कञ्चनपुरको कर्फ्यू हट्यो, आन्दोलनकारीसँग वार्ता प्रयास

काठमाडौं । कञ्चनपुर जिल्ला प्रशासन कार्यालयले महेन्द्रनगरमा लगाएको कर्फ्यू हटाइएको छ ।

निर्मला पन्त हत्या प्रकरणमा छानबिनको माग गर्दै भएको प्रदर्शन नियन्त्रण बाहिर गएपछि महेन्द्रनगरमा स्थानीय प्रशासनले कर्फ्यू लगाएको थियो ।

अवस्था सामान्य बन्दै गएपछि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले शुक्रबार बिहान ५ बजेबाट कर्फ्यू हटाइएको हो ।

बिहीबार मात्रै कञ्चनपुरको प्रहरी प्रमुखको जिम्मेवारी लिएर जिल्ला पुगेका एसपी कुबेर कडायतले अवस्था नियन्त्रणमा आएपछि बिहीबारदेखि जारी गरिएको कर्फ्यू शुक्रबार बिहान ५ बजेबाट हटाएको जनाएका छन् ।

महेन्द्रनगर बजार आज बिहानैदेखि शान्त छ । अन्य दिनमा बिहानैदेखि सडकमा नाराबाजी हुने गरेको भए पनि भने बजार शान्त छ । सडकमा सवारी साधन गुड्नका साथै शैक्षिक संस्था, पसल अघिल्ला दिनको तुलनामा उल्लेख्य मात्रामा खुलेका छन् ।

कर्फ्यू हटे पनि आन्दोलनरत पक्ष र सरकारबीच वार्ता भने हुन सकिरहेको छैन । प्रशासनले पीडित परिवार र आन्दोलनकारीसँग सम्पर्क गरेर वार्ताको पहल थालिने जानकारी दिएको छ ।

१३ वर्षीया बालिका निर्मला पन्तको हत्याबारे छानबिन गर्न माग गर्दै शुरु आन्दोलन चर्किएपछि सरकारले बिहीबार गृह मन्त्रालयका सहसचिव हरिप्रसाद मैनालीको नेतृत्वमा उच्चस्तरीय छानबिन समिति गठन गरेको छ ।

प्रतिक्रिया