सिडिओ–एसपी हटेपछि कञ्चनपुर संयमित

कञ्चनपुर । सरकारले कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख हटाएसँगै आन्दोलन शान्त भएको छ ।

सिडिओ र प्रहरी प्रमुखले नै अभियुक्तलाई जोगाउन खोजेको भन्दै स्थानीयले अघि बढाएको आन्दोलनमा बिहीबार गोली चलेपछि सरकारले दुवैलाई हटाएर नयाँ सिडिओ र एसपी पठाएको हो ।

आन्दोलन चर्किएपछि कञ्चनपुरको भीमदत्त नगर र आसपासका क्षेत्रमा बिहीबार दिउँसोबाट कफ्र्यु लागेको थियो । तर, सरकारको सो निर्णयसँगै कफ्र्यु लागे पनि स्थिति सहज बनेको छ । स्थानीयले आफूहरूको माग सरकारले सुनेको भन्दै आन्दोलन संयमित बनाएका हुन् ।

‘कफ्र्यु हटेको पनि छैन, लागेको जस्तो पनि छैन, सिडिओ, एसपी र डिएसपी हटाएपछि स्थानीय शान्त बनेका छन्,’ एक स्थानीयले बिहीबार राती भने । यसअघि, गृह मन्त्रालयले बिहीबार दिउँसो १३ बालिका निर्मला पन्तको हत्याको विषयमा विस्तृत छानबिन गर्न समिति बनाएको छ ।

स्थानीयको आन्दोलन चर्किएपछि प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख दुवैलाई फिर्ता बोलाएर गृह मन्त्रालयले सहसचिवको नेतृत्वमा छानबिन समिति बनाएको हो । गृहले निर्मलाको हत्या सम्बन्धमा विस्तृत छानबिनका लागि कारागार व्यवस्था विभागका महानिर्देशक हरिप्रसाद मैनालीको संयोजकत्वमा छानबिन समिति गठन गरेको हो ।

समितिमा नेपाल प्रहरीका नायब महानिरीक्षक (डिआइजी) रामप्रसाद श्रेष्ठ, सशस्त्र प्रहरी नायब महानिरीक्षक वसन्त बानियाँ, राष्ट्रिय अनुसन्धान विभागका निर्देशक लक्ष्मण गुरुङ र प्रदेश–७ का आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव वीरेन्द्र केसी सदस्य छन् ।

गृह मन्त्रालयले छानबिन समिति गठनलगत्तै कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी (सिडिओ) कुमारबहादुर खड्का, प्रहरी उपरीक्षक (एसपी) डिल्लीराज विष्ट र डिएसपी ज्ञानबहादुर सेठीलाई फिर्ता बोलाएको छ । गृहले खड्काको ठाउँमा तारानाथ अधिकारी र विष्टका ठाउँमा एसपी कुवेर कडायतलाई पठाएको छ ।

सिडिओ र एसपीमाथि नै प्रश्न उठाएर स्थानीयले आन्दोलन चर्काउँदै उच्चस्तरीय छानबिनको माग गरेपछि गृहले समिति गठन गरेको हो । प्रदर्शनले उग्र रूप लिएपछि बिहीबार कञ्चनपुर तनावग्रस्त बनेको थियो । प्रहरीले स्थिति नियन्त्रणमा लिन भन्दै गोली चलाएको छ । जसबाट आधा दर्जन स्थानीयवासी घाइते भएका छन् ।

यसैबीच, गृह मन्त्रालयले संयमित हुन कञ्चनपुरवासीलाई अपिल गरेको छ । निर्मला हत्या सम्बन्धमा छानबिन समिति गठन भइसकेको जनाउँदै गृहले संयमित भएर सहयोग गरिदिन सबै पक्षलाई आग्रह गरेको हो । ‘स्थितिलाई संयमित बनाइराख्न सहयोग गर्नु सबैको कर्तव्यसमेत भएकोले यसमा सबैको सहयोगको लागि गृह मन्त्रालय हार्दिक अपिल गर्दछ,’ मन्त्रालयले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘राज्य कहिले पनि अपराधी र अपराधमैत्री हुन सक्दैन र भएको पनि छैन ।

स्थानीय प्रशासन तथा प्रहरीले समग्र नागरिकको जिउधन एवं सार्वजनिक सम्पत्तिको संरक्षण गरी जनजीवनलाई सामान्य बनाइराख्न कानुनप्रदत्त अधिकार प्रयोग गर्नु नै पर्ने हुन्छ, स्थितिलाई संयमित बनाइराख्न सहयोग गर्नु सबैको कर्तव्यसमेत भएकोले यसमा सबैको सहयोगको लागि गृह मन्त्रालय हार्दिक अपिल गर्दछ ।’

गृहले समस्याको समाधान शान्तिपूर्ण र विधिसम्मत ढंगबाट हुनेसमेत प्रस्ट पारेको छ । ‘शान्ति सुव्यवस्था कायम राखी थप जनधनको क्षति हुनबाट रोक्न आ–आफ्नो स्थानबाट सहयोग अपिल गर्दछ,’ गृहको विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया