबी छ ।

प्रहरीले समयमै नियन्त्रण गर्न नसकेपछि भिडले उग्ररूप लिएको प्रत्यक्षदर्शीले बताएका छन् । हिंसा थप बढ्ने देखेपछि प्रदेश–७ का सांसदहरूले समेत प्रधानमन्त्री केपी शर्मा ओली तथा गृहमन्त्री रामबहादुर थापालाई संयम अपनाउन आग्रह गरेका छन् ।

जिल्लाबाट गृहमन्त्रालयमा आएको रिपोर्टअनुसार शुक्रबारको आन्दोलनमा घुसपैठ भएको छ । पन्तका आफन्तहरूको शुक्रबारको आन्दोलनमा कुनै संलग्नता नरहेको बताइएको छ ।

बालिका पन्तको बलात्कार र हत्या प्रकरणमा स्थानीयको मागअनुसार सरकारले जिल्लाका एसपी र सिडिओलाई काठमाडौं झिकाइसकेको छ । सहसचिवको नेतृत्वमा उच्चस्तरीय छानबिन समिति बनाएर घटनास्थल पठाइएको थियो ।

यसैबीच, सरकारले दुवै पक्षसँग वार्ता गर्न उच्चस्तरीय वार्ताटोली गठन गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले नेकपाका सांसद सोमप्रसाद पाण्डे संयोजक रहेको वार्ताटोली बनाएको हो । टोलीमा सुरेश आले मगर, ताराकान्त चौधरी, लिला भण्डारी र गृहमन्त्रालयले तोकेको सहसचिव सदस्य रहनेछन् ।

समितिले तत्कालीन राजनीतिक संवाद तथा सहमति समितिले गरेका सहमतिको अध्ययन र दुवै पक्षलाई वार्तामा जुटाउन पहल गर्ने सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए ।

प्रतिक्रिया