कञ्चनपुरमा कर्फ्यू, प्रहरीको गोली लागेर ४ घाइते

महेन्द्रनगर । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको छानबिनप्रति असन्तुष्टि जनाउँदै चर्किएको आन्दोलनमा गोली चलेको छ ।

जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरको टोलीले स्थितिलाई नियन्त्रणमा लिन बिहीबार गोली चलाएको हो ।

प्रहरीको गोली लागेर ४ जना घाइते भएका छन् । घाइते हुनेमा कञ्चनपुरको सुडाका तिर्थराज पनेरु, भिमदत्तनगरपालिकाका अर्जुन भण्डारी, कैलालीका सन्तोष कठरीया र कञ्चनपुरको भासिका तेज भटट् छन्। घाइते मध्ये भट्टको अवस्था गम्भीर रहेको बताइएको छ ।

यसै गरी कञ्चनपुरमा जिल्ला प्रशासन कार्यालयले कर्फ्यूको घोषणा गरेको छ । बिहिबार ३ बजेदेखि शुक्रबार बिहान ५ बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरिएको छ ।

कर्फ्यू महेन्द्रनगर बजार क्षेत्रभरी लगाइएको प्रहरीले जनाएको छ । निर्मला पन्तको वास्तविक हत्यारा खोजीको माग गर्दै स्थानीयले आन्दोलन चर्काएपछि त्यहाँको स्थिति जटिल बनेको छ ।

प्रदर्शनकारीले कञ्चनपुरका प्रहरी प्रमुखको पुत्ला समेत जलाएका छन् ।

प्रतिक्रिया